भवानीदत्त भट्ट
कञ्चनपुर, असार २० गते । कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । १५ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खडकाले बिहिवार कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्नुभयो । खोप अभियानलाई पूर्णता दिइनुपर्ने र खोपबाट कोही पनि बञ्चित हुन नपर्ने मन्त्री खड्काले बताउनुभयो ।
जिल्लामा २ सय २९ जना नियमित खोप लगाउन छुटेकालाई पनि खोप लगाएर जिल्लामा २३ हजार ९३ जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।
राष्ट्रिय खोप तालिकाअनुसार १६ देखि ५९ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका संयोजक दुर्गादत्त बोहराले बताउनुभयो ।
यस वर्ष जेठ २३ गते बेदकोट नगरपालिकाबाट पूर्ण खोप सुनिश्चितता घोषणा गरी लाललाझाँडी गाउँपालिका , पुर्नवास, दोधारा चादँनी नगरपालिका हुँदै असार ६ गते भीमदत्त नगरपालिकामा पुगी नौं वटै पालिका घोषणा सकिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकास जोशीले बताउनुभयो । जिल्लामा १ सय ६८ खोप केन्द्रबाट बालबालिकाहरुलाई खोप लगाइएको उहाँले बताउनुभयो ।
घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गर्नुभएको थियो ।
यस्तै, जिल्लालाई पूर्ण खोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै खोप समन्वय समितिले उत्कृष्ट ९ जना स्वाथ्य कर्मीहरुलाई सम्मान गरेको छ । जिल्लाका नां वटै पालिकाबाट उत्कृष्ट खोप कार्यकतालाई प्रसंशा पत्रसहित जनही पाँच हजारका दरले पुरस्कार प्रदान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार, स्वास्थ्यकर्मी गोमति कुवर धामी, माधवि साउद, डिलेश्वरि अवस्थी, देवकी अवस्थी, महेश तीवारी, बिनिता बोहरा, कल्पना थापा, सिता कुमारी राना र रुपा खत्रीलाई प्रमाणपत्र र नगदसहित सम्मानित गरिएको छ ।
यस वर्ष कञ्चनपुर सुदूरपश्चिममा तेस्रो पूर्ण खोप युक्त जिल्ला हो । सुदूरपश्चिम प्रदेशको डोटी र बाजुरालाई पूर्ण खोप घोषणा भएपछि कञ्चनपुरलाई पनि बिहिवार पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।