काठमाडौँ, असोज १ गते । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानमा बुधबार सरकारले आधा झण्डा झुकाउँदै शोक मनाएको छ। सहिदको सम्मानस्वरूप बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय सरकारले गरेको हो । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा दिएको छ।
मृतकको सम्मानस्वरूप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।
भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजीले भदौ २३ गते राजधानीमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सो घटनाको विरोधमा भदौ २४ गते मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो।