शेरबहादुर सार्की
बाजुरा, साउन १५ गते । स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ ।
यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन् । असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब बारीमा स्याउ पाक्ने बेला भयो । गाउँमा बजार छैन । स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ ।” समयमै यो सडक सुचारु भएन भने विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताउनुभयो ।
हिमाली १८, स्वामिकार्तिक ३५, जगनाथमा ४५, बुढीनन्दामा ५०, खप्तड छेडेदहमा–१, बुढीगङ्गा नगरपालिका–१ गरी एक सय पचास परिवारले स्याउ खेती गर्दैआएका छन् । यता गौमुल गाउँपालिकामा एक समूहमार्फत स्याउ खेती सुरु गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा यहाँ एक हजार छ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।
झण्डै पाँच सय पन्ध्र क्विन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए । बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ चार सय दस हेक्टर जमिनमा स्याउ रोपिएको छ ।
त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो । यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जेभी प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् ।
मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेभी प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।
मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पिच भएको छैन् । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ ।
मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् । जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताउनुभयो ।