कोरोनाकाे जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयकाे अनुरोध
काठमाडौं, वैशाख ९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना महामारीको जोखिम कायम रहेको भन्दै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै सङ्ख्यात्मक रुपमा सङ्क्रमण कम भए पनि जोखिम कायमै रहेकाले सबैले सर्तकता अपनाउन अनुरोध गरेको हो । मन्त्रालयले भारतलगायतका छिमेकी राष्ट्रमा पछिल्ला दिनमा सङ्क्रमण बढ्दो क्रममा रहेकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विज्ञप्तिमा ‘कोभिड—१९ को सङ्क्रमण दर भारतलायतका छिमेकी राष्ट्रमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायमै रहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।’ उल्लेख गरिएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन प्रेरित गर्न र समय पुगेकालाई बुस्टर डोज लगाउन अनुरोध गरेको छ।
१२ जना सङ्क्रमित, ३२ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको हो ।
दोस्रो कार्यकालका लागि नेपालले सहयोग गर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडासँग विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस एइहानोम गेब्रेयससले भेटर्वार्ता गर्नुभएको छ । तीन दिने नेपाल भ्रमणको क्रममा उहाँ बिहीबार काठमाडौं आइपुग्नुभएको हो । उहाँले बिहीबार नै स्वास्थ्य मन्त्रालय पुगेर मन्त्री खतिवडासँग भेटवार्ता गर्नुभएको हो ।
हतारमा शिलान्यास : फुर्सदमा पूर्वाधारको खोजी
वि.सं. २०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकै पटक दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यसहित आधारभूत अस्पताल शिलान्यास गर्नुभएको थियो । तर सरकारको योजना अनुसार अहिलेसम्म करिब ६० प्रतिशत अस्पताल अझै प्रक्रियामा आएका छैनन् ।
थप नौ जनामा सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ सय २८ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
भारतमा सङ्क्रमण बढेसँगै नाकाहरुमा सावाधानि अपनाउन निर्देशन
सरकारले नाकाहरुमा विशेष सावधानि अपनाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले छिमेकी मुलुकहरुमा सङ्क्रमण बढ्दै गएकाले प्रवेश नाकामा विशेष सावधानी अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख
संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
पन्ध्र सयको आँखा परीक्षण, ६५ बिरामी शल्यक्रियाका लागि छनाेट
सोलुखुम्बु, वैशाख ७ गते । सोलुखुम्बुको विभिन्न छ वटा स्थानीय तहका १० स्थानमा सञ्चालित आँखा शिविरबाट ६५ जना मोतियाalन्दुका विरामी शल्यक्रियाका लागि छनाेट गरिएको छ । जिल्ला सामूदायिक आँखा केन्द्र फाप्लुको आयोजनामा भएको छनाेट शिविरमा एक हजार ४९४ जनाको आँखाको परीक्षण गर्दै मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि छनाेट गरिएको हो ।माप्य दूधकोशी गाउँपालिकाको काँकु र वाकुमा सञ्चालित शिविरमा ३६९ जनाको आँखा परीक्षणमा १७ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनाेट भएका र ५३ जनालाई चश्मा र बाँकीलाई औषधि वितरण गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख पुष्पबाबु बस्नेतले जानकारी दिनुभयो ।