जीवछ यादव
लहान, असार २० गते । असारको पहिलो हप्तादेखि सुरु भएको धान रोपाइँको समयमा प्रयोग गरिने डिएपी मलको अभाव रहेको कृषि सामग्री कम्पनी लिमिटेड लहानले जनाएको छ । युरिया र पोटास प्रर्याप्त भएपनि डिएपी मलको माग बढिरहेकोले आवश्यक्ता अनुसारको मल उपलब्ध रहेको छैन ।
रोपाइँको समयमा पाँच हजार मेट्रिक टन डिएपी मलको आवश्यकता रहेकोमा अहिलेसम्म ८२५ मेट्रिक टन डिएपी मल मात्रै आइपुगेको प्रबन्धक दिपक पौडेलले जानकारी दिनुभयो । ‘सिरहा जिल्लाको दक्षिणी भेगमा मोटरबाट सिँचाइ गरेर तीव्र गतिमा रोपाइँ सुरु भएको छ ।
गत वर्ष तीन पटक मल वितरण गरेको थियो । यस वर्ष एक पटक मात्रै मल वितरण गरिएको छ । साउनको पहिलो हप्तामा डिएपी मल आएन भने कार्यालयमा बस्नै नसकिने गरी दबाब सृजना हुनेछ’, प्रबन्धक पौडेलले प्रष्टयाउनुभयो ।
सिराहा जिल्लाको १२५ वटा कृषि सहकारीबाट वितरण हुने मलको लागि सहकारी सञ्चालकहरुले डिएपी मल कहिले आउने सोधेर हैरान पारिसकेको उहाँले भन्दै साउनको पहिलो हप्ता मल आपूर्तिको लागि माथिल्लो निकायमा निरन्तर सम्पर्क गरिरहेको बताउनुभयो ।
डिएपी मलको अभाव किन भएको जिज्ञासामा प्रबन्धक पौडेलले भन्नुभयो, ‘डिएपी मलको अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेको कारण ग्लोबल टेण्डर लिएर घाटा लाग्छ भनेर मल ल्याउन नचाहेको अवस्था छ । यस्तो अवस्थामा कृषि मन्त्रालयले अन्य वैकल्पिक माध्यमबाट मल ल्याउन आवश्यक छ ।’
कृषि सामग्री कम्पनी लिमिटेड लहान मलको लागि आइपुग्नुभएकी लहान–२० समाधान कृषि सहकारीका अध्यक्ष गिरिजा यादवले पहिलो पटक दिएको ८० बोरा डिएपी मल कसरी वितरण गरिने समस्या भएकोले थप मलको लागि पटकपटक कार्यालय धाए पनि मल पाउन नसकेको गुनासो सुनाउनुभयो । सबेरै रोपाइँ गरे गहुँ, तोरी र तरकारी बालीको लागि पनि उपयुक्त हुने भएकोले करार ठेक्का र बटैया लिएका किसानहरुले समयमा धानमा मल हाल्न नपाए घाटा लाग्ने समस्या देखिएको नेपाल राष्ट्रिय कृषक समूहका सिराहा अध्यक्ष प्रदीप सिंह दुनुवारले बताउनुभयो ।