• २५ असार २०८२, बुधबार

एनआरएनए क्यानडा अध्यक्ष पदमा क्रिकेट प्रेमी किरोजको उम्मेद्वारी

blog

काठमाडौँ, असार २५ गते । गैर–आवासीय नेपाली सङ्घ (एनआरएन) क्यानडाका वर्तमान उपाध्यक्ष किरोज श्रेष्ठले आगामी कार्यकाल सन् २०२५–२७ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ । 

 ‘गैर–राजनीतिक एनआरएन’ भन्ने मूल नारालाई अगाडि सार्दै किरोजले आफ्नो उम्मेद्वारी दर्ता गर्नुभएको हो । उपाध्यक्षका रुपमा कार्य गर्दा हासिल गरेका उल्लेखनीय उपलब्धिहरू प्रस्तुत गर्दै श्रेष्ठले एनआरएन क्यानडाको इतिहासमै पहिलोपटक संघीय सरकारबाट विभिन्न कार्यक्रमका लागि अनुदान ल्याउन सफल भएको जनाउनुभएको छ । 

उहाँले दुई वर्षको अवधिमा सङ्घले करिब ७५ हजार क्यानाडियन डलरको सरकारी सहयोग प्राप्त गरेको र विभिन्न नेपाली संस्थालाई समेत त्यति नै रकम बराबरको अनुदान दिलाउन पहल गर्नुभएको थियो । 

किरोजले यसअघि सेन्ट्रल रिजनल कमिटीको संयोजकको रूपमा कार्य गर्दै सडबरी, ब्यारी, सार्निया, कोर्नवाल, नाएग्रा लगायतका शहरहरूमा नेपाली दिवसहरूमा झन्डा फहराउने कार्यक्रमदेखि लिएर निःशुल्क ट्याक्स क्लिनिक र घुम्ती कन्सुलर सेवा सञ्चालन पनि गर्नुभएको थियो । 

उहाँको कार्यकालमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई फुड बैंक क्यानाडामा खाद्यान्न दान गर्न सहयोग गर्नुका साथै नेपाली चेस खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने अवसर पनि उपलब्ध गराउनुभएको थियो । 

साथै, एनआरएन आईसीसीमार्फत ४४,७०० डलरको थप अनुदान नेपालीज क्यानेडियन क्रिकेट क्लबको इभेन्टका लागि ल्याउन सफल हुनुभएको थियो । क्यानडामा अध्ययनका लागि रहेको नेपाली विद्यार्थीको सहजी करणमा पनि उहाँको ठूलो सहयोग रहेको छ ।

किरोजले अध्यक्ष पदमा निर्वाचित भएमा एनआरएन क्यानडाको नेतृत्वलाई अझ प्रभावकारी र सबै नेपालीका लागि उपयोगी बनाउने प्रतिबद्धता पनि जनाउनुभएको छ ।