थुलुङ दूधकोशी गाउँपालिकाको पञ्चन र देउसामा २१४ जनाको आँखा परीक्षणमा ११ जना मोतियाबिन्दुका विरामीलाई शल्यक्रियाको लागि छनाेट गरिएको छ । सोताङ गाउँपालिकाको पावैमा १३२ जनाको आँखा परीक्षण गर्दा आठ जना, नेचासल्यानको विभिन्न स्थानमा २५९ जनाको आँखा परीक्षण गर्दा सात जना, महाकुलुङ गाउँपालिकाको गुदेलमा १४५ जनाको आँखा परीक्षणबाट १७ जना शल्यक्रियाका लागि छनाेट गरिएको हो भने १०६ जनाले चस्मा सेवा लिएका छन् । सोलुदूधकुण्ड नगरपालिकाको सिसाखोलाको शिविरमा १४९ जनाको आँखा परीक्षण गर्दा आठ जना शल्यक्रियाका लागि छनाेट गरिएको छ ।निःशुल्क शल्यक्रियासहितको आँखा शिविर फाप्लुमा बिहीबार र शुक्रबार तिलगङ्गा आँखा प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. सिर्जना अधिकारीको टोलीले गर्ने प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
थप दश जनामा सङ्क्रमण, २६ सङ्क्रमणमुक्त
पछिल्लो २४ घण्टामा दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ५८ जनाको पीसीआर परीक्षण गर्दा दश जनामा सङ्क्रमण देखिएको हो ।
आठौँ नेपाल फर्मा एक्स्पो वैशाख ९ गतेदेखि चितवनमा
आठौँ नेपाल फर्मा एक्स्पो २०२२ चितवनमा हुने भएको छ ।नेपाल औषधि उत्पादक संघले चितवन एक्स्पो सेन्टर भरतपुरमा एक्स्पोको आयोजना गर्न लागेको हो । एक्स्पो वैशाख ९ गतेदेखि ११ गतेसम्म चल्ने संघले जनाएको छ ।
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले मङ्गलबार र बुधबार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।
मकवानपुरमा जेष्ठ नागरिक अस्पतालः मन्त्री खतिवडा
राममणि दाहाल हेटौँडा, वैशाख ५ गते । जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गरिने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको हेटौँडामा सोमबार बसेको आसन्न स्थानीय तह निर्वाचन केन्द्रित बैठकमा उहाँले काठमाडौँमा सिभिल सर्भिस अस्पताल, चितवनमा शिक्षक अस्पताल भनेजस्तै हेटौँडामा ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति लिएको जानकारी दिनुभयो ।नेकपा (एस) का स्थायी कमिटी सदस्यसमेत रहनु भएका मन्त्री खतिवडाले मकवानपुरमा जग्गा खोजेर अस्पताल सञ्चालनका लागि सैद्धान्तिक सहमति लिइसकेको बताउँदै आफ्नै पहलमा सहरी विकास मन्त्रालयमार्फत थाहा नगरपालिकालाई ५० करोड रुपियाँ उपलब्ध हुने बताउनुभयो । मन्त्री खतिवडाले पश्चिम मकवानपुरको मनहरीदेखि धादिङको महादेववेशीसम्म जोड्ने मनहरी–राक्सिराङ–डाँडाबास–दामगडे–महादेववेशी सडकका लागि ९९ करोड रुपियाँ राष्ट्रिय योजना आयोगमार्फत उपलब्ध हुने भन्दै बजेट कार्यान्वयन भएपछि जिल्लाको पश्चिमी क्षेत्रको सडक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।यसैबीच एकीकृत समाजवादी मकवानपुरले मकवानपुरमा छ स्थानीय तहमा आफ्नो बलियो पकड रहेको दाबी गरेको छ । पार्टीको जिल्ला कमिटी बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै भूगोलका इञ्चार्जहरुले पार्टी सङ्गठन राम्रो भएको मनहरी, राक्सिराङ, भीमफेदी, कैलाश, ईन्द्रसरोवर र हेटौँडा उपमहानगरपालिकामा अध्यक्ष र प्रमुख पाउनु पर्नेगरी गठबन्धनमा छलफल गर्न सुझाएका थिए ।गठबन्धनले एकीकृत समाजवादीलाई कैलाश र ईन्द्रसरोवर गाउँपालिका अध्यक्ष दिन सहमति जनाएको छ । ती दुई गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा विजयी भएका अध्यक्षहरुले एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेका थिए । बैठकमा गठबन्धनसँग लिनु पर्दा १०२ वडामध्ये कम्तीमा वडामा ३९ वटा वडा अध्यक्ष लिनुपर्ने सुझाव दिएका थिए ।