• ३१ भदौ २०८२, मङ्गलबार

शान्तिपूर्ण प्रदर्शन सुरु गर्दै थिए जेनजी

blog

काठमाडौँ, भदौ ३१ गते । जेनजी अर्थात् सन् १९९७–२०१२ को अवधिभित्र जन्मिएका पुस्ता । जेनजीलाई डिजिटल नेटिभ अर्थात् जन्मेदेखि नै इन्टरनेट र स्मार्ट फोनको सामञ्जस्यता पाएको पुस्ता पनि भनिन्छ । उनीहरूभन्दा अघि जन्मिएका जेन एक्स र वाइले कम्प्युटर र इन्टरनेट देखे र प्रयोग गरे तर जन्मेदेखि नै हातमा मोबाइल भने खेलाउन पाएनन् । हातमा खेलाउँदै आएको स्मार्टफोनमा सामाजिक सञ्जाल उनीहरूका साथी थिए । 

आफ्ना भौतिक साथीहरूसँग गफिने, समाजमा भइरहेका कामको विश्लेषण गर्ने, काम गर्ने, रमाउने, सुस्ताउने, पीडा पोख्ने माध्यम सामाजिक सञ्जाल नै थियो । उनीहरू सामाजिक सञ्जालमार्फत नै सबै क्षेत्रमा व्याप्त भ्रष्टाचारको अन्त्य हुनुपर्ने एक खालको डिजिटल अभियानमा सक्रिय थिए । त्यही मेसोमा सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने भन्दै तत्कालीन सरकारले बन्द गर्ने घोषणा गरेपछि जेनजी पुस्ता थप चिढिए । 

गत भदौ २० गते नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्न पत्र लेख्यो । निर्देशनको पालना गर्दै प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सूची प्रकाशित ग¥यो । सामाजिक सञ्जाल ठप्प भएपछि सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको अन्त्य हुनुपर्ने एजेन्डा अघि सारिएको जेनजीका नेतामध्येका एक निरज ढुङ्गानाले बताउनुभएको थियो । जेनजी पुस्ताका युवाले प्रदर्शनमा उत्रने घोषणा गरे । अनि भदौ २३ गते माइतीघरमा जम्मा भए । जेनजीमध्येका एक युवती जेनजीले प्रदर्शनमा के गर्ने र के नगर्ने भनेर बनाएको आचारसंहिता पढेर सुनाउनुभयो । 

उहाँले भन्नुभयो, “के गर्छौं भनेर राम्ररी थाहा छ तर के गर्दैनौँ भनेर चाहिँ यहाँ पढ्न चाहन्छु ।” उहाँले जेनजीको शान्तिपूर्ण आन्दोलनमा नगरिने बुँदागत रूपमा सहभागीमाझ माइकिङ गरेर सुनाउनुभयो । स्वस्फूर्त स्कुले विद्यार्थीसमेत सामेल जेनजीको उक्त भेलामा सुन्नेहरूले ‘होमा हो’ मिलाइरहे । 

“आज हामी रुखबिरुवा भाँच्दैनौँ । हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौँ । हामी होहल्ला, तोडफोड र आगजनी गर्दैनौँ  । हामी फोहोर गर्दैनौँ । हामी द्वन्द्व र आक्रमण गर्दैनौँ । शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौँ । हामी धम्की र गालीगलौज गर्दैनौँ, सभ्य र जिम्मेवार व्यवहार गर्छौं । हामी राजनीतिक दलको एजेन्डा बोकेर आउँदैनौँ, नागरिक अधिकार र स्वतन्त्रताका पक्षमा उभिन्छौँ । बुझ्नु भो सबै जनाले, हामी आज यी सब कुरा गर्दैनौँ र योबाहेक हामी सबै गर्छौं । आआफ्नो तरिकाले जसरी ‘प्रोटेस्ट’ गर्न मन लाग्छ, यी कुराबाहेक हामी गर्न सक्छौँ है त । किनभने हाम्रो पुस्ता जेनजी पुस्ता लिडर हो । यो माइक तपाईंहरूको हातमा पनि पर्न सक्छ । त्यस कारण हामी रेडी छौँ त ‘प्रोटेस्टका’ लागि रु” उहाँले अन्त्यमा भन्नुभयो, “वी आर रेडी।।।” सबैले हुटिङ गर्दै भन्छन्, “रेडी।।।।।”

अनि सुरु भयो जेनजीको बानेश्वर क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनी । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक मधुसुदन सुवेदीले आफ्नो लेखमा लेख्नुभए अनुसार जेनजीको प्रदर्शनीलाई राजनीतिक रङ दिने प्रयास भएको छ । जब कि जेनजीमा आउनेलाई विद्यालयको पोसाकमा परिचयपत्रसहित आउनु भनिएको थियो । मध्याह्नको करिब साढे १२ बजे काठमाडौँका प्रमुख जिल्ला अधिकारीले राति १० बजेसम्मका लागि नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुलीबजार पुलसम्म कफ्र्यु आदेश जारी गर्नुभयो । 

अनायासै कफ्र्यु जारी भएपछि अन्योल हुँदा विद्यार्थीहरू घरतिर जाने तरखर गर्दै थिए । थपिएकाहरूले हुलहुज्जत बढाएर संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलायो । अनि शान्तिपूर्ण प्रदर्शन हिंसात्मक आन्दोलनमा परिणत भएको सुवेदी औँल्याउनुहुन्छ । त्यही दिन विद्यार्थीसहित १९ जनाको मृत्यु भएपछि भोलिपल्ट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदा पनि हिंसा र आगजनी रोकिएन ।