लागोस, असार २५ गते । संयुक्त राज्य अमेरिकाले नाइजेरियाली नागरिकहरूलाई प्रदान गरिने अस्थायी बसोबास अनुमति अब तीन महिनामा सीमित गर्ने निर्णय गरेको छ । अबुजास्थित अमेरिकाको दूतावासले मङ्गलबार जारी गरेको सूचनामा सो कुरा उल्लेख गरिएको छ ।
सूचनामा भनिएको छ, “अबदेखि अधिकांश गैर-आवासीय तथा गैर-कूटनीतिक आगन्तुक अनुमति पत्रहरू तीन महिनासम्म मात्र मान्य हुनेछन् ।” यो निर्णय अमेरिकाले विभिन्न मुलुकहरूमाथि लागू गर्दै आएको आपसी आगन्तुक नीति पुनरावलोकन अन्तर्गत ल्याइएको हो । यसअघि नाइजेरियाली नागरिकहरूले आफ्नो भ्रमणको उद्देश्यअनुसार विभिन्न समयावधिका आगन्तुक अनुमतिपत्रहरू पाउने गर्थे ।
गत महिनामात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चिन्ता र अपर्याप्त छानबिन प्रक्रियाको आधारमा १२ मुलुकका नागरिकहरूलाई अमेरिका प्रवेशमा रोक लगाउने घोषणा गर्नुभएको थियो, जसमा अधिकांश अफ्रिकी मुलुकहरू रहेका छन् । रोक लगाइएका मुलुकहरूमध्ये चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सोमालिया र सुडान पनि पर्दछन् । प्रतिबन्धको जवाफस्वरूप चाडले तुरुन्तै अमेरिकी नागरिकहरूलाई अनुमतिपत्र दिन रोकेको छ ।
हालसम्म नाइजेरियाले उक्त निर्णयप्रति कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, गत महिनामा नाइजेरियाका परराष्ट्र मन्त्रीले यस्ता प्रतिबन्ध र करहरूले पश्चिम अफ्रिकासँग हुन सक्ने व्यापार सम्झौतामा, विशेषगरी दुर्लभ खनिज र ऊर्जा क्षेत्रमा, नकारात्मक असर पार्ने चेतावनी दिएका थिए । रासस/एएफपी