यसैबीच बैठकले हेटौँडा वडा १ का नेता उत्तम शर्मा न्यौपानेलाई सचिवालय सदस्यमा मनोनयन गरेको छ । न्यौपाने केही दिनअघि एमाले छाडेर समाजवादी पार्टी प्रवेश गर्नुभएको थियो । यस्तै, श्याम ढुङ्गाना र रामबहादुर स्याङ्तानलाई जिल्ला सदस्यमा मनोनयन गरिएको सचिव विष्णु दाहालले बताउनुभयो । बैठकमा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले मकवानपुरका गठबन्धनका दलहरुसँग भएका बैठकबारे जानकारी गराउँदै गठबन्धनमा सहभागी दलहरुले राखेको अडान, एकीकृत समाजवादीले राखेको अडान र सहमतिका विषयमा पुग्न सकिने आधारहरुबारे जानकारी गराउनुभयो । बैठकमा नेकपा (एस) का स्थायी कमिटी सदस्य तथा मकवानपुर इञ्चार्ज ललित बस्नेतले नेतृत्व पंंक्तिलाई अरु सक्रिय भएर पार्टी निर्माण र उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभयो । बैठकमा केन्द्रीय सदस्यहरु धनप्रसाद गौतम, राजाराम स्याङ्तान र सूर्यचन्द्र न्यौपाने लगायतले बोल्नुभएको थियो ।
२४ घण्टामा नौ जना सङ्क्रमित थपिए, ३४ सङ्क्रमण मुक्त
पछिल्लो २४ घण्टामा नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३६ सय जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा सङ्क्रमण देखिएको हो ।
हेमोफिलिया बिरामीले जीवनभर औषधि खानुपर्छ, त्यसैले बिरामीकाे जिम्मा सरकारले लिनुपर्छ
नेपालमा करिब दुई हजार तीन सयको हाराहारीमा हेमोफिलियाका बिरामीहरु उपचारको दायराभन्दा बाहिर छन् । जनचेतनाका अभाव र उपचार प्रद्धति महँगो भएकाले दुई हजार बढीको संख्यामा हेमोफिलियाका बिरामी खुलेर बाहिर आउन नसकेका सरोकारवालाको निकायको दाबी छ । दाताहरुको सहयोगको सँधै भर नहुने भएकाले आन्तरिक स्रोतबाट सञ्चालन गर्नको लागि आर्थिक अभाव हुने भएकाले उपचारको दायरमा नआएको हुन सक्ने वीर अस्पतालका रक्तरोग तथा रक्तक्यान्सर विशेषज्ञ डा. निरजकुमार सिंह बताउनुहुन्छ ।
वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि देशभर खुवाइने
सरकारले यही वैशाख ६ र ७ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भएको छ । छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।
स्वास्थ्य बीमा बापतको भुक्तानी पाउन छोडपछि सेवा कटौती गर्दै अस्पताल
काठमाडौं, वैशाख ५ गते । स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचीकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचीकृत स्वास्थ्य संस्थालाई सरकारले छ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी रहेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । यता, सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगराउँदा पाल्पास्थित युनाइटेड मिसन अस्पतालले आफ्ना सेवाहरु स्थगन गर्ने जनाएको छ । अस्पतालकी प्रमुख डा. रचेल कारखद्वारा जारी सूचनामा बक्यौता रकम भुक्तानीमा ढिलाइ हुँदा अस्पतालको दैनिक कामकाज र गुणस्तरीय सेवा प्रवाहमा समेत समस्या देखिएको हुँदा स्वास्थ्य बीमाका बिरामीले उपचार गराउँदा स्वयंले नै रकम बुझाउनुपर्ने उल्लेख गरिएको छ ।सरकारले स्वास्थ्य बीमा बापतको रकम उपलब्ध नगराउँदा औषधि खरिद र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न नै समस्या भएका कारण सेवा बन्द गर्न लागिएको हो ।