• २ असोज २०८२, बिहिबार

दक्षिण कोरियामा पूर्व प्रथम महिलासम्बन्धी अनुसन्धानः युनिफिकेसन चर्च नेताविरुद्ध गिरफ्तारी वारेन्ट माग

blog

सियोल, असोज २ गते । दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले बिहीबार युनिफिकेसन चर्चकी नेत्री हाक जा हानविरुद्ध गिरफ्तारी वारेन्टको माग गरेका छन् । यो कदम जेलमा रहेका पूर्वराष्ट्रपति युन सुक येओलकी पत्नी किम केओन ही र एक सांसदलाई घुस दिएको आरोपबारे सोधपुछ भएको भोलिपल्ट आएको हो ।

हान चर्चका संस्थापक सन म्युङ मुनकी ८२ वर्षीया विधवा हुनुहुन्छ । उहाँले र चर्चले युनकी पत्नी किम र सांसद क्वोन सेओङ-डोङलाई घुस दिएको आरोप अस्वीकार गर्नु भएको छ । अदालतले सोमबार सुनुवाइ गरी गिरफ्तारी अनुमोदन गर्ने कि नगर्ने निर्णय गर्ने छ । किमलाई गत महिना घुसखोरी, स्टक हेरफेर र उम्मेद्वार चयनमा हस्तक्षेप गरेको अभियोगमा पक्राउ गरिएको थियो । उहाँका वकिलले आरोप अस्वीकार गरेका छन् । 

सांसद क्वोन पनि यसै हप्ता पक्राउ पर्नु भएको थियो । उहाँमाथि पार्टीको सन् २०२३ को नेतृत्व दौड अघि चर्चबाट समर्थन र पैसा लिएको शङ्का गरिएको छ । यो अनुसन्धान सियोलको नयाँ उदार सरकारले सुरु गरेको तीन विशेष अभियोजक जाँच मध्ये एक हो । अन्य जाँचमा युनको मार्सल लको योजना र सन् २०२३ को बाढी उद्धार अभियानमा मृतकको ढाकछोप सम्बन्धी आरोप समावेश छन् । 

युनले अल्पकालीन रूपमा मार्सल ल लागु गरेपछि उहाँको महाभियोग भयो र गत अप्रिलमा पदच्युत गरियो । चर्चले हानको गिरफ्तारी प्रयासको आलोचना गर्दै उहाँ उडान जोखिम नभएको, प्रमाण नष्ट गर्ने खतरा नरहेको र मुटु उपचारपछि पनि अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “स्पष्ट प्रमाण बिना अन्तर्राष्ट्रिय रूपमा सम्मानित धार्मिक नेत्रीविरुद्ध वारेन्ट माग गर्नु अत्यधिक कदम हो, जसले धार्मिक नेतालाई दिइने आधारभूत सम्मानलाई बेवास्ता गर्दछ ।”

अनुसन्धानकर्ताको दाबी अनुसार किमले कम्बोडियामा चर्चको विकास परियोजना सम्बन्धी विलासी उपहार स्वीकार गर्नु भएको थियो । त्यस्तै, एक चर्च अधिकारीमार्फत सांसद क्वोनलाई १० करोड वोन (करिब ७२ हजार चार सय डलर) घुस दिएको आरोप छ । हानलाई बुधबार करिब १० घण्टा सोधपुछ गरिएको थियो । उहाँ र चर्चले अधिकारीले अधिकारको दुरुपयोग गरेको बताएका छन् ।

हान चर्चको शीर्ष नेत्री हुनुहुन्छ । आधिकारिक रूपमा ‘विश्व शान्ति र एकीकरणका लागि परिवार महासङ्घ’ भनेर चिनिने यो चर्च सन म्युङ मुनले सन् १९५४ मा स्थापना गर्नु भएको थियो । आफूलाई मसीहा घोषणा गर्ने मुनले लाखौँ अनुयायी, विशाल व्यापारिक चासो र सामूहिक विवाहका लागि चर्चलाई विश्वभर परिचित बनाउनुभएको थियो । रासस/एपी