रामकृष्ण बोहरा
बागलुङ, असार २० गते । नेपाल पत्रकार महासङ्घ बागलुङमा स्थापित हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार कोषलाई वृद्धि गरिएको छ । दशकअघि स्थापित पुरस्कारलाई कोषका संरक्षकको परिवारले ७ लाख रुपियाँ पुर्याएका हुन् ।
चार लाख रुपियाँबाट स्थापित यो पुरस्कार कोषलाