गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । सरकारले शीतलहर र हिमपातको जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समय यता बढ्दो चिसोसँगै शीतलहर र हिमपातले जनजीवन प्रभावित भएको भन्दै सुरक्षित रहन आग्रह गरेको हो ।
चिसोमा बालबालिका वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीहरु जोखिममा पर्ने भन्दै चिसोबाट बचाउन सरकारले आग्रह गरेको छ । चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यानो लुगा लगाउन सरकारको आग्रह छ ।
कोठा न्यानो पार्ने तर पर्याप्त हावा ओहोर दोहोर हुने व्यवस्था गर्न मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले आमाको दूध खाने बच्चालाई नियमित रूपमा स्तनपान गराउन आग्रह गरेको छ । तातो तथा पोसिलो झोल पदार्थहरू प्रशस्त मात्रामा सेवन गर्न र धुमपान तथा मद्यपान नगर्न आग्रह गरेको छ ।
स्वास्थ्यसम्बन्धी समस्याजस्तै ज्वरोआएमा, झाडापखाला लागेमा, दम बढेमा, खोकी लागेमा घ्यारघ्यार भएमा, श्वास फेर्न कठिनाइ भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । सुत्ने कोठामा आगो, हिटर, मकल कोइला, क्रिकेट बालेर झ्यालढोका बन्द गरेर सुत्दा निसासिएर मृत्यु हुने हुँदा त्यसो नगर्न मन्त्रालयको सुझाव छ ।