ग्वाटेमाला सिटी, साउन १४ गते । ग्वाटेमाला सहरस्थित एक शवदाह गृहमा मङ्गलबार भएको सशस्त्र आक्रमणमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले आक्रमणकारी मलामी गएका स्थानीयसँग उक्त स्थानमा आपराधिक गतिविधि गर्दै आएको एक गिरोह मारासाल्भा ट्रुचा (एमएस)-१३ सँग जोडिएको बताएका छन् ।
व्यारियो-१८ र मारा साल्वाट्रुचा (एमएस-१३) गिरोहहरू बिचको विवाद हिंसात्मक बनेपछि यो घटना भएको हुनसक्ने ग्वाटेमालाका आन्तरिक मन्त्री फ्रान्सिस्को जिमेनेजले बताउनुभएको छ । जिमेनेजका अनुसार राजधानीको अर्को भागमा सोमबार एक व्यक्तिको हत्या भएपछि सशस्त्र व्यक्तिहरूले शव दाहगृहमा आक्रमण गरेका थिए ।
मारा साल्वाट्रुचाका प्रतिद्वन्द्वी गिरोहका सदस्यहरूले शवदाहगृहमा आक्रमण गरे र मृतकको परिवार र साथीहरू माथी गोली हानेको जानकारी प्राप्त भएको उहाँले बताउनुभएको छ । ग्वाटेमाला सहर नगरपालिकाको प्रवक्ता अमिलकार मोन्टेजोले बन्दुकधारीहरूले अन्त्येष्टि गृहभित्र गोली चलाउदा ‘सात जनाको मृत्यु र १३ जना घाइते’ भएको पुष्टि गर्नु भएको छ ।
गोली प्रहार भएको स्थानबाट केही मिटरको दुरीमा थप घाइतेहरू फेला परेकोसमेत उहाँले बताउनुभयो । मोटरसाइकलमा आएका आक्रमणकारीहरू घटनापछि घटनास्थलबाट भागेका थिए । रासस/एएफपी