• १ कात्तिक २०८२, शनिबार

राष्ट्रिय महत्वका अभिलेख : विषयगत प्रश्नोत्तर

blog

राष्ट्रिय महत्वका अभिलेख

१. अभिलेख भनेको के हो ? सरकारका महत्वपूर्ण अभिलेखको संरक्षण गर्न राष्ट्रिय अभिलेखालयले सम्पादन गर्ने कार्यहरू उल्लेख गर्नुहोस् । साथै राष्ट्रिय महत्वका अभिलेखहरूको सूचीसमेत पेस गर्नुहोस् ।

भविष्यमा उपयोग गर्ने वा प्रमाणको रूपमा पेस गर्ने गरी संरक्षण गरिएका कागजपत्र, नक्सा, चित्र, ध्वनि, सङ्केत, श्रव्य वा दृश्य सामग्री वा अन्य यस्तै प्रकारका सूचनामूलक सामाग्रीहरू नै अभिलेख हुन् । मुलुकको इतिहास, भूगोल, जनसङ्ख्या, संस्कृति, अनुसन्धानलगायतका विविध क्षेत्रसँग सम्बन्धित अभिलेख राष्ट्रिय हितका लागि संरक्षण गरी राख्नुपर्ने हुन्छ । त्यसबाहेक कार्यालय तहमा सिर्जना हुने अभिलेख भविष्यमा कार्यसम्पादनको महìवपूर्ण आधार हुन सक्ने भएकोले संरक्षण गरी राख्ने गरिन्छ । कहिल्यै धुल्याउन नमिल्ने प्रकृतिका अभिलेख दीर्घकालसम्म सुरक्षित गरी राख्नुपर्ने हुन्छ । यस्ता महìवपूर्ण अभिलेखलाई नवीन प्रविधिको प्रयोगमार्फत सजिलै नष्ट हुन नसक्ने र दीर्घकालसम्म प्रयोग गर्न मिल्ने गरी व्यवस्थित गरी राख्ने गरिन्छ ।

सरकारी अभिलेखको संरक्षण गर्न राष्ट्रिय अभिलेखालयले सम्पादन गर्ने कार्य :

विभिन्न निकायबाट प्राप्त कागजात दर्ता गर्ने,

अभिलेख व्यवस्थित एवं सुरक्षित तरिकाले राख्ने,

अभिलेख वर्गीकरण गरी सूची तयार पार्ने,

आवश्यकता अनुसार अभिलेख छपाउने वा प्रतिलिपि निकाल्ने,

कुनै व्यक्तिलाई अभिलेख हेर्न वा सार्न दिने वा प्रतिलिपि दिने सम्बन्धमा आवश्यक व्यवस्था गर्ने,

राष्ट्रिय महत्वका अभिलेखको सर्वेक्षण, खोज, सङ्कलन, संरक्षण र संवर्धन गर्ने,

ऐतिहासिक तथा राष्ट्रिय महत्वका कागजात उपहार, खरिद, लिज वा अन्य माध्यमबाट सङ्कलन वा प्राप्त गर्ने,

कार्यालयमा रहेका कागजातको संरक्षण तथा व्यवस्थापनसम्बन्धी कार्यको सुपरीवेक्षण गर्ने,

विभिन्न निकायले राख्ने अभिलेख तथा कागजातको संरक्षण र व्यवस्थापन सम्बन्धमा सहयोग वा परामर्श प्रदान गर्ने,

अभिलेखको माइक्रोफिल्म बनाउने र डिजिटाइज्ड गर्ने,

विपत्बाट हानी नोक्सानी हुन नपाउने गरी अभिलेख सुरक्षित गर्ने,

अभिलेख प्रकाशन गर्न माग गरेमा सर्त तोकी प्रकाशन गर्न स्वीकृति दिने,

अभिलेख सङ्कलन तथा सर्वेक्षण गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने,

अभिलेख व्यवस्थापनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेस गर्ने,

राष्ट्रिय महत्वका अभिलेखको सूची :

अभिलेख संरक्षण ऐनमा व्यवस्था गरिएबमोजिम राष्ट्रिय महत्वका अभिलेखको सूची यस प्रकार रहेको छ ः 

