• १५ साउन २०८२, बिहिबार

वालिङका किसानलाई ३० लाख प्रोत्साहन अनुदान

blog

प्रोत्साहन कार्यक्रमबाट ५२ हजार प्राप्त गरेपछि कृषि कर्ममा रमाउँदै वालिङ ६ लालुपातेका रेशमलाल रेग्मी ।

हरि प्रसाद सुवेदी

पुतलीबजार, साउन १४ गते । वालिङ नगरपालिकाले नगरभित्र व्यवसायिक कृषि गर्दै आएका किसानलाई उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ । विभिन्न बाली खेती गर्दै आएका २३६ किसानलाई नगरपालिकाले गत आवको बजेट अन्तर्गत ३० लाख रुपियाँ बराबरको प्रोत्साहन अनुदान प्रदान गरेको हो ।

मुख्य बाली अन्तर्गत सुन्तला जातका फलफूल, तरकारी, मौरी, च्याउ, मसला बाली, रैथाने बाली, उखु र ड्रागन फ्रूट लगाएका किसानलाई प्रोत्साहन अनुदान वितरण गरिएको हो । 

उत्पादन, क्षेत्रफल तथा विक्री वितरणमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन कार्यविधि २०८१ को मापदण्ड अनुसार न्यूनतम ८ हजारदेखि एक लाखसम्म नगद वितरण गरिएको नगर उपप्रमुख कविता तिवारी गैरेले बताउनुभयो ।

कृषि क्षेत्रमा वालिङलाई आत्मनिर्भर बनाउने अभियानमा नगरपालिका लागेको बताउँदै तिवारी भन्नुहुन्छ,‘किसानलाई प्रोत्साहन गर्न बिना ब्याज बीउ पूँजी लगानी, प्रोत्साहन अनुदान लगायतका कार्यक्रम सञ्चालन गरेका छौँ । किसानले ढुक्कसँग उत्पादन गर्नुहोस् बजारको ग्यारेण्टी स्थानीय सरकारले गर्छ ।’

वालिङ नगरपालिकाले मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा बाख्रा पालन गर्ने किसानलाई विना धितो व्यवसाय प्रवद्र्धनमा लगानी र बजार ग्यारेन्टीको अभियान संचालन गरेको उपप्रमुख तिवारीले बताउनुभयो । 

उत्पादनशील अवस्थाका न्यूनतम ३० बोट सुन्तला जातका फलफूल र कफी लगाएका किसानलाई प्रति बोट ३ सय देखि ५ सय सम्म प्रोत्साहन अनुदान वितरण गरिएको छ । 

यस्तै न्यूनतम २ रोपनी क्षेत्रफलमा एकै प्रकारको तरकारी, मसला, उखु तथा रैथाने बाली लगाएका किसानलाई प्रति रोपनी कुल उत्पादन लागतको २० प्रतिशत सम्म प्रोत्साहन  अनुदान   प्रदान गरिएको कृषि शाखा प्रमुख सुभाष चन्द« अर्यालले बताउनुभयो । 

न्यूनतम ५० वटा मुढा वा परालको पोकामा  व्यवसायीक च्याउ खेति गरेका किसानलाई प्रति मुढा वा पोका बापत रु २ सय सम्म प्रोत्साहन अनुदान प्रदान गरिएको अर्यालको भनाइ छ ।

पछिल्लो समय अत्याधिक लोकप्रिय बन्दै गएको ड्रागन खेती गर्ने किसानलाई लक्षित गर्दै न्यूनतम ५० वटा पिल्लरमा ड्रागन फलाएका कृषकले प्रति पिल्लर २ सय अनुदान पाएका छन् । 

वालिङ–१ घरमपानीका कृषक कृष्ण ढुङ्गाना पछिल्लो ४ वर्ष देखि ड्रागन खेती गर्दै आइरहनुभएको छ । यस पटकको प्रोत्साहन अनुदान बापत नगद एक लाख रुपैया पाएपछि उहाँ निकै उत्साहित हुनुहुन्छ ।

‘नियमित उत्पादन भइरहे पनि पहिले यति ठूलो सहयोग पाइएन,‘ उहाँ भन्नुहुन्छ, ‘अब त अझै उत्साह थपिएको छ ।’ नगरपालिकाको यो कार्यक्रम  लागू भएसँगै वालिङ नगरभित्र व्यवसायीक तरकारी तथा फलफूल खेती गर्ने उद्यमीहरुको संख्या पनि बढेको छ । ६ महिनामा मात्र १ लाख ३३ हजार ७ सय ७७ केजी तरकारी त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारी संस्थामा संकलन भएको छ । 

४० वर्ष यता कै ठूलो परिणाम तरकारी आएको सहकारीका अध्यक्ष अर्जुन प्रकाश अर्यालले बताउनुभयो । वालिङ नगरपालिकाको प्रोत्साहन अनुदान कार्यक्रम बापत सहकारीले ६ लाख ६८ हजार ८ सय ८५ प्राप्त गरेको अर्यालको भनाई छ । 

नगरपालिकाको यो पहलले स्थानीय किसानमा थप लगानी गर्न हौसला मिलेको छ । कृषकहरूको यस्ता कार्यक्रमले उत्पादन बढाउनुका साथै बजारको विश्वस्तता पनि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नगरपालिकाको यो पहलले किसानमा उत्साह थपेको र स्थानीय उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।