भक्तिविवलास पोखरेल
गाईघाट, असार २० गते । नेपाली सेनाको आयोजनामा उदयपुरको बेलकामा सञ्चालन गरिएको एक दिवसीय स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी चारसयभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । बेलका नगरपालिका–२ बानडाडाँमा बिहीबार सञ्चालित स्वास्थ्य शिविरमा चार सय २२ जना स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् ।
गाइघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरुलाई विशेषज्ञ सेवा प्रदान गर्नुको साथै विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य चिकित्सासम्बन्धी सेवा प्रदान गरिएको सो व्यारेकका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्लेले बताउनुभयो ।
शिविरमा नेपाल नेत्रज्योति सङ्घको प्राविधिक सहयोगमा सञ्चालित आँखासम्बन्धी रोगमा पुरुष ७२ र महिला ८१ जना गरी एक सय ५३ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । जसमा ३८ लाई अन्यत्र रेफर गरिएको छ ।
यसैगरी, गाईघाटस्थित दिपेश हेल्थ केयर गाईघाटको प्राविधिक सहयोगमा रेडियोलोजी सेवा सञ्चालन गरिएकोमा ५० जनाले स्वास्य परीक्षणको सेवा लिनुभएको छ ।
प्रमुख सेनानी वाग्लेका अनुसार यसबाहेक नेपाली सेनाको चिकित्सकहरुले गरेको जेनेरल स्वास्थ्य परीक्षणमा पुरुष ९९ र महिला एक सय २० गरी थप दुई सय १९ स्थानीय जनतालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । उक्त स्वास्थ्य शिविरमा श्री नं. १८ फिए गुल्मका प्राविधिक सह–सेनानी डा.शङ्करदयाल शाहको नेतृत्वमा चिकित्सकको टोलीले सेवा प्रदान गरेको हो ।
नेपाली सेना श्री नम्बर १८ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी गौरव गुरुङ, पशुपतिप्रसाद गणका गणपति प्रमुख सेनानी शिवप्रसाद वाग्ले, बेलका नगरप्रमुख अशोक कार्की शिविरको उद्घाटनका अवसरमा सहभागी हुनुभएको थियो । शिविरले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्नुका साथै नेपाली सेनाकोे नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको नेपाली सेनाले जनाएको छ ।