काठमाडौँ, भदौ ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको मुख्य जिम्मेवारी निष्पक्ष निर्वाचन र संविधानको रक्षा भएको बताउनुभएको छ ।
पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो । जनेजी आन्दोलनपछि राजनीतिमा थप चुनौती थपिएको बताउनुहुँदै थापाले यस्तो आह्वान गर्नुभएको हो । थापाले सामाजिक सञ्जालमार्फत् पार्टीका नेता र कार्यकर्तालाई सात बुँदे आह्वान गर्नुभएको छ ।
थापाले भन्नुभएको छ, ‘आन्दोलनपश्चात आज जुन राजनीतिक परिस्थिति सिर्जना भएको छ, यो आजको वास्तविकता हो, यसलाई स्वीकार गरौं ।अन्तरिम सरकार गठन भैसकेको छ, निर्वाचनको मिति घोषणा भएको छ। एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकोले तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं, यसको निमित्त निर्वाचन गराउने जिम्मेवारी लिएर आएको सरकारलाई सहयोग गरौं। कही कतै यो मूल जिम्मेवारीबाट सरकार बिचलित भयो वा अलमलियो भने खवरदारी गरौं। भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गरेर संविधान र लोकतन्त्रलाई सही ट्याकमा ल्याउने आज को मुख्य राष्ट्रिय जिम्मेवारी बन्न पुगेको छ ।’