• १२ साउन २०८१, शनिबार

दुई वर्षदेखि जिल्ला अस्पताल एम्बुलेन्सविहीन

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, पुस ६ गते । हिमालपारीको जिल्ला मुस्ताङको जिल्ला अस्पताल पछिल्लो दुई वर्षदेखि एम्बुलेन्सविहीनको अवस्थामा रहेको जिल्ला अस्पताल मुस्ताङका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विशाल तिवारीले बताउनुभयो । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराको आयोजनामा मुस्ताङको जोमसोममा भएको मानवअधिकार वर्ष पुस्तक –२०२३ पूर्व समीक्षा कार्यक्रममा डा.तिवारीले जिल्लाको एक मात्रै अस्पतालमा बिरामीका लागि अत्यावश्यक रहने एम्बुलेन्ससमेत नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “दुई वर्ष अगाडि बिग्रेको एम्बुलेन्स मर्मत गर्ने तथा सञ्चालन गर्न सकिएको छैन । १८ जनाको दरवन्दी रहेको मुस्ताङ अस्पतालमा अहिले ९ जनाले मात्रै बिरामीलाई सेवा सुविधा दिएको छ ।” तिवारीले थप्नुभयो, “अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति एवम् बजेटकै कारणले गर्दा पनि मुस्ताङ अस्पतालले समस्या झेल्नु परेको छ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले मुस्ताङमा मानवअधिकार रक्षाका लागि सबै नागरिकले आफ्नो क्षेत्रबाट भूमिका खेलेको हुँदा मानवअधिकार उल्लंघनका घटनाहरु मुस्ताङमा नहुने बताउनुभयो । जिल्लामा मुखियाप्रथा बिद्यमान अवस्थामा पनि रहेकोतर्फ इङ्गित गर्दै शर्माले ग्रामीण भेकमा हुने सामान्य विवाद मुखियाले नै समाधान गर्ने हुँदा नागरिकको समय र पैसा बचत हुने बताउनुभयो । 

मुखियाले राज्यलाई सहयोग गरेको बताउँदै उहाँले भन्नुभयो, “फौजदारी केशहरु मुखियाले केही गर्नु हुँदैन तर सामान्य विवादहरु अन्य घरायसी समस्याहरु समाधानका लागि राम्रो भुमिका खेल्ने गर्नुभएको छ ।” मुस्ताङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्रनाथ पौडेलले सूचनाहरु पारदर्शी रहेको बताउनुभयो । 

जिल्लाभित्र कुनै पनि प्रकारका मानवअधिकार उल्लङ्घनका कार्य नभएको बताउँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका जनताको मताधिकारका विरुद्धमा प्रचार गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिएर छाडिएको बताउनुभयो । जोमसोमका होटल व्यवसायी आइता थकालीले जिल्लाभित्र बालश्रमिकहरुको प्रयोग नभएको बताउनुभयो ।