ठाकुरप्रसाद आचार्य
म्याग्दी, असोज २ गते । जिल्ला हुलाक कार्यालय म्याग्दीले उत्कृष्ट चिट्ठीपत्र लेख्ने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । बिहीबार हुलाक कार्यालयमा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो । नयाँ पुस्तालाई हुलाक र चिट्ठीपत्रको महत्त्वका बारेमा सचेतना जगाउन हुलाक कार्यालयले माध्यमिक विद्यालयस्तरीय चिट्ठी पत्र लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यार्थीले क्रमशः सात हजार, चार हजार र दुई हजार पाँच सय रुपियाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पसको कक्षा १२ मा अध्ययनरत सीमा बुढामगर प्रथम, प्रकाश मावि बेनीमा कक्षा ९ मा अध्ययनरत एलिस्का खत्री द्वितीय र न्यु वेस्ट पोइन्ट आवासीय मावि कक्षा १२ की रियासा जिसी तृतीय हुनुभएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख थापा र नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम लगायतले नगद सहित प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा म्याग्दीका संस्थागत तथा सामुदायिक विद्यालयका १६ जना विद्यार्थीले सहभागिता जनाएको जिल्ला हुलाक कार्यालय म्याग्दीका प्रमुख थापाले बताउनुभयो ।
हुलाक सेवाका बारेमा सर्वसाधारणहरूमा सचेतना जागृत गराउँदै ‘हाम्रो हुलाकलाई राम्रो हुलाक कसरी बनाउन सकिन्छ’ शिर्षकमा चिट्ठीपत्र लेखन प्रतियोगिता गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्ला हुलाक कार्यालय, अतिरिक्त हुलाक कार्यालय तथा पालिका हुलाक कार्यालयबाट विद्यार्थीले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिट्ठी पठाएका थिए ।
आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीलाई हुलाक टिकट तथा चिट्ठीको महत्त्व बुझाउन, चिट्ठी लेखन सीप र सिर्जनशिलताको विकास गर्न प्रतियोगिताले सहयोग पुग्ने आशा गरिएको कार्यालय प्रमुख थापाले बताउनुभयो ।