नेपालको एकीकरण तथा रक्षा इतिहासमा अमरसिंह थापाको नाम स्वर्ण अक्षरले लेखिएको छ । उनी केवल सैनिक अभियन्ता मात्र नभई एक निष्ठावान देशभक्त, धार्मिक व्यक्तित्व तथा कुशल प्रशासकसमेत थिए । राष्ट्रिय गौरवका प्रतीक अमरसिंह नेपाली सेनाका महान् सेनानीहरूमा अग्रस्थानमा पर्छन् । नेपाल सरकारले सन् १९५५ मा उनलाई ‘राष्ट्रिय विभूति’ को उपाधिबाट सम्मानित गरेको थियो । अमरसिंहको जन्म विसं १८०८ (सन् १७५१) मा भएको थियो । उनका पिताको नाम भीमसिंह थापा थियो । जो एक बहादुर गोरखा सेनानी थिए । परिवारमा सैनिक परम्परा रहेकाले अमरसिंह सानैदेखि वीरता, अनुशासन र देशभक्तिमा हुर्किए । अमरसिंहले आफ्नो सैनिक जीवन १८२१ सालदेखि सुरु गरे । पृथ्वीनारायण शाहको पालाबाट सुरु भएको एकीकरण अभियानका उत्तराधिकारमा उनी सहभागी भए । विशेष रूपमा उनले पश्चिम नेपाल (कुमाउँ, गढवाल, दार्चुला) तर्फको अभियानमा नेतृत्व प्रदान गरे । काठमाडौँ उपत्यकाको सुरक्षा सुनिश्चित गर्न गोरखाका सिपाहीलाई सुसङ्गठित गर्न र लडाइँ रणनीतिमा नवीन प्रयोग गर्न अमरसिंहले ख्याति प्राप्त गरेका थिए ।
राष्ट्रिय विभूति अमरसिंहको नेपाल एकीकरण अभियानको क्रममा बाइसे र चौबिसे राज्यहरूसँग लडिएको युद्धहरूमा प्रयोग भएका रणनीति, कूटनीति, धार्मिक सहिष्णुता र भूराजनीतिक महìवको विशेष प्रकारको थियो । १७ औँ र १८ औँ शताब्दीको अवधिमा नेपालको पश्चिम भूभाग विभिन्न स्वतन्त्र रजौटा बाइसे (२२ राज्य) र चौबिसे (२४ राज्य) मा विभाजित थिए । यिनको आपसी शत्रुता र अस्थिरता नेपाल अधिराज्य विस्तारका लागि अनुकूल अवसर बन्यो । गोरखाली सेनापतिमध्ये अमरसिंह यस्तो व्यक्ति थिए, जसले नेपालको पश्चिमी सीमा विस्तारमा अभूतपूर्व योगदान दिएका थिए । बाइसे राज्यहरू जसमा डोटी, बझाङ, बझुरा, जाजरकोट, डार्मा, चौरजहारी, रुकुम आदि समावेश थिए, कर्णाली क्षेत्रतर्फ विस्तार भएका थिए । चौबिसे राज्यहरू–पाल्पा, बागलुङ, गुल्मी, अर्घाखाँची, तनहुँ, रामेछाप, स्याङ्जा आदि गण्डकी क्षेत्रमा अवस्थित थिए । यी राज्यहरू आपसी घृणा र लडाइँमा अल्झिएका थिए, जसले गर्दा गोरखाली सैन्य विस्तार सहज बन्दै गयो (रेग्मी, १९७५) । पाल्पा राज्य चौबिसेमध्ये बलियो राज्य मानिन्थ्यो । यहाँका राजा पृथीपाल सेनले गोरखासँग सुरुदेखि नै टक्कर दिँदै आएका थिए । अमरसिंहको नेतृत्वमा गोरखा सेनाले पाल्पालाई सैनिक घेरामा पार्दै खाद्य आपूर्ति रोकेर कमजोर पार्ने नीति अपनायो । यसबाट पाल्पा गोरखाको नियन्त्रणमा आयो ।
