• २६ असार २०८२, बिहिबार

लमजुङ-मनाङ सडक राति बन्द हुने

blog

बेंसीसहर–चामे सडकअन्तर्गत बेसीसहर–६, खरखरे पहिरोमा पहरा दिँदै प्रहरी । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असार २५ गते । लमजुङ सदरमुकाम बेंसीसहरदेखि मनाङको सीमानासम्म रातको समय यातायात सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले रातको समयमा यातायात सञ्चालनमा रोक लगाएको हो ।

यसअघि मर्स्याङ्दी गाउँपालिकाले बेंसीसहर–चामे सडक खण्डको मर्स्याङ्दी गाउँपालिकाभित्रको सडकमा रातको समय यातायात सञ्चालनमा रोक लगाएको थियो । प्रशासनले डुम्रे–बेंसीसहर–चामे सडक खण्डको बेंसीसहरदेखि मनाङ सिमानासम्मको सडक खण्डमा असार २५ गते बुधबारदेखि साउन मसान्तसम्म साँझ ७ बजेबाट बिहान ५ बजेसम्म अत्यावश्यकबाहेक सवारी साधन सञ्चालन तथा आवतजावतमा रोक लगाएको हो ।

जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैठकले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न रातको समय सवारी आवागमन बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मर्स्याङ्दी गाउँपालिका विपद् व्यवस्थापन समितिको आइतबारको बैठकले बेंसीसहर–चामे सडकको मस्र्याङ्दी गाउँपालिकामा पर्ने सडकमा माथिबाट ढुङ्गा र पहिरो आउन सक्ने भन्दै बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स र अन्य अति आवश्यक काममा बाहेक सवारी साधन सञ्चालनमा रोक लगाएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष गुरुङले वडा नं. ३ को अर्खलेबेंसी, वडा नं. ७ को ङादी साथै बेंसीसहर–चामे सडक खण्डको वडा नं. ४ मा पर्ने जगतसम्म मालबाहक गाडीहरु र अन्य सवै सवारी साधनहरु असार २५ देखि अर्को सूचना जारी नभएसम्म रातको समय आवागमनमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । 

उदिपुर अँधेरीखोला पहिरोमा डाइभर्सन

डुम्रे–बेंसीसहर सडकअन्तर्गत बेंसीसहर नगरपालिका–१ स्थित उदिपुर अँधेरीखोला पहिरोमा डाइभर्सन बनाएर सवारी आवतजावतको व्यवस्था गरिएको छ ।

अँधेरीखोलामा सोमबार रातिदेखिको पहिरोले सडक नै बगाउन थालेपछि डाइभर्सनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार सोमबार रातिदेखि पहिरोले सडक भासिन थालेपछि मंगलबार साँझसम्म वैकल्पिक सडक मर्मत गरिएको थियो । 

वैकल्पिक सडक नेपाली सेनाको चण्डीप्रसाद गण उदिपुर ब्यारेकअन्तर्गतको सडक मर्मत गरी सञ्चालनमा ल्याइएको हो । वैकल्पिक सडक बिहान ५ बजेदेखि राति १० बजेसम्मका लागि खुला गरिएको छ । उक्त सडकमार्फत बुधबार बिहानैदेखि सवारीसाधन आवतजावत हुन थालेका छन् । 

वैकल्पिक सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेक सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो गएको स्थानमा ग्याबिन पर्खाल उठाइएको र आगामी २–३ दिनमा सकिएपछि पुनः मूल सडक सञ्चालनमा आउने छ । गत वर्षहरूमा पनि उदिपुर डाँडामा पहिरो जाँदा नेपाली सेनाको ब्यारेक हुँदैको वैकल्पिक सडक प्रयोगमा ल्याइएको थियो ।