साथै १५ दिनभित्र बक्यौता रकम भुक्तानी नभएमा अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम नै बन्द गर्ने पनि अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रवक्ता जीवन भट्टराईका अनुसार स्वास्थ्य बीमा बापतको १२ करोड सात लाख ३७ हजार ५८७ बक्यौता रकम वैैशाख ५ गतेसम्म उपलब्ध गराउनुपर्नेछ । उहाँका अनुसार सरकारले स्वास्थ्य बीमा बापतको रकम उपलब्ध नगराउँदा औषधि खरिद र दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न नै समस्या भएका कारण सेवा बन्द गर्न लागिएको हो । ‘सरकारले आफूले लागू गरेको कार्यक्रम नै कार्यान्वयन नगर्दा समस्या भयो । सेवा गरेबापतको मरुल्य नै उपलब्ध नगराउँदा दैनिक प्रशासनिकदेखि औषधि खरिदका लागि रकम अभाव भएकाले सेवा बन्द गर्नुपरेको हो,’उहाँले भन्नुभयो, ‘बीमा बोर्डले तत्काल केही रकम दिए सेवा बन्द गरिँदैन ।’ यता स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी शोभित रिजालका अनुसार स्वास्थ्य बीमा बोर्डमै रकम अभाव र जनशक्तिको अभावका कारण पनि रकम भुक्तानीमा समस्या भएको हो । ‘कुनै बिरामीले अस्पतालमा भिजिट गरेको सात दिन र भर्ना भए डिस्चार्ज भएको सात दिनभित्र अस्पतालले सबै कागजपत्र बीमा बोर्डमा पेस गरेर रकम दाबी गर्न सक्ने व्यवस्था छ,’उहाँले भन्नुभयो ‘तर कतिपय अस्पतालले सात दिनभित्र उपलब्ध गराउन नसक्ने भएकाले १५ दिनभित्र पठाएमा सो रकम बीमा दाबी अन्तर्गत पर्दछ ।’१५ दिनभित्र प्राप्त भएको दाबी भुक्तानीलाई भेरिफाइड शाखाले सदर गरेपछि मात्र भुक्तानीमा जाने कानुनी प्रावधान रहेको रिजालले बताउनुभयो । तर कतिपय अस्पतालले १५ दिनपछि पठाउने गरेकाले उक्त रकम दाबी भुक्तानीमा गणना गर्न समस्या हुने उहाँ बताउनुहुन्छ । बिरामी चेकजाँच गरे भनेर यो बिरामीको यति रुपियाँ हो भनेर बिल भरपाई गरेर हामीकहाँ पठाउनुपर्ने नियम छ, नपठाएको पैसा हामीले कहाँबाट दिने ?’,रिजालले भन्नुभयो, ‘अस्पतालले दाबी गरेको पैसा त हामीले दिइरहेका छौँ।’स्वास्थ्य बीमा बोर्डका अनुसार अहिले देशभर सामुदायिक, निजी र सरकारी गरी ४४० वटा अस्पतालले स्वास्थ्य बीमासम्बन्धी सेवा प्रदान गरिरहेका छन् । जसमा साढे १३ लाख परिवार स्वास्थ्य बीमामा जोडिएका छन् भने साढे ४५ लाख नागरिक यसमा आबद्ध छन् ।सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्धेश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएपछि स्वास्थ्य बीमामा नागरिकहरुको आकर्षण बढ्दो छ तर यसको व्यवस्थापनमा भने चुनौती सिर्जना हुनेगरेको छ ।
२४ घण्टामा ११ जनामा कोरोना पुष्टि : ३६ जना डिस्चार्ज
काठमाडौं, वैशाख ४ गते। पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ। मन्त्रालयका अनुसार २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् भने मृत्यु शून्य छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ छ।
जनकपुरमा दुई सय शैय्याको क्यान्सर अस्पताल बन्ने
