गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १ गते । जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।
काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो ।
मृतकको सम्मान स्वरुप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा पनि दिएको थियो ।
साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजी पुस्ताले भदौ २३ र २४ गते राजधानीमा प्रदर्शन गरेका थिए ।
गोरखापत्रका ओखलढुंगा समाचारदाता शेरबहादुर राईका अनुसार, ओखलढुङ्गामा जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा बुधबार साँझ दीप प्रज्वलन गरिएको छ । गत भदौ २३ र २४ गते आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा ओखलढुङ्गाबासीले दीप प्रज्वलन गरेका हुन् ।
सिद्धिचरण नगरपालिका–११ को मिलनचोक र वडा नं. १२ स्थित गणेश मन्दिर चोकमा दीप प्रज्वलन गरिएको राजेश कुमार खत्रीले जानकारी दिनुभयो । खत्रीका अनुसार सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै युवाहरूले दीप प्रज्वलन गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले सहिदहरूले देखाएको बाटो अनुसरण गर्दै परिवर्तनको यात्रालाई निरन्तरता दिने संकल्प व्यक्त गरेका थिए । दीप प्रज्वलन कार्यक्रममा जेनजी युवाहरु लगायत स्थानिय समाजेवी, विद्यार्थीहरु र सदरमुकामबासीको सहभागीता रहेको थियो ।


