• १३ साउन २०८१, आइतबार

सबैको सहमतिको राष्ट्रपति भए देशको स्वाधीनताको रक्षा हुन्छ : महासचिव गुरुङ

blog

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ । फाइल तस्बिर

काठमाडौं, फागुन ११ गते। नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सबैको सहमतिमा राष्ट्रपति निर्वाचित गराउन सके देशको स्वाधीनताको रक्षा हुने बताउनुभएको छ। बिहीबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै महासचिव गुरुङले सहमतिमा राष्ट्रपति निर्वाचित गराउँदा देशको स्वाधीनताको रक्षा हुने बताउनुभएको हो। 

उहाँले देशको स्वाधीनताको रक्षाका लागि राष्ट्रपतिका निम्ति सबै दलले समर्थन गर्नेखालको पात्र हुनुपर्ने बताउनुभयो। नेपाल शक्ति केन्द्रको इपिसेन्टर बन्दै गरेको उल्लेख गर्दै उहाँले यस्तो अवस्थामा दलका बीचमा आपसी सहमति सहकार्य हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रपतिलाई साझा बनाउन सकेमा राष्ट्रियताको संवर्द्धन हुने उहाँको भनाइ छ। 

उहाँले भन्नुभयो, ‘‘राष्ट्रपतिको सन्दर्भमा सबैको बीचमा आवश्यक सहमतिको आधारमा अगाडि बढौँ। संविधानको संरक्षण पनि हुनुपर्छ। गणतन्त्रको रक्षा पनि हुनुपर्‍यो। राष्ट्रिय स्वाधीनताको रक्षा पनि हुनुपर्‍यो। राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै दलले मान्ने प्रकारको, सबै दलले समर्थन गर्ने खालको पात्र हुनुपर्‍यो। त्यसो भयो भने बल्ल एकताको प्रतीक हुनसक्छ। राष्ट्रिय एकताको प्रवर्द्धक बन्नसक्छ। यो मोडेलमा जानुपर्छ। शान्ति प्रक्रियाको मुद्दा अड्किइराखेको छ। दलहरूका बीचमा सहमति र सहकार्य हुन नसकेको कारणले गर्दा यो प्रक्रिया अड्किएको छ।’’

उहाँले राष्ट्रपति निर्वाचनको विषयलाई गठबन्धनसँग जोडेर हेर्नु नहुने बताउनुभयो। महासचिव गुरुङले राष्ट्रपतिको साझा उम्मेदवार बनाउने विषयमा दलका बीचमा निरन्तर छलफल भइरहेको बताउनुभयो।