लक्ष्मी चौधरीजनकपुरधाम, बैशाख ३ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा दुई सय शैय्याको क्यान्सर अस्पतालको शिलान्यास भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २५ स्थित विनयतारा क्यान्सर ट्रस्टद्वारा सञ्चालित दुई सय शैय्या भएको विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरको नयाँ भवनको शिलान्यास गरिएको हो ।कार्यक्रममा ट्रस्टका प्रमुख विनयकुमार साहले क्यान्सरका बिरामीहरु उपचारका लागि प्रदेशभन्दा बाहिर जानुपर्दा झन् समस्यामा पर्नेगरेको बताउनुभयो । प्रदेशमा नै क्यान्सर अस्पतालको निर्माण हुँदा बिरामीलाई राहत मिलोस् भन्ने उद्देश्यले यहाँ अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । मान्छे रोगबाट पीडित भइरहेको हुन्छ त्यसमा पनि पायक पर्ने ठाउँभन्दा बाहिर गएर उपचार गराउनुपर्दा रोग निको भए पनि आर्थिक समस्याबाट जुध्नुपर्ने समस्या हुने चर्चा गर्नुभयो ।यसअघि अमेरिकास्थित विनयतारा ट्रष्टले जनकपुरधाम पुल्चोकमा ४ वर्षदेखि २५ शैय्याको क्यान्सर अस्पताल सञ्चालन गर्दैआएको छ । सो क्यान्सर अस्पतालमा नेपाल तथा भारतका बिरामीको चाप बढ्न थालेपछि दुईसय शैय्याको अस्पताल सञ्चालनमा ल्याउने योजना बनाएको ट्रष्टका प्रमुख साहले बताउनुभयो । यस्तै, विनयतारा क्यान्सर फाउण्डेसनका अध्यक्ष डा. वाइपी सिंहले अस्पताल निर्माणमा स्थानीयवासी तथा मनकारीहरुको साथ सहयोगबिना अस्पताल निर्माण हुन नसक्ने भएकाले सबैसँग सहयोगको अपेक्षा रहेको बताउनुभयो । अस्पतालमा अमेरिकन प्रविधिबाट उपचार गरिने भएपनि उपचार शुल्क भने न्यून राखिने ट्रष्टले जनाएको छ । सो क्यान्सर अस्पताल निर्माणका लागि ट्रस्टले साढे तीन बिघा जग्गा खरिद गरेको छ । स्थानीय विनोद ठाकुरले अस्पतालका लागि भनेर दान स्वरुप १० कठ्ठा जग्गा उपलब्ध गराउनु भएको छ । चार बिघा क्षेत्रफलमा निर्माण हुने अस्पतालका लागि डिजाइनरदेखि दक्ष प्राविधिक पनि अमेरिकाबाट ल्याइने जनाइएको छ । तीन वर्षमा अस्पताल पूर्णरुपमा सञ्चालनमा ल्याइने योजना रहेको बताइएको छ । अस्पताल निर्माणपछि नेपाल–भारतका ठूलो जनसङ्ख्या लाभान्वित हुने विश्वास सञ्चालनकहरुको छ ।
छ जना सङ्क्रमित थपिए, ४४ सङ्क्रमण मुक्त
काठमाडौं, वैशाख ३ गते । पछिल्लो २४ घण्टामा थप छ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ सय ८६ जनामा एन्टिजेन परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यसैगरी, दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । कुल चार हजार ४३ परीक्षण गर्दा नौ जना सङ्क्रमण पुष्टि भएको हो ।२४ घण्टामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या भने शून्यमा झरेको छ भने ४४ जना सङ्क्रमणमुक्त भएका छन् । त्यस्तै, हाल देशभर चार सय सक्रिय सङ्क्रमित छन् ।पछिल्लो २४ घण्टामा ३० हजार ८८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
संस्कृतिविद् सत्यमोहन जोशी आईसीयूमा
काठमाडौं, वैशाख ३ गते। वैशाख १ गते अस्पताल भर्ना हुनुभएका संस्कृतिविद् सत्यमोहन जोशीलाई सास फेर्न थप अप्ठेरो महसुस भएपछि सघन उपचार कक्ष (आईसीयू)मा सारिएको छ।स्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल अस्पताल भर्ना हुनुभएका जोशीलाई शनिबार आईसीयूमा सारिएको हो।मुटुको चालमा केही समस्या देखिएपछि आईसीयूमा सारिएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य छ। भोलिसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य भएमा वार्डमा सारिने अस्पतालले जनाएको छ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको हो। जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको निर्देशक बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ। १०३ वर्षीया जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो।
मुख कसरी सफा राख्ने ?