अमरसिंहको युद्ध नीति केवल हातहतियारमा नभई मनोवैज्ञानिक दबाबमा पनि आधारित थियो । यी राज्यलाई जित्न अमरसिंहले घेराबन्दी रणनीति अपनाएका थिए । स्थानीय भूपू राजा तथा धार्मिक अगुवासँग सम्पर्क गरेर केही राज्यबिना युद्ध आत्मसमर्पण गर्न बाध्य भए । थापाले केही राज्यलाई शान्तिपूर्ण ढङ्गले गाभ्ने कार्यमा धार्मिक सौहार्द र नातागोता प्रयोग गरेका थिए । डोटी र जुम्ला जस्ता बाइसे राज्यहरू सामरिक दृष्टिले निकै बलिया थिए । अमरसिंहले लामो तयारीपछि डोटीमा आक्रमण गरे । जुम्लाको राजा गोरखाली विस्तारको कट्टर विरोधी थियो । अमरसिंहले कठिन हिमाली भूभाग पार गर्दै जुम्लामा आक्रमण गरेर अन्ततः विजयी भए । जुम्ला युद्ध गोरखाली इतिहासकै एक कठिन युद्ध थियो, जहाँ अमरसिंहको सेनाले हिमाल चिर्दै विजय हासिल ग¥यो । अमरसिंहले पर्वतीय भूगोललाई उपयोग गरेर घेराबन्दी र आक्रमणको रणनीति विकास गरे ।
अमरसिंहले भूगोललाई नै हातहतियार बनाएका थिए । अमरसिंहले युद्ध जितेपछि तटस्थ गढी निर्माण गरेर स्थायित्व कायम गर्थे । उदाहरणका लागि सल्यान र दुल्लु गढीहरू । गढी निर्माणमार्फत उनले युद्धपछिको प्रशासनिक नियन्त्रण कायम गरे । अमरसिंहले युद्ध मात्रै होइन, धर्मको संरक्षण र राजनीतिक सन्धिमार्फत पनि राज्यहरू जिते । उनले आक्रमणपछि धार्मिक स्थलको संरक्षण गरे जसले जनताको मन जित्न सहयोग पु¥यायो । गोरखालीहरूले धार्मिक सहिष्णुता देखाएर राज्यहरू आत्मसमर्पण गराउँथे । राष्ट्रिय विभूति अमरसिंहले बाइसे–चौबिसे राज्यहरूसँगको युद्धमा विशिष्ट सैन्य नेतृत्व देखाएर नेपालको पश्चिमी भूभागलाई एकीकरणमा ल्याउन सफलता प्राप्त गरेका थिए । युद्धमा उनको रणनीति, भूगोलको प्रयोग, कूटनीति र धार्मिक सहिष्णुताले उनलाई नेपाली इतिहासको एक महत्वपूर्ण पात्र बनाएको छ ।
राष्ट्रिय विभूति अमरसिंह नेपाल एकीकरण अभियानका एक प्रमुख सैन्य नेतृत्वकर्ता थिए । उनले गोरखाली सेनालाई पश्चिमदेखि पूर्वसम्म मात्र नभई उत्तरतर्फ विशेषतः भोटसँगको द्वन्द्वमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । १७८८ र १७९१ को बिचमा नेपालले दुई पटक भोटसँग युद्ध लड्यो, जसमा दोस्रो युद्ध अत्यन्त महत्वपूर्ण रह्यो । दोस्रो युद्धमा अमरसिंहले नुवाकोट, रसुवा, क्युङ्गा आदि क्षेत्र हुँदै भोटको भूभाग प्रवेश गरेर गोरखा सेनाको नेतृत्व गरे । उनले भोटको शिगात्सेसम्म आक्रमण गरे र लामाहरूको सम्पत्तिसमेत नियन्त्रणमा लिए । तिब्बतका लामा तथा मञ्चेनले चिनियाँ सम्राट (छिङ वंश) सँग सहयोग मागेपछि चीनले हस्तक्षेप