रङ्गेली समाचारदाता
विराटनगर, साउन १६ गते । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सात वर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एक हजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् ।
जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन सबइन्जिनियर ओम शर्माका अनुसार सङ्घीय सरकारको क्रमागत योजना अन्तर्गत कोशी प्रदेश सरकारलाई हस्तान्तरण भएका र प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत घर निर्माण हुँदै आएका छन् । प्रदेश सरकारले जनता आवास कार्यक्रम अब जिल्लास्थित पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको छ । कोशीका १४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना गरेसँगै जनता आवास कार्यक्रम जिल्लागत हेर्ने गरी राखिएको हो ।
सबइन्जिनियर शर्माका अनुसार सङ्घीय सरकारसँगै प्रदेश सरकारले समेत यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोशी प्रदेश सरकार स्थापना भएपछि मोरङमा ७५, सुनसरीमा ७६ र उदयपुरमा ४० वटा घर निर्माण भएका छन् । सङ्घका क्रमागत र प्रदेश सरकारको कार्यव्रmम अन्तर्गत सबै घर भने लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । मोरङमा ७१ र सुनसरीमा ३७ घर प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधीन चरणमा रहेका छन् ।
लाभग्राहीले कन्सल्टेन्सीसहित एउटा घरबापत तीन लाख ५० हजार पाउने व्यवस्था छ । जसमध्ये लाभग्राहीको १० प्रतिशत लागत सहभागिता हुनुपर्ने प्रावधान रहेको छ । आर्थिक रूपले विपन्न दलित, मुस्लिम, सीमान्तकृत तथा लोपोन्मुख जाति तथा समुदायको सुरक्षित बसोबासका लागि आवास निर्माण गरिँदै आएको छ । जसमा जस्ता, इँटा, काठ तथा फलाम र बाँसको प्रयोग गरेर दुईकोठे घर निर्माण गरिन्छ ।