• ३० भदौ २०८२, सोमबार

डाँडाफया गाउँमा दैनिकजसो घर तोडफोड

blog

दैनिक दिन पहिचान नखुलेको अज्ञात समूहबाट तोडफोट भएको डाँडाफया गाउँ । तस्विरः नन्द सिंह । फाइल फोटो

नन्द सिंह

रलिङ (हुम्ला), भदौ ३० गते । पहिचान नखुलेका व्यक्तिहरूबाट सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँका घरहरू दैनिक दिन तोडफोड हुन थालेका छन् । पहिचान नखुलेका व्यक्तिहरूले भदौ २९ गते रातीको समयमा सोही गाउँका सातवटा घरहरू तोडफोड सँगै घरभित्र भएको सामग्री समेत लगेको स्थानीय नरबहादुर शाहीले बताउनुभयो ।

स्थानीय शाहीका अनुसार, डाँडाफया गाउँका अधिकांश नागरिकको औल र लेक भन्ने स्थानमा बसोबास गर्दै गर्ने चलन छ । जस अनुसार हिउँदमा औल र वर्षाको सिजनमा लेकतिर बस्ने गरिन्छ । तर सुनदेखि नुनसम्मका हरेक सामग्री औलका घरहरूमा राख्ने गरिन्छ । सोही मौका छोपेर पहिचान नखुलेका व्यक्तिहरूले घरको ढोका, भित्र रहेका अमूल्य सामग्री तोडफोड गरी केही सामग्री लगेर गएको स्थानीय शाहीको भनाइ छ ।

भदौ २९ गते राती घर तोफोड हुनेमा कृष्ण शाही, नरबहादुर शाही, जनमनि बिक, जानबहादुर शाही, अंगबहादुर शाही, चैते शाही र बलि कामीलगायतका रहेका छन् । उक्त गाउँमा केही दिनदेखि यता नियमित रुपमा तोडफोडका घटना वृद्धि भइरहेको स्थानीय मन्दिर सिंहले बताउनु भयो । यसो भइरहँदा देशमा राज्य नै छैनकी भन्ने आँकलन हुँदै गएको स्थानीय सिंहको भनाइ छ । 

त्यस्तै केही समयअघि मात्रै सोही गाउँका स्थानीय गोपी सिंह, दिपक सिंह, धनबहादुर शाही, लंकबहादुर शाही, विशाल सिँह र मन्दिर सिँहका घरहरू पनि तोडफोड गरिएको सिंहले बताउनुभयो ।

दैनिक दिन गाउँमा यसरी घर तोडफोड हुँदै जाने हो भने मानिसहरूको पनि अवस्था हे हुन सक्छ ? घटनामा संग्लन व्यक्तिहरूको खोजी कार्य समयमै हुनुपर्ने स्थानीय सिंहको भनाइ छ । उक्त विषयमा तथ्य के हो भन्ने कुरा आई नसकेकाले धारापोरी प्रहरीचौकीको टोली घटना स्थलतर्फ खटाएको इन्स्पेक्टर विष्णु श्रेष्ठले बताउनुभयो ।