गरी नेपालमाथि आक्रमण ग¥यो । यसबाट नेपाल–चीन युद्ध सुरु भयो, जसको सन्दर्भमा अमरसिंह रणनीतिक सेनापतिको रूपमा परिचित भए । ‘अमरसिंह थापाले गोरखा सेनालाई ल्हासाको सीमासम्म पु¥याए तर रणनीतिका साथ पछि हट्नु प¥यो । गोरखा सेनाले दिगार्चा (भोटको धार्मिक तथा प्रशासनिक केन्द्र) मा हमला गरेपछि धेरै भोटाली धर्मगुरु र तिब्बती सेनाले आत्मसमर्पण गरे । अमरसिंहको नेतृत्वमा कब्जा गरिएको सम्पत्तिलाई नेपालमा ल्याइयो । यिनले ल्हासा नजिकसम्म गएका थिए । भोट प्रवेश गरी अमरसिंहले शिगात्सेसम्म नेपाली सेना पु¥याएका थिए । चीनसँग युद्ध चर्किंदा अमरसिंहले उत्तरी लडाकु सीमा नाघ्नबाट जोगाउने प्रयास गरे । उनले सेनालाई रणनीतिक रूपमा नुवाकोट, रसुवा र वैकल्पिक मार्गबाट खटाए । अमरसिंहले तिब्बत युद्धमा प्रत्यक्ष आक्रमणसँगै व्यावसायिक लाभमा पनि ध्यान दिएका थिए । युद्धको अन्त्यमा बेतालिगढी सन्धि (१७९२) मार्फत नेपाल र चीनबिच सहमति भयो जस अनुसार नेपालले हामी सुई (छिङ वंश) को अधीन मान्दै दोवार्षिक चिनारी पठाउने सन्धिमा हस्ताक्षर ग¥यो । सन्धिपछि अमरसिंहको सैन्य क्षमता अझै प्रतिष्ठित बन्यो । नेपालको अन्तर्राष्ट्रिय स्थिति बलियो बन्यो । अमरसिंहको साहसी युद्धले नेपाललाई एक सशक्त हिमाली शक्ति भनेर चिनायो । भोट र चीनले नेपालसँग भविष्यमा प्रत्यक्ष युद्ध टार्न थाले । सीमाक्षेत्र सुरक्षित बन्यो । रसुवा, नुवाकोट र स्याफ्रुबेसी जस्ता उत्तर क्षेत्रहरू सुरक्षित गर्न अमरसिंहले स्थानीय गढीहरू निर्माण गराए । यसले तिब्बती लस्करलाई बारम्बार आक्रमण गर्न रोक्यो ।
भोट युद्धपछि नेपालले तिब्बतसँगको व्यापार र कूटनीतिक सम्बन्ध पुनर्निर्माण गर्न सकेको थियो । अमरसिंहको रणनीति र नेतृत्व दृष्टान्त बन्यो । उनको रणनीतिक क्षमता, युद्धक्षमता तथा फिर्ती नीतिले गोरखा सेनामा अनुशासन र विश्वसनीयता थपियो । अमरसिंहले नेपालको उत्तर सीमासम्म फैलिएको युद्धमा असाधारण साहस र रणनीतिक नेतृत्व देखाएका थिए । उनको योगदानले न केवल सैन्य विजय ल्यायो, नेपाललाई एक हिमाली राष्ट्रको रूपमा चिनाउने कार्यमा पनि महत्वपूर्ण योगदान पु¥यायो । भोट युद्धको सन्दर्भमा अमरसिंहको नाम सँधै सम्मानका साथ स्मरण गरिन्छ ।
