अनिल पराजुली
हेटौँडा, भदौ ३१ गते । नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्य तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।
सेनाको सो ट्रकमा २२ जना सवार थिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, चुरियामाई र बारा जितपुर सिमरा उपमहानगरपालिका–२२, चुरियामाईस्थित पूर्व पश्चिम सडक खण्डमा मङ्गलबार दिउँसो सेना सवार ट्रक दुर्घटना भएको हो ।
मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाई स्थित नं. २ राजदल गण तनहुँबाट धनुषातर्फ उप सेनानी हर्ष विक्रम अधिकारीको कमान्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रक मध्ये लु. १ ग. २८० नं.को ट्रक सिमानाको पुल बाट अन्दाजी १२ फिट तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
मकवानपुरबाट प्रहरी नायब उपरीक्षक श्यामु अर्याल, जिल्ला ट्राफिक कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक, इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक, प्रहरी चौकी रातोमाटेबाट गएको प्रहरीको २५ जना र इलाका प्रहरी कार्यालय अम्लेखगन्ज बाराबाट प्रहरी नायब निरीक्षक धन बहादुर श्रेष्ठको कमान्डमा ७ जनाको टोलीले घाइतेहरूलाई नेपाली सेनाकै सहयोगमा उद्धार गरी उपचारको लागि हेटाैँडा अस्पताल मकवानपुर पठाएको छ ।