लालमोहर लागेको कागजात,

तत्काल कायम रहेको राष्ट्रप्रमुखको हैसियतमा काम गर्ने पदाधिकारीबाट हस्ताक्षर भएको कागजात,

नेपालको राजनीतिक परिवर्तनसम्बन्धी भए, गरेका निर्णय, सम्झौता आदिका सक्कल प्रति,

नेपालको संविधान र संविधान निर्माणसम्बन्धी दस्ताबेजका सक्कल प्रति,

सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरण भएका विधेयकका सक्कल प्रति,

नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णयको मूल प्रति,

विदेशी राष्ट्र, अन्तर्राष्ट्रिय सङ्घ, संस्था वा अन्य विदेशी सङ्घ, संस्थासँगको भएको सन्धि, सम्झौता र तत्सम्बन्धी लेखापढी भएका महìवपूर्ण कागजात,

नेपालको समय–समयको नक्सा,

देशको सिमानासम्बन्धी लेखापढी भएको नक्सा,

नेपाल र विदेशी राष्ट्रका प्रतिनिधिको संयुक्त विज्ञप्ति,सम्बन्धित मन्त्रालयमा रहने मन्त्रीपरिषद्को निर्णयको मूल प्रति,

देशको शान्ति सुरक्षासम्बन्धी महत्वपूर्ण कागजात,

अमुद्रित ऐन, सवाल, सनद, खड्ग निसाना,

चल वा अचल सम्पत्तिका हकदैया दर्शाउने कागजात,

सङ्घीय संसद्का सदस्यको वैयक्तिक विवरण,

नापी नक्साको कागजात,

कर्मचारीको सिटरोल,

नेपाल सरकार वादी वा प्रतिवादी भएको वा नेपाल सरकारलाई सरोकार भएको मुद्दामा अधिकारप्राप्त अड्डा वा अदालतबाट भएको अन्तिम फैसला वा आदेश,

नागरिकता वा नागरिकहरूको मुद्दासम्बन्धी विषयमा विदेशी राष्ट्रसँग भएको लेखापढीका कागजात,

विभिन्न आयोगका प्रतिवेदन,

देशको ऐतिहासिक, सामाजिक, धार्मिक र सांस्कृतिक महìवका हस्तलिखित ग्रन्थ तथा अभिलेख,

नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेका कागजातहरू,

कार्यालय प्रमुखले उचित ठानेका विषयहरू ।

अन्त्यमा राष्ट्रिय महत्वका अभिलेखहरू नेपाल र नेपाली जनताका साझा सम्पत्ति हुन् । यिनीहरू राष्ट्रिय हितसँग समेत जोडिएका हुन्छन् । यस्ता अभिलेखहरूमा क्षति पुगेमा वा अभिलेखहरू नष्ट भएमा मुलुकलाई अपूरणीय क्षति पुग्न सक्छ । 

यी अभिलेखको सुरक्षामा सरकार र नागरिक दुवैले ध्यान दिनु पर्छ । राष्ट्रिय महìवका अभिलेखहरूको सर्वेक्षण, सङ्कलन तथा सुरक्षाको उचित प्रबन्ध गर्न राष्ट्रिय अभिलेखालयको क्षमता विकास गर्नुका साथै यस्ता अभिलेखको महìवको बारेमा आमनागरिकलाई सुसूचित गर्न 

जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन 

गर्नुपर्ने देखिन्छ ।


२. न्यायिक समितिबाट निरूपण हुने कुनै १० वटा विवादका विषयहरू उल्लेख गर्दै न्यायिक समितिले यी र यस्ता विषयमा न्यायिक क्षेत्राधिकारको प्रयोग गर्दा दिन सक्ने अन्तरिम संरक्षणात्मक आदेशका सम्बन्धमा चर्चा गर्नुहोस् ।

नेपालको संविधानले प्रत्येक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । गाउँपालिकाको उपाध्यक्ष वा नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा तत् तत् तहको सभाले निर्वाचित गरेका दुई जना सदस्य रहने गरी तीन सदस्यीय न्यायिक समिति रहने कुरा संविधानमा उल्लेख गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन र स्थानीय कानुनबमोजिम न्यायिक समितिको क्षेत्राधिकार र न्यायसम्पादन प्रक्रिया व्यवस्थित गरिएको छ । न्यायिक समितिले आफ्नो क्षेत्राधिकार अन्तर्गतका विवादहरू निरूपण गर्दा नाबालक, अशक्त र असहायहरूको हक हितको संरक्षण गर्नका लागि आवश्यकता अनुसार अन्तरिम संरक्षणात्मक आदेश दिन सक्छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ४७ मा उल्लेख भएबमोजिम न्यायिक समितिबाट निरूपण हुने विवादमध्ये कुनै दश विवादका विषय यस प्रकार छन् ः

आलीधुर, बाँध पैनी, कुलो वा पानीघाटको बाँडफाँट तथा उपयोग,

अर्काको बाली नोक्सान गरेको,

ज्याला मजुरी नदिएको,

घरपालुवा पशुपन्छी हराएको वा पाएको,

ज्येष्ठ नागरिकको पालन पोषण तथा हेरचाह नगरेको,

नाबालक छोराछोरी वा पतिपत्नीलाई इज्जत आमद अनुसार खान लाउन तथा शिक्षा दीक्षा नदिएको,

अन्य व्यक्तिको घर, जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी रुख बिरुवा लगाएको,

आफ्नो घर वा बलेसीबाट अर्काको घर, जग्गा वा सार्वजनिक बाटोमा पानी झरेको,

सँधियारको जग्गातर्फ झ्याल राखी घर बनाउनु पर्दा कानुनबमोजिम छाड्नुपर्ने परिमाणको जग्गा नछोडी बनाएको,

सङ्घीय वा प्रदेश कानुनले स्थानीय तहबाट निरूपण हुने भनी तोकेका अन्य विवाद ।

अन्तरिम संरक्षणात्मक आदेशसम्बन्धी व्यवस्था ः

पतिपत्नीबिचको विवाद वा ज्येष्ठ नागरिकको संरक्षणसम्बन्धी विवादमा पीडित, निजको नाबालक सन्तान वा निजसँग आश्रित अन्य कुनै व्यक्तिको हितका लागि न्यायिक समितिले देहायको अन्तरिम संरक्षणात्मक आदेश दिन सक्छ ः 

पीडितलाई निज बसी आएको घरमा बसोबास गर्न दिन, खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न,

पीडितलाई शारीरिक वा मानसिक चोट पुगेको भएमा उपचार गराउन,

पीडितलाई अलग रूपमा बसोबासको प्रबन्ध गर्नुपर्ने देखिएमा सोको व्यवस्था गर्न र त्यसरी अलग बस्दा निजको भरणपोषणका लागि उचित व्यवस्था गर्न,

पीडितलाई गालीगलौज गर्ने, धम्की दिने वा असभ्य व्यवहार गर्ने कार्य नगर्न, नगराउन,

पीडितको हित र सुरक्षाका लागि अन्य आवश्यक र उपयुक्त कुरा गर्न वा गराउन । 

अन्त्यमा स्थानीयस्तरमा विवाद निरूपण गरी विवादित पक्षहरूलाई न्यायको अनुभूति गराउन न्यायिक समितिहरूको भूमिका महìवपूर्ण रहन्छ । स साना प्रकृतिका विवादलाई स्थानीय तहमार्फत द्रुत निरूपण गरी विवादका पक्षहरूको समय र लागत बचत गर्नुका साथै विवादका पक्षहरूलाई मेलमिलापका लागि प्रेरित गरी जित जितको अवस्था सिर्जना गर्न न्यायिक समितिले गरेको योगदान उच्च रहेको छ । स्थानीय स्तरमा न्यायसम्पादनलाई प्रभावकारी बनाउनका लागि न्यायिक समिति र यसको क्षेत्राधिकारको बारेमा प्रचारप्रसार गर्नुका साथै न्यायिक समिति र सम्बद्ध कर्मचारीको क्षमता विकास गर्नुपर्ने देखिन्छ । 


३. नेपालको संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बालबालिकासम्बन्धी हकको बारेमा लेख्नुहोस् ।

नेपालको संविधानमा मौलिक हकको रूपमा व्यवस्था गरिएको बालबालिकाको हकलाई देहायबमोजिम उल्लेख गरिएको छ ः

प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुने,

प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने,

प्रत्येक बालबालिकालाई प्रारम्भिक बाल विकास तथा बाल सहभागिताको हक हुने,

कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने,

कुनै पनि बालबालिकालाई बाल विवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने,

कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना गर्न वा प्रयोग गर्न नपाइने,

बालबालिकालाई सांस्कृतिक वा धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा गर्न नपाइने,

बालबालिकालाई शारीरिक, मानसिक वा यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न नपाइने,

कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमले यातना दिने नपाइने,

प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुने,

असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने,

बाल संरक्षणको मान्यताविपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने ।

अन्त्यमा संविधानमा उल्लेख गर्दैमा मौलिक हकहरू स्वतः प्राप्त हुँदैनन् । ती हकहरूको प्रचलनका लागि आवश्यकता अनुसार कानुन निर्माण, कार्यान्वयन संरचनाको प्रबन्ध, स्रोत साधन र कार्यव्रmमको पर्याप्त प्रबन्ध गरिएको हुनु पर्छ । बालबालिकाको हकको प्रचलनको लागि तिनै तहको सरकार र अन्य सरोकारवाला निकायले सहकार्य र समन्वय गर्नु पर्छ ।


४. समावेशीकरण भनेको के हो ? समावेशीकरणका अन्तरवस्तु माथि प्रकाश पार्दै यसको आवश्यकताबारे आफ्नो धारणा राख्नुहोस् । साथै समावेशीकरणका माध्यमसमेत उल्लेख गर्नुहोस् । 

विभेद, बहिस्करण र वञ्चितीकरणमा परेका वर्ग, क्षेत्र र समुदायका व्यक्तिहरूलाई राज्यको मूल धारमा समावेश गराउने प्रव्रिmयालाई समावेशीकरण भनिन्छ । राज्यको नीतिनिर्माण, कार्यान्वयन र लाभको हिस्सेदार बन्ने कुरामा बिनाभेदभाव सबैको उपस्थिति सुनिश्चित गराउन समावेशीकरणको अभ्यास गरिन्छ । व्यक्तिको जन्मदाको हैसियत वा वंशका आधारमा कोही पनि श्रेष्ठ हुनु हुँदैन र राज्यको दृष्टिमा सबै व्यक्ति समान हुनु पर्छ भन्ने मान्यतामा आधारित रही विभिन्न कारणले विभेद र सीमान्तीकरणमा परेका व्यक्ति वा समुदायलाई समान हैसियतमा ल्याउन राज्यले समावेशीकरण र सामाजिक न्यायका लागि काम गर्छ । व्यक्ति वा समुदायको पहिचान, स्रोतसाधन र अवसरमा समान पहुँच तथा राज्यका निकायमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै समतामूलक समाज निर्माण गर्न समावेशीकरणका विभिन्न माध्यम अवलम्बन गरिन्छ । नेपालको संविधानले समावेशिता र सामाजिक न्यायलाई मूल मर्मको रूपमा अङ्गीकार गरेको छ । नेपालका कानुनमा सकारात्मक विभेद, आरक्षण, समानुपातिक प्रतिनिधित्व, प्राथमिकता, सामाजिक सुरक्षालगायतको व्यवस्था गरिएको छ । दिगो विकासका विश्वव्यापी लक्ष्यहरूले सबैलाई समेट्ने तथा कसैलाई पनि पछाडि नछाड्ने मान्यता अँगालेको पाइन्छ । नेपालको आवधिक योजना र बजेटको सोच तथा लक्ष्यले सामाजिक न्याय प्रवर्धनमा जोड दिएका छन् । 

समावेशीकरणका अन्तरवस्तु ः

समावेशीकरणको अवधारणा समेट्ने आधारभूत पक्षलाई यसका अन्तरवस्तुको रूपमा बुझ्न सकिन्छ । जुन यस प्रकार रहेका छन् ः

क) पहिचान ः समाजका सबै वर्ग, समुदायको अस्तित्व, भाषा, संस्कृति र परम्पराको पहिचान र उचित सम्मान हुनपर्ने विषय समावेशीकरणको महत्वपूर्ण पक्ष हो । 

ख) पहुँच ः राज्यमा उपलब्ध स्रोतसाधन, अवसर, सुविधा र लाभ बाँडफाँटमा समाजका सबै वर्ग, क्षेत्र र समुदायको सहज पहुँच पुग्नु पर्छ ।

