अविनाश चौधरी
धनगढी, असार २० गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आवश्यकता नभएको ठाउँमा विनियोजित बजेट कार्यान्वयन नहुने बताउनुभएको छ ।
नेपाल वन प्राविधिक संघ सुदूरपश्चिम प्रदेश कमिटीको आज धनगढीमा भएको सपथ ग्रहण कार्यक्रममा बोल्नुहुँदै उहाँले आवश्यकता नभएको ठाउँमा विनियोजित बजेट कार्यान्वयन नहुने बताउनुभएको हो ।
बजेट निर्माणको क्रममा जे जति टिकाटिप्पणी भए पनि बजेट छानविन र कार्यान्वयनको जिम्मेवारी अब कर्मचारीका रहेको मुख्यमन्त्रीको भनाइ थियो । उहाँले सुधार गर्ने, विधि र विधान पूरा गर्ने दायित्व कर्मचारीको काँधमा रहेको उल्लेख गर्दै नियतवश गल्ती गर्ने छुट कसैलाई पनि नरहेको बताउनुभयो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको क्षेत्र र जिम्मेवारी ठुलो रहेको भन्दै मुख्यमन्त्री शाहले यो मन्त्रालयबाट सही सन्देश दिन नसकेमा कहिँ पनि पुग्न नसकिने जिकिर गर्नुभयो ।
मन्त्रीसँग काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पद्बाट बर्खास्त गर्नुभएको थियो । मन्त्रीलाई पद्मुक्त गरेर मन्त्रालयको जिम्मेवारी उहाँले आफैले लिनुभएको छ ।