काठमाडौं, वैशाख ३ गते। मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ। शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, बालबालिका २ वर्ष नपुग्दासम्म सफा कपास पानीले र २ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ। दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ। मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ। रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सको भनाइ छ। दन्त स्वास्थ्यका बारेमा मानिसमा केही गलत धारणा रहेको पाइन्छ। सामान्यतः अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर हुँदैन भन्ने धारणा पाइन्छ। जुन गलत हुने चिकित्सकको भनाइ छ। स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दाँतको स्वास्थ्यका बारेमा केही गलत आमधारणाका बारेमा सार्वजनिक गरेको छ। दाँत निकाल्दा आँखा कमजोर हुन्छ, दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ वा फाटिन्छ, जुठो खाँदा दाँतमा किरा लाग्छ, नक्कली दाँत राखे कमजोर भइन्छ, उपचार गर्नुभन्दा निकाल्नु ठीक हुन्छ, दाँत नदुख्दासम्म उपचार गर्नुहुँदैन, कडा ब्रसले दाँत सफा गर्दा दाँत सफा, चम्किलो हुन्छ भन्नु गलत भएको मन्त्रालयले जनाएको छ। कतिपयले अन्य रोगको तुलनामा दाँतको रोग गम्भीर नहुने बुझाइ गलत भएको मन्त्रालयले जनाएको छ। दन्त चिकित्सालाई आधारभूत स्वास्थ्य सामग्री नमानी विलासिता र कस्मेटिक उपचार ठान्ने र १(२ वटा दाँत बिग्रदैमा केही नहुने मनोविज्ञान गलत भएको सूचनामा उल्लेख छ।
सत्यमोहन जोशी किष्ट अस्पतालको डिलक्स सुइटमाः मुटुको चालमा गडबढी
काठमाडौंं, वैशाख ३ गते । संस्कृतिविद् सत्यमोहन जोशीको मुटुको चालमा गढबढी देखिएको छ । बुधबार छातीमा असजिलो महसुस भएपछि किष्ट अस्पतालको इमर्जेन्सीमा भर्ना हुनुभएका जोशीलाई अहिले अस्पतालको डिलक्स सुइटमा भर्ना गरेर उपचार सुरु गरिएको हो ।किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार जोशीको पिसाबमा संक्रमण र मुटुको चालमा गडबढी देखिएको छ । १०३ वर्ष वर्षीया जोशीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको निर्देशक बज्राचार्यले बताउनुभयाे । जोशीको यसअघि २०७८ फागुनमा एक हप्ता किष्ट अस्पतालमै उपचार भएको थियो ।
‘चुनाव आयो, भीडभाडमा जाँदा स्वास्थ्य मापदण्ड पालना गरौं’
काठमाडौं, वैशाख ३ गते । स्थानीय तहको निर्वाचन आउन अब एक महिना पनि बाँकी छैन । वैशख ३० गतेका लागि घोषणा भएको चुनावको सरगर्मी बढेको छ । चुनाव नजिकिँदै गर्दा चुनावी आमसभा र पार्टी प्रवेश कार्यक्रमहरु बढेका छन् । गाउँ टोलदेखि नै दलका नेता, कार्यकर्ताको दौडधुपका साथै सभा सम्मेलन बढ्दै गएका छन् । दुई वर्षदेखि कोरोना महामारीबाट तङ्ग्रिन लाग्दै गर्दा नेपाल तीन तहको निर्वाचनमा होमिएको छ । चुनावका बेला हुने भीडभाडले फेरि कोरोना सङ्क्रमण बढाउने त होइन भन्ने चिन्ता पनि सुरु भएको छ । छिमेकी राष्ट्र भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । त्यस्तै, चीनमा पनि सङ्क्रमणदर बढेपछि केही शहरमा बन्दाबन्दी (लकडाउन) गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । चीन र भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुलाई विज्ञहरुले चौथौ लहर फैलिन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोना महामारी विश्वबाट हटेको घोषणा गरिसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा औसत कोरोना भाइरसको सङ्क्रमणदर ०.