ग) प्रतिनिधित्व ः राज्यका महत्वपूर्ण निर्णय हुने र सोको कार्यान्वयन हुने ठाउँमा समाजमा पछाडि परेका वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण प्रतिनिधित्व हुनु पर्छ ।

घ) सम्मान ः समाजका हरेक वर्ग, जाति, लिङ्ग र समुदायको उचित सम्मान र कदर हुनु पर्छ । त्यसका लागि उनीहरूको पेसा, व्यवसाय, संस्कृति तथा भाषाको मान्यता र संरक्षण गरिएको हुनु पर्छ ।

ङ) समता ः असमान अवस्थामा रहेकालाई समान व्यवहारले न्याय दिन सक्दैन । त्यस्ता व्यक्तिहरूका लागि थप अवसर र विशेष व्यवस्था गरी न्यायपूर्ण समाजका लागि कार्य गर्नु पर्छ ।

च) विभेदरहितता ः राज्यका कानुन, नीति, बजेट र सोको अभ्यासको क्रममा समाजको कुनै वर्ग, जाति, धर्म, भाषा, संस्कृतिलाई विभेद गर्नु हुँदैन ।

छ) मूलप्रवाहीकरण ः अवसरबाट वञ्चित र सीमान्तकृत वर्ग वा समुदायलाई विशेष व्यवस्था, अवसर, सहुलियत र सशक्तीकरणको माध्यमबाट नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सामेल गराउनु पर्छ ।

ज) समानता : समावेशीकरणको अन्तिम गन्तव्य सामाजिक न्याय र समानता हो । समाजका सबै वर्ग, क्षेत्र र समुदायका व्यक्तिलाई राज्यले समान अवसर दिनु पर्छ र समान व्यवहार गर्नु पर्छ । 

समावेशीकरणको आवश्यकता ः

व्यक्तिको पहिचानको संरक्षण गर्दै उसमा अन्तरनिहित क्षमता विकास गर्न,

उपलब्ध स्रोतसाधन र अवसरमा आमनागरिकको समन्यायिक पहुँच र नियन्त्रण सुनिश्चित गर्न,

राज्यका संरचनामा सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै अपनत्व बोध गराउन,

व्यक्तिको आत्मसम्मान र मर्यादा कायम राख्न,

मानव अधिकारको संरक्षण र प्रचलन गर्न,

विभेद र बहिस्करणको अन्त्य गर्न,

राज्यका नीति, कानुन, योजना तथा बजेट प्रक्रियामा आमनागरिकको सहभागिता र अपनत्व कायम गर्न,

समाजका कमजोर वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान गर्न,

सामाजिक न्याय र समानता कायम गर्न,

विविधता व्यवस्थापन गर्न,

राष्ट्रिय एकता कायम गर्दै राष्ट्रिय हितको प्रवर्धन गर्न ।

समावेशीकरणका माध्यम :

समाजमा वञ्चितीकरण र बहिस्करणमा परेका वर्ग, क्षेत्र र समुदायलाई राज्यको मूल धारमा ल्याउन देहायका माध्यम प्रचलनमा रहेका छन् ः

सकारात्मक विभेद,

समानुपातिक प्रतिनिधित्व,

आरक्षण,

सामाजिक सुरक्षा र संरक्षण,

सशक्तीकरण, विकास र उत्थानका लागि लक्षित कार्यक्रम,

विशेष अधिकार, सहुलियत र अवसर,

प्राथमिकता,

विकेन्द्रीकरण,

स्वायत्तता,

सङ्घीयता ।

अन्त्यमा समावेशीकरणलाई सामाजिक न्याय हासिल गर्ने माध्यमको रूपमा लिइन्छ । यो सुशासनको पूर्वसर्त पनि हो । यसले राज्यप्रतिको आमनागरिकको अपनत्व सिर्जना गरी राष्ट्रिय एकता र सामाजिक सद्भावलाई प्रवर्धन गर्छ । समावेशीकरणलाई केवल राज्य संयन्त्रमा विभिन्न व्यक्ति वा समुदाय सहभागी गराउने अर्थमा मात्र नहेरी सहभागिताको प्रक्रियालाई योग्यता प्रणालीको मर्म र भावना सँगसँगै लैजानु आजको आवश्यकता हो ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा