• १ असोज २०८२, बुधबार

सहयोग निरन्तर रहने भारतको प्रतिबद्धता

blog

प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्नुहुँदै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव।

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री सुशीला कार्कीलाई भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले लिखित रूपमा बधाई दिँदै नेपालको विकास र पुनर्निर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नवगठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई भारतका प्रधानमन्त्री मोदीले आफ्ना राजदूत नवीन श्रीवास्तवमार्फत लिखित शुभकामना तथा बधाई सन्देशमार्फत भविष्यमा मिलेर अघि बढ्न भारत तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको हो । 

प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गर्न नेपालस्थित भारतका राजदूत नवीन श्रीवास्तव मङ्गलबार प्रधानमन्त्री कार्यालय पुग्नुभएको थियो । भेटका क्रममा राजदूत श्रीवास्तवले भारतका प्रधानमन्त्री मोदीले पठाउनुभएको लिखित बधाई सन्देश प्रधानमन्त्री कार्कीलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

सन्देशमार्फत मोदीले नेपाल र भारतबिचको प्रगाढ मित्रतालाई बलियो बनाउन भविष्यमा मिलेर काम गर्र्ने इच्छा र प्रतिबद्धता जनाउनुभएको मन्त्रालयले प्रस्ट पारेको छ । मन्त्रालयका अनुसार मोदीले दुई छिमेकी देशबिचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ बनाउन सँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भेटमा राजदूत श्रीवास्तवले भारतनिकट छिमेकीको नाताले नेपालको शान्ति र स्थिरताको पक्षमा रहेको पनि प्रधानमन्त्री कार्कीसमक्ष प्रस्ट पार्नुभयो ।  साथै भावी विकास तथा पुनर्निर्माणमा भारत सरकार सहयोग गर्न तयार रहेको पनि उहाँले अवगत गराउनुभयो ।