• १३ साउन २०८१, आइतबार

चार दलीय बैठक : राष्ट्रपतिमा कांग्रेसले आफ्नो दाबी नछोड्ने

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, फागुन १२ गते । चारदलीय बैठकमा नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दाबी नछोड्ने अडान लिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको छलफलमा कांग्रेसले आफ्नो अडान राखेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठकमा आफ्नो पार्टीले राष्ट्रपतिमा उम्मेदवारीमा स्वाभाविक दाबी गरेको बताउनुभयो । बैठकमा कांग्रेस बाहेकका दलहरुले पनि राष्ट्रपतिमा आफ्नो आफ्नो दाबी गरेको जानकारी दिनुभयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘‘राष्ट्रपति निर्वाचनको विषयमा नेपाली कांग्रेस पार्टीले माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी लगायतका दलसँग छलफल गरेको छ । कहिले छुट्टै कहिले तीन दलबीच बैठक बसिरहेको छ । विभिन्न विकल्पको बारेमा छलफल भएको छ । छलफल सकारात्मक छ । हामी टुङ्गोमा पुग्नेछौँ । थप छलफल गर्न आवश्यक छ भनेर भनेका छौँ ।’’

महामन्त्री थापाले प्रस्तावमा आएका नामहरुका बारेमा दलले आ–आफ्नो पार्टीमा छलफल गरी पुनः ५ बजे बैठक बस्ने सहमति भएको बताउनुभयो ।

‘‘साँझ ५ बजे बस्नेगरी सकिएको छ । हाम्रो ध्यान र प्राथमिकता राष्ट्रपति निर्वाचनका बारेमा नै छ । आज हामीले टुङ्ग्याउनै पर्छ । कांग्रेसले राष्ट्रपतिमा अन्य राजनीतिक दलहरुले सहयोग गर्छ भन्ने अपेक्षा राखेकै छाैं । यसैगरी, अन्य दलका तर्फबाट फरक प्रस्ताव आए ।,’’ उहाँले भन्नुभयो, ‘‘तर समझदारीको वातावरण के हो भने हामी एउटै निर्णयमा पुग्छौँ । हामी एकै ठाउँमा उभिन्छौँ भन्ने कुरामा सबै स्पष्ट छौँ । कांग्रेसले आफ्नो उम्मेदवार अघि सारेको एउटा प्रस्ताव नेपाली कांग्रेसबाहेकका दलहरुले पनि अर्को प्रस्ताव गर्नुभएको छ ।  कांग्रेसले अन्य दललाई किन सहयोग नगर्ने भन्ने प्रस्ताव आएको छ ।’’

महामन्त्री थापाले कांग्रेसको उम्मेदवारमा अन्य राजनीतिक दलहरुले पनि सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । उहाँले अन्य दलहरुले पनि कांग्रेस बाहेकका दलका उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्नुपर्ने अडान लिएको जानकारी दिनुभयो ।