साहारा लिम्बू
फुङलिङ, असोज १ गते । ताप्लेजुङमा करिब ४ वर्षको अवधिसम्म रक्तदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ । ताप्लेजुङमा नेपाल रेडक्रस सोसाइटीको शाखा स्थापना भएको ५० औँ वर्ष प्रवेश गरेको अवसरमा रक्तदातालाई सम्मान गरिएको हो ।
बुधबार स्थापना दिवसको अवसरमा जिल्लाका तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिरबाट आएर रक्तदान गरेका व्यक्तिलाई ताप्लेजुङ शाखाले खदा लगाई प्रशंसापत्रसहित सम्मान गरिएको ताप्लेजुङ शाखाले जनाएको छ ।
ताप्लेजुङमा ब्लड बैँक नहुँदा बिरामीलाई नेपाल रेडक्रस सोसाइटीले विभिन्न सरोकारवाला संस्थासँग समन्वय गरेर ब्लडको समूह मिल्ने व्यक्तिलाई सम्पर्क गरी रगत प्रदान गरिरहेको छ । बिरामीको ज्यान बचाउन स्वतःस्फुर्त रुपमा रक्तदान गरेर योगदान गर्ने सयौँ व्यक्तिलाई धन्यवादसहित सम्मान गरिएको ताप्लेजुङ शाखाका अध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार २०७९ सालसम्म रक्तदान गर्ने नागरिकलाई यसअघि नै सम्मान गरिएको छ ।
२०७९ सालदेखि यता करिब ४ वर्ष सम्मको अवधिमा रक्तदान गरेका नागरिकलाई आज दिवसको अवसरमा सम्मान गरिएको शाखाका मन्त्री विकास गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार रक्तदानमा अन्य व्यक्तिलाई पनि प्रोत्साहित गर्ने उद्देश्यले हालसम्म रक्तदान गरेका व्यक्तिलाई सम्मान गरिएको हो ।