त्यस्तै अमरसिंहको सैन्य एवं कूटनीतिक रणनीतिद्वारा भारतका क्षेत्रहरूलाई बृहत् नेपालमा समावेश गर्ने अभियान ऐतिहासिक पुनरवलोकन गर्दा राष्ट्रनिर्माणको अभियानमा पृथ्वीनारायण शाहबाट प्रारम्भ भएको गोरखाली विस्तारवाद पश्चिमा मोर्चासम्म फैलिएपछि धेरै क्षेत्र गोरखा अधीनस्थ भए । यस अभियानका सशक्त पात्रका रूपमा राष्ट्रभक्त सेनापति अमरसिंह थापा उदाए । उनले आफ्नो जीवनको अधिकांश समय पश्चिमी क्षेत्रहरू (आजको उत्तराखण्ड र हिमाञ्चल प्रदेश) लाई नेपाल अधीनस्थ बनाउने अभियानमा बिताए । यस क्रममा भारतको कुमाउँ, गढवाल, देहरादून, टिहरी, नाहन, सहारनपुर, सतलज आसपासका भूभागमा उनी सफल भए ।
विसं १८६५ (सन् १८०८) तिर अमरसिंहले गोरखाली फौज लिएर गढवाल राज्यमाथि आक्रमण गरे । स्थानीय राजा प्रद्युम्न शाह पराजित भए । यस विजयपछि गढवाल, देहरादून र आसपासका क्षेत्र नेपालमा गाभिए । त्यस्तै देहरादून क्षेत्रलाई थापाले गोरखा राज्यको प्रमुख कृषि, व्यापारिक र सैनिक केन्द्र बनाएका थिए । देहरादूनको हरिद्वार, सहारनपुर हुँदै ब्रिटिश व्यापारिक मार्गलाई नियन्त्रण गर्ने रणनीति अत्यन्त प्रभावकारी थियो । अमरसिंहले पश्चिममा सतलज नदीसम्म फौज पु¥याएर टिहरी गढवाल, नाहन, सिरमौरलगायतका क्षेत्रलाई नेपालमा गाभे । यसले नेपाललाई हिमालयको विशाल भूभागको अधिपति बनायो ।
युद्ध रणनीतिमा किल्ला रणनीतिमा अमरसिंहले हरेक मुख्य विन्दुमा किल्ला निर्माण गरेर त्यसको माध्यमबाट सेना परिचालन गरे । गढचौकी, नालापानी, श्रीनगर, चम्पावत, काला पहाड, जौनसारका किल्ला उल्लेखनीय छन् । त्यस्तै स्थानीय राजा वा जमिनदारसँग सहकार्य गरेर केहीलाई संरक्षणदाताको रूपमा राखी रणनीतिक समझदारी विकास गरे । यसले कम रक्तपातमा विजय सम्भव बनायो । भूराजनीतिक नियन्त्रणमा अमरसिंहले व्यापारिक मार्गहरू (हरिद्वार–देहरादून, सहारनपुर–पौडी) नियन्त्रणमा लिएर ब्रिटिस कम्पनीलाई दबाबमा राख्ने रणनीति अपनाए । यो आर्थिक युद्धनीतिको उत्कृष्ट उदाहरण हो । कूटनीतिक चालहरूमा उनले स्थानीय धर्मगुरु र पुरोहितसँग सम्बन्ध विस्तार गरेर गढवालका पण्डित, धर्मगुरु तथा तीर्थस्थानका प्रमुखसँग सहकार्य गरी जनसमर्थन सुनिश्चित गरे । उनले स्थानीय मन्दिरको संरक्षणमा ध्यान दिए । सामाजिक र प्रशासनिक सहिष्णुता देखाउँदै विजित क्षेत्रमा उनीहरूले गोरखाली शासन थोपरे पनि स्थानीय परम्परा र धर्मलाई सम्मान दिए । उनले सन्धि र समझदारीका आधारमा शासन गरे ।
अमरसिंह केवल युद्ध जित्ने सेनापति थिएनन्, उनी युद्ध र कूटनीतिका कुशल सङ्गम थिए । भारतका उत्तराखण्ड, हिमाञ्चल र उत्तरप्रदेशका दर्जनौँ भूभागलाई उनी बृहत् नेपालको एक अविभाज्य हिस्सा बनाउन सफल भए । उनीद्वारा अपनाइएका सैन्य योजना, कूटनीतिक व्यवहार र सहिष्णुताले नेपाली इतिहासमा गौरवपूर्ण अध्याय थपेका छन् ।