• १६ भदौ २०८२, सोमबार

रोगको निदान गर्न योगमा महिला आकर्षण

blog

फिदिम –१ स्थित पतञ्जली योग समितिको साधना केन्द्रमा चक्रआसन गर्दै महिलाहरु । तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, भदौ १५ गते । उमेरले ६० वर्ष टेक्नुभएकी फिदिम नगरपालिका –१ पाँचथरकी भीमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूरा भयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोल्ने, झम्झमाउने, अनिद्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ । 

योग गर्न थालेपछि अल्छीपना हट्नुका साथै हाडजोर्नी र पाठेघरको समस्या समाधान समेत भएको उहाँले बताउनुभयो । फिदिम –४ की सीता खतिवडाले नियमित योग साधना गर्न थालेको २२ वर्ष भयो । ढाडको नसा च्यापिनुका साथै टाउको दुख्ने र पाठेघरको समस्याले गाँज्न थालेपछि यी सबै समस्याको समाधान योग नै हो भन्ने विश्वासका साथ आफू यो अभियानमा जोडिएको उहाँ सुनाउनुहुन्छ ।

‘पहिले आफूले समस्या समाधानका लागि योग गरें, समस्या समाधान हुनुका साथै रस भिज्दै गएपछि आफैं प्रशिक्षक भएर गाउँटोलसम्म योग दर्शन, प्राणायाम र अभ्यास सिकाइरहेकी छु’ उहाँले भन्नुभयो ।

‘गृहिणी तन्दुरुस्त रहनु समग्र परिवारकै स्वास्थ्यको लागि राम्रो हुने ‘योगसँग स्वस्थ खानपिन र आनीबानी जोडिएको हुनाले के खानपान गर्न हुने एवं नहुने जानकारी राख्न सके भान्सालाई नै औषधीयुक्त बनाउन सकिन्छ’ उहाँले भन्नुभयो । 

आफ्नो दैनिकीलाई स्वस्थ ढङ्गले आरम्भ गर्ने कलासँगै योगले महिलालाई थप चिनारी दिइरहेको फिदिम –४ की शकुन्तला ओलीको अनुभव छ । उहाँले योग प्रारम्भ गरेको १० वर्ष बितिसकेको छ । उहाँ पाठेघरसम्बन्धि पीडित हुनुहुन्थ्यो, अहिले योगबाट नै समस्या समाधान भएको बताउनुहुन्छ । उहाँलाई डाक्टरले पाठेघर फ्याक्ने सल्लाह दिएका थिए । यद्यपि नियमित योग साधना गरेर पाठेघरको समस्या समाधान गरेको उहाँको अनुभव छ ।

भीमा, सीता र शकुन्तला नियमित योग साधना गर्ने पाँचथरे महिलाका प्रतिनिधि पात्र हुनुहुन्छ । पछिल्लो समय जिल्लामा विभिन्न संस्थाले सञ्चालन गरेका योग साधना केन्द्रमा पुरुषभन्दा महिलाकै सङ्ख्या दोब्बर बढी हुन थालेको छ ।

सदरमुकाम फिदिममा मात्र दैनिक पाँच ठाउँमा योग अभ्यास गराइन्छ । निःशुल्क रुपमा सञ्चालन हुने ती योग साधना केन्द्रमा योग सिक्ने मात्र नभएर गराउनेहरुमा पनि महिलाकाे उपस्थिति  धेरै छ ।

नियमित योग साधना गर्दा थाइराइड, पाठेघर र टन्सिल आदि समस्याको समाधान भएसँगै यो अभियानमा जोडिएको पतञ्जली योग समिति पाँचथरकी अध्यक्ष भक्तकुमारी डाँगीको अनुभव छ ।

‘गरौं योग भगाऔं रोग भनेझैँ अहिले आफू योग साधनाको अभियन्ताकै भूमिकामा छु’ उहाँले भन्नुभयो । फिदिम –१ की शान्ता गौतम शिक्षण पेशामा सेवा निवृत्त भएपछि योग साधनालाई अभियानका रुपमा प्रचारप्रसार गरिरहनुभएको छ ।

‘२२ वर्ष अघिदेखि योग साधनामा जोडिएकी थिएँ, सेवानिवृत्त जीवन योग प्रवाहमै समर्पित गरौं भन्ने लागेर यता जोडिएकी हुँ’  गौतमले भन्नुभयो । आफू धेरै रोगबाट ग्रसित भएको र योगबाटै समस्या समाधान भएको अनुभव उहाँको छ । 

उहाँ पाँचथरको महिला, त्यसमा पनि गृहिणी सहभागिता धेरै हुने कारणमा विविध रोगको व्यवस्थापन र स्वस्थ जीवनशैलीप्रतिको जागरूकता हुनसक्ने बताउनुहुन्छ । शारीरिक एवं मानसिक रूपले सबल हुने इच्छा, घरको चौघेराबाट खुला हावा लिँदा प्राप्त हुने स्वतन्त्रताको अनुभूति लिन पनि महिलाको सहभागिता बढिरहेको पतञ्जलि योग समितिका अध्यक्ष  हरिप्रकाश सुवेदीले बताउनुभयो । 

बिहानीको समयमा ‘एक–डेढ घण्टा योग गर्दा यसले दिनभर हलुका महसुस हुने  उहाँको तर्क छ । पुरुषभन्दा महिला नै योग र ध्यानमा सक्रिय पाएका छौँ, गौतमले  भन्नुभयो । निराशा, चिन्ता, त्रास र तनावमुक्त बनाएर आत्मविश्वास बढाउने हुनाले पनि योग प्रभावकारी देखिएको उहाकाे भनाइ छ ।

यसैगरी १० वर्ष योग गरेको अनुभव सुनाउनुहुने विद्या लक्ष्मी घिमिरे पनि आफ्ना शरीरका रोग योग गरेर नै निको पारेको बताउनुहुन्छ । उहाँ हरेक महिला दिदी बहिनीलाई स्वस्थ खानपान र स्वस्थ जीवनशैलीबारे जानकारी दिंदै नियमित योग गर्न सुझाव दिनुहुन्छ । उहाँ एक कुशल गृहिणी कर्मचारी र योग शिक्षक हुनुहुन्छ । यसैगरी आशा लावती कमला, कुमारी योङहाङ बिना काफ्ले सयौं महिला समूहमा बाँडिएर योग गरिरहनुभएको छ ।