• १७ साउन २०८२, शनिबार

कोदो खेतीमा किसानको चासो घट्दो

blog

वराहक्षेत्रको सूर्य कुण्ड क्षेत्रमा किसान कोदो रोप्दै । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की
वराहक्षेत्र, साउन १६ गते ।
रैथाने बालीअन्तर्गत पर्ने कोदो बालि लगाउने कृषक नहुँदा सुनसरीमा कोदो खेती हराउदै गएको छ । मानव स्वास्थ्यका लागि पोसिलो तथा औषधीय गुणयुक्त कोदो खेती गर्ने कृषक नहुँदा कोदो खेती हराउँदै गएको हो ।

कोदो बालिमा भन्दा अन्य बालिमा किसानको आर्कषण बढदा जिल्लाको उत्तरी क्षेत्र वराहक्षेत्र नगरको सूर्य कुण्ड र धरनको विष्णु पादुका क्षेत्रमा लगाउने कोदो खेतीको क्षेत्रफल किसानले घटाउदै लगेको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । अरु बालीभन्दा कोदो खेती झन्झटिलो हुने र कम उत्पादन हुने बाली भएकाले किसानको आर्कषण कोदो खेतीमा घट्दै गएको छ ।

सुनसरी जिल्लामा ४६५ हेक्टरमा मात्रै कोदो खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ । पहिलाभन्दा सुनसरीमा कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको बताइएको छ ।

कोशी प्रदेशमै कोदो खेतीको क्षेत्रफल घट्दै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका वरिष्ठ वागवानी विकास अधिकृत टोनी बर्देवाले बताउनुभयो । उहाँका अनुसार कोशी प्रदेशमा गएको आर्थिक वर्ष २०८०/०८१ मा ५७ हजार ३५७ दशमलव ०३ हेक्टर क्षेत्रफलमा कोदो उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ५७ हजार २७४ दशमलव ०३ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ । क्षेत्रफल घटेसँगै कोदो उत्पादनमा समेत कमी आएको अधिकृत बर्देवाले बताउनुभयो । आर्थिक वर्ष २०८०/०८१ मा ८७ हजार ३४३ दशमलव ६० मेक्ट्रिक टन र उत्पादनकत्व १ दशमलव ५२ मेक्ट्रिक टन प्रतिहेक्टर उत्पादन हुँदै आएको प्रदेशमा आर्थिक वर्ष २०८१/०८२ मा ८५ हजार ९७२ दशमलव ४८ मेक्ट्रिक टन उत्पादन भएको छ भने उत्पादकत्व घटेर १ दशमलव ५ प्रतिहेक्टर मेक्ट्रिक टन रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । “कोशी प्रदेशमै ० दशमलव १४ प्रतिशतले कोदो खेती हुने क्षेत्रफल घटेसँगै उत्पादनसमेत माइनस १ दशमलव ५७ प्रतिशतले घटेको छ” अधिकृत बर्देवाले भन्नुभयो ।

प्रदेशमै धेरै कोदो खेती उत्पादन हुने क्षेत्रमा खोटाङगमा गत आर्थिक वर्षमा १३ हजार ३३२ हेक्टर क्षेत्रफलमा कोदो खेती भएकोमा उत्पादन २१ हजार ९९७ मेक्ट्रिक टन उत्पादन भएको थियो । कोशी प्रदेश कृषि विकास निर्देशनालयको तथ्याङकअनुसार ओखलढुङगामा ७ हजार ७५१ हेक्टर क्षेत्रफलमा खेती लगाएइकोमा १३ हजार १७८ मेक्ट्रिक टन उत्पादन भएको छ । कोदो हुने क्षेत्रमा ताप्लेजुङ, इलाम पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, मोरङमा खेती हुने गरेको छ ।

कृषकहरुले काभ्रे कोदो १, डल्ले, नङ्कटुवा जातका स्थानीय कोदो लगाउदै आएका छन् । कोदो उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्न कृषि ज्ञानकेन्द्र र कृषि विकास निर्देशनालयले उन्नत प्रविधि प्रदर्शन लगायतका कार्यहरु गरेपनि कोदोको उत्पादन भने बढ्न सकेको छैन ।

वराहक्षेत्र १ का कृषक अर्जु कुलुङ्ग भन्नुहुन्छ, “कोदो खेतीबाट अन्य बालीजस्तो फाइदा नहुने र बादरले लगाएको बाली समेत खाएर नष्ट गर्ने भएकाले कृषकको आकर्षण कोदो बालीमा घटेको छ । किसानले कोदो खेतीको क्षेत्रफल घटाउदै लगेका छन् भने धेरैले त कोदो खेती नै लगाउन छोडेका छन् ।”

कोदोबाट बन्ने परिकारका ब्राण्डिङ गरे किसानको आकर्षण कोदो खेतीतर्फ बढ्ने भोजपुरका कृषक भानुभक्त कोइरालाको भनाई छ । खाद्य सुरक्षा, पोषणदेखि स्वास्थ्य जीवनयापनका लागि आवश्यक कार्बाेहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले कोदो खेतीलाई बढाउन ब्राण्डिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

कुनै बेला खाद्यान्नको प्रमुख बालीमा पर्ने कोदो हाल कोशी प्रदेशमै कम उत्पादन हुने बालीमा पर्ने गरेको छ । कोदोको परिकारको माग पछिल्लो समय बढ्दै गएपनि कोदो खेती नहुँदा मागअनुसारको उत्पादन हुन सकेको छैन । रैथाने बालीको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि पनि कार्यक्रमहरू राखेर किसान लार्ई थप आकर्षण गर्नु पर्ने किसानहरु बताउछन् ।

झुपडीदेखि नाम चलेका होटलसम्म रैथाने बालीको परिकार खाने पारखीहरू भए पनि उन्नत जातको बिउँ विजनसँगै रैथाने बाली लोप हुँदै गएका छन् । नेपालमा पछिल्लो समय विभिन्न नयाँ बालीहरूको जातको विकास र विस्तारले कोदो खेतीको व्यावसायिकरणभन्दा आयातित बालीको खेतीमा जोड दिएसँगै कोदो बाली किसानहरु बाट टाढा हुँदै गएको छ ।