४ प्रतिशतमा झरेको छ । नेपालमा सङ्क्रमणदर कम भएको तर शून्यमा नझरेको र विश्वका विभिन्न देशमा कोरोनाका नयाँ नयाँ भेरियन्ट देखिने क्रम जारी रहेकाले नेपालमा पनि सङ्क्रमणको जोखिम कायमै छ । त्यसैले सभा, भेला, सम्मेलमा जाँदा स्वास्थ्यका मापदण्ड अपनाउन सरकारले आग्रह गर्दै आएको छ । गाउँदेखि सहरसम्म हुने चुनावी कार्यक्रम, सभा सम्मेलनमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालन गर्न बिर्सन नहुने जनस्वास्थ्यविद्हरुको सुझाव छ । भारतमा सङ्क्रमण फैलिएको १५ दिनभित्र कोरोना नेपालमा पनि फैलने गरेको विगतले देखाउँछ । त्यसैले नेपालमा पनि पुन सङ्क्रमण बढ्न सक्ने चिकित्सक बताउँछन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पनि कोरोनाको जोखिम घटी नसकेको बताउनु हुन्छ । डा. पुनले भन्नुभयो, “अहिले चीन र भारतमा फैलिएको सङ्क्रमण ओमिक्रोनको परिवर्तित स्वरुप भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ओमिक्रोनको सङ्क्रमणदर बढी भएकाले नेपालमा पनि सङ्क्रमण फैलन सक्ने र उत्सर्गमा पुग्न सक्ने देखिन्छ ।” चीनमा र भारतलगायत विश्वका विभिन्न देशमा सङ्क्रमणको सङ्ख्या बढे पनि अस्पतालमा भर्ना भएका घटना न्यून सङ्ख्यामा छन् । त्यसैले कोरोना सङ्क्रमण नेपालमा बढ्न सक्ने सम्भावना भए पनि जटिलता कम हुने डा. पुनको विश्वास छ । नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या पनि धेरै नै छ । “नेपालमा सङ्क्रमण फैलिए पनि धेरैले खोप लगाइसकेकाले त्यति जटिल अवस्था नआउन सक्छ,” उहाँ भन्नुहुन्छ । तर खोप नलगाएका तर सङ्क्रमित भएका व्यक्तिहरु चुनावी अभियान र मतदानमा सहभागी भएमा उनीहरुबाट कोरोना सङ्क्रमण फैलने जोखिम बढी हुने चिकित्सक बताउँछन् । कोरोनाको सङ्क्रमण दर घटेको र खोप लगाइसकाले धेरैले हेलचेक्राइँ गर्ने गरेको चिकित्सक बताउँछन् । जनस्वास्थ्यका मापदण्ड पालना गर्दा गर्मी मौसममा हुने अन्य सरुवा रोगबाट पनि बच्न सकिने डा. पुन बताउनुहुन्छ । डा. पुन भन्नुहुन्छ, “कोरोना सङ्क्रमणका कुरा मात्रै नभएर ठूलो जमघटमा अन्य सङ्क्रमणजन्य रोगहरु सर्न सक्ने सम्भावना भएकाले अनिवार्यरुपमा मास्क प्रयोग र हातको सरसफाइतर्फ ध्यान दिनुपर्छ । चुनावमा कम्तीमा अनिवार्यरुपमा मास्क लगाए पनि कोरोना फैलिने सम्भावना कम हुन्छ ।” आयोगको तयारी निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल सभा, गोष्ठी, जुलुस गर्दा कोभिड १९ विरुद्धको स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिइसकेको बताउनुहुन्छ । दलहरुले आयोजना गर्ने आमसभा, बैठक, र्याली, कोणसभामा स्वास्थ्य मापदण्ड पालन गर्न गराउन आचारसंहितामा स्पष्ट रुपमा उल्लेख गरेको