• १३ साउन २०८१, आइतबार

नेपालको परराष्ट्र नीति

‘आर्थिक विकास केन्द्रित हुनुपर्छ’

blog

काठमाडौँ, फागुन १२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले परराष्ट्र नीति देशको आर्थिक विकासतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। परराष्ट्र नीति प्रभावकारी बनाउँदै देश विकासका लागि भूमिका खेल्न कूटनीतिक क्षेत्रलाई उहाँले आग्रहसमेत गर्नुभएको छ।

नेपाल विश्व सम्बन्ध परिषद्को ७५औँ वार्षिकोत्सव समारोहमा बिहीबार सम्बोधन गर्नुहुँदै उहाँले परराष्ट्र नीति देशको आन्तरिक नीति पनि भएकाले देशलाई स्वावलम्बी बनाउन प्रभावकारी परराष्ट्र नीतिसँगै सक्षम कूटनीतिक अभ्यास गरिनुपर्ने बताउनुभयो। उहाँले नेपालको परराष्ट्र नीतिमा व्यापक छलफल गरेर साझा र एकीकृत सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो।

नेपालको संविधानमा उल्लेख भएअनुसार सबैसँग मित्रता, कसैसँग पनि शत्रुता नराख्ने नीति, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र र असंलग्नताको सिद्धान्तको जगमा परराष्ट्र नीति रहेको उहाँले स्मरण गर्नुभयो। दिगो विकासको लक्ष्य, असंलग्न नीति र राष्ट्रिय आकाङ्क्षा पूरा गर्न प्रयासरत रहेको बताउनुहुँदै उहाँले सीमा जोडिएका छिमेकी मुलुक भारत र चीनको सफलतामा नेपालको सौहार्द सम्बन्ध रहेको बताउनुभयो। 

राष्ट्रपति भण्डारीले भन्नुभयो, “छिमेकीले हासिल गरेको आर्थिक विकासमा नेपाल खुसी छ। नेपालले दुई मित्रराष्ट्रको विकासबाट लाभान्वित हुने किसिमका सम्बन्ध स्थापनामा जोड दिनुपर्छ।” परराष्ट्र मन्त्रालयलगायत सबै कूटनीतिक निकायले मुलुकको विकासका लागि आर्थिक लगानीको वातावरण बनाउन आग्रह गर्नुहुँदै उहाँले कूटनीतिक निकायलाई साझेदार निकायसँग समन्वय, विभिन्न क्षेत्रको प्रवद्र्धन र मित्र राष्ट्रहरूसँग सम्बन्ध बलियो बनाउनेतर्फ लाग्न आग्रह गर्नुभयो। 

नेपालले मित्रराष्ट्रहरूको सम्बन्धमा नेपालबाट कुनै पनि नकारात्मक गतिविधि हुन नदिएको प्रस्ट्याउँदै उहाँले मित्रराष्ट्र मुलुकबाट पनि नेपालको सरोकारका विषयमा यस्तै सद्भावको अपेक्षा राखेको बताउनुभयो। नेपाल सार्क मुलुकहरूको अध्यक्ष राष्ट्र रहेकाले रोकिएको सार्क शिखर सम्मेलन गराउन घनीभूत रूपमा छलफललाई अगाडि बढाउन उहाँले जोड दिनुभयो।

उहाँले मानव अधिकारप्रति नेपालको पूर्ण प्रत्याभूति रहेको र विश्व शान्तिका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमार्फत योगदान पु-याउने अब्बल दोस्रो मुलुकका रूपमा रहेको बताउनुभयो। 

पछिल्लो समय विश्वले आर्थिक सङ्कट, जलवायु परिवर्तनलगायतका चुनौती झेल्नु परेको भन्नुहुँदै उहाँले त्यसका लागि स्पष्ट योजना, अध्ययन तथा अनुसन्धानको खाँचो रहेको बताउनुभयो। सन् २०२६ मा नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेकाले त्यो विकासको आकाङ्क्षाको कोसेढुङ्गा हुने उहाँले बताउनुभयो। लगानीकर्ता, साझेदार र मित्रराष्ट्र मुलुकसँगको सहकार्य थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो। 

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापाले विश्वमा उत्पन्न विविध घटनाक्रमको साक्षी नेपाल पनि रहेको स्मरण गर्दै त्यसको समाधानका लागि सबै मुलुकले साझेदारीपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो। 

परिषद्का अध्यक्ष हेमन्त खरेलले संस्थाको ऐतिहासिक विकासक्रम र वर्तमान चुनौतीका विषयमा चर्चा गर्नुभयो। पूर्वपरराष्ट्रमन्त्री, नेपालका समग्र कूटनीतिज्ञहरू, नेपालस्थित विभिन्न दूतावासका राजदूतहरूको सहभागिता रहेको त्यस कार्यक्रममा वरिष्ठ कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई नेपालको कूटनीतिक क्षेत्रमा लामो समय पु-याउनुभएको योगदानबापत सम्मान गरिएको थियो।