• ८ वैशाख २०८१, शनिबार

राष्ट्रपति निर्वाचन: निर्णायक संवादमा प्रमुख दल

blog

काठमाडौँ, फागुन १२ गते ।  सत्ता साझेदार र प्रमुख प्रतिपक्षीसहितका राजनीतिक दल राष्ट्रपति निर्वाचनको उम्मेदवार तय गर्न अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति पदको निर्वाचनका लागि फागुन १३ गते शनिबार उम्मेदवारी मनोनयनको निर्वाचन कार्यतालिका तोकिएकाले दलहरूले अन्तिम चरणको छलफल तीव्र पारेका हुन्। 

राष्ट्रपति निर्वाचनको सन्दर्भमा बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरू सहभागी बैठकमा राष्ट्रपति पदको उम्मेदवार कसलाई बनाउने भन्ने सन्दर्भमा कुराकानी भएको छ। 

प्रचण्ड र ओलीबीच छलफल आज

प्रधानमन्त्री प्रचण्डले बैठकपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै सहमति निर्माण भइनसके पनि संवाद जारी रहेको बताउनुभयो। उहाँले शुक्रबार सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “छलफल चलिराखेको छ, टुङ्गोमा पुगिएको छैन। भोलि (शुक्रबार) एमाले अध्यक्षसँग मेरो कुराकानी छ। कांग्रेससँग पनि छलफल चलिरहेको छ।”

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राष्ट्रपति निर्वाचनका सन्दर्भमा व्यापक छलफल भएको बताउनुभयो। उहाँका अनुसार शुक्रबार पनि छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी तीन दलबीच भएको छ। शर्माले भन्नुभयो, “राष्ट्रपति निर्वाचन र उम्मेदवारका सन्दर्भमा व्यापक छलफल भएको छ। कुनै किसिमको निर्णय भएको छैन।” 

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा छलफल निर्णायक चरणमा पुगेको बताउनुभयो। उहाँले यस विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि छलफल गर्ने बताउनुभयो। “प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको उम्मेदवारका रूपमा राष्ट्रपति चयन गर्ने भन्नुभएको छ। त्यो हिसाबले राष्ट्रिय सहमतिको उम्मेदवारका रूपमा हाम्रो पार्टीको अध्यक्षलाई राष्ट्रपतिमा प्रस्ताव आयो भने हामी स्वीकार गर्छौं। सबै दलसँगको छलफलपछि निष्कर्षमा पुग्छौँ।”

जसपा अध्यक्ष उपेन्द्र यादवले छलफल जारी छ, निष्कर्षमा पुगेको छैन भन्नुभयो। यसअघि बिहीबारै प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच पनि छलफल भएको थियो।