उहाँले जानकारी दिनुभयो । साथै अर्यालका अनुसार, आयोगले स्थानीय तहका सबै चुनाव केन्द्रमा चुनाव गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गराउने र विभिन्न ठाउँमा सङ्क्रमण फैलन नदिन स्वास्थ्य मापदण्ड पालन गर्ने सम्बन्धी प्रचारप्रसार सामग्री राख्न निर्देशन दिइसकेको छ । मतादान केन्द्रको हकमा निश्चित व्यक्तिलाई मात्र पास दिने व्यवस्था गर्न निर्देशन दिएको पनि उहाँले जानकारी दिनुभयो । मतदातालाई बढी भीडभाड नहोस् भनेर दुईवटा लाममा दूरी कायम गराउने र फराकिलो ठाउँमा मतदान केन्द्र बनाउने तयारी गरेको पनि निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रत्येक निर्वाचन केन्द्रमा मास्क र सेनिटाइजरका साथै साबुनपानीको व्यवस्था गर्न निर्देशन दिएको छ भने स्वास्थ्य मादपण्ड अपनाउन आवश्यक साम्रगी केन्द्रबाट पठाउने तयारी आयोगले गरेको छ । खोप कार्ड अनिवार्य छ ?निर्वाचनमा मतदान गर्न मतदातालाई खोप कार्ड अनिवार्य गर्ने विषयमा अहिलेसम्म कुनै निर्णय भइनसकेको निर्वाचन आयोगको भनाइ छ । आयोगको सहायक प्रवक्ता अर्यालले खोप कार्ड अनिवार्य गर्दा मतदान झन् झन्झटिलो हुनसक्ने बताउनुभयो । “खोप कार्ड अनिवार्य गरेको छैन । मतदातालाई खोपकार्ड अनिवार्य गर्दा त्यो झन्झटिलोे हुन्छ । सरकारले सबै नागरिकले खोप लगाएको सुनिश्चितता दिएपछि खोप कार्डभन्दा विश्वसनीय हुन्छ”,उहाँले भन्नुभयो ।खोप नलगाउने मतदान गर्न पाउँछन् ?आयोगले सरकारलाई बैशाख १० भित्र सबै नागरिकलाई खोप लगाइसक्न निर्देशन दिएको थियो । तर चैत महिनासम्म १८ वर्ष माथिका ६ प्रतिशतले कोरोनाविरुद्धको खोपको एक मात्रा पनि लगाएका छैनन् । सरकारले खोपको कमी नभएको बताए पनि नागरिकले नै खोप लगाउन नचाहेका जनाएको छ । खोप नलगाएकाले मतदान गर्न पाउँदैनन् कि भन्ने जिज्ञासा धेरैमा छ । आयोगका सहायक प्रवक्ता अर्यालले खोप नलगाएको व्यक्तिलाई मताधिकारबाट बञ्चित गर्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘राज्यले खोप उपलब्ध गराउने हो, खोप लगाउने/नलगाउने अधिकार जनताको हो । उहाँलाई बाध्यकारी बनाउन मिल्दैन । राज्यले खोप दिँदादिँदै खोप लगाउन चाहनुहुन्न भने उहाँहरुको इच्छा हो । भोट हाल्न पाउने उहाँहरुको अधिकार हो । त्यसैले आयोगले भोट नहाल्न भन्न मिल्दैन ।’’
सत्यमोहन जोशी अस्पताल भर्ना
काठमाडौं, वैशाख २ गते। संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना हुनुभएको छ। स्वासप्रश्वासमा समस्या देखिएपछि उहाँ बिहीबार दिउँसो ४ बजे ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल अस्पताल भर्ना हुनुभएको पारिवारिक स्रोतले जानकारी दिएको छ। छोरी कादेवी जोशीका अनुसार सास फेर्न अप्ठेरो महसुस भएपछि उहाँलाई बिहीबार दिउँसो अस्पताल भर्ना गरिएको हो। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। पिसाबमा इन्फेक्सन भएको चिकित्सकले बताउनुभएको छ’, चिकित्सकको भनाइ उद्धृत गर्दै छोरी कादेवीले भन्नुभयो। १०२ वर्षीय जोशीलाई यसअघि माघमा सास फेर्न समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियाे ।