• १ असोज २०८२, बुधबार

सरसफाइ गरेर छिटो सेवा दिन निर्देशन

blog

क्षतिग्रस्त प्रदेश सभाको अनुगमन गरेर निस्कदै मुख्यमन्त्री कमलबहादुर शाह। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, भदौ ३१ गते। जेनजी आन्दोलनको क्रममा आगजनी भएका सरकारी कार्यालय सकेसम्म छिटो सरसफाइ गरेर जनतालाई सेवा दिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले कर्मचारीलाई निर्देशन दिनुभएको छ। 

क्षति भएका मन्त्रालय र सरकारी कार्यालयहरुको आज अनुगमन गर्दै उहाँले दुई÷चार दिनभित्रै सरसफाइ गरेर सेवा दिन कर्मचारीहरुलार्ई निर्देशन दिनु भएको हो। उहाँले यो विषम परिस्थितिमा सबै सरकारी कार्यालयहरुको सेवा छिटोभन्दा छिटो सञ्चालनका लागि आफ्नो संयन्त्रलाई यसअघि नै परिचालन गरेको उल्लेख गर्नुभयो। 

मुख्यमन्त्री शाहले धेरै कार्यालयमा सेवा प्रवाहको प्रक्रिया अगाडि बढिसकेको र सुरु हुन नसकेका थप सेवा सुचारु गर्ने सन्दर्भमा पनि कार्यालयहरुले तयारी गरिरहेका पाइएको बताउनुभयो। 

भदौ २३ र २४ गते घटेका घटनाबाट सबै विक्षिप्त रहेको जनाउँदै मुख्यमन्त्रीले कसैले नसोंचेको अकल्पनीय घटना घटेको बताउनुभयो। उहाँले मृतकका परिवारहरुप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। 

त्यस्तै, ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा एकजुट भएर अगाडि मुख्यमन्त्री शाहले सबैलाई आग्रह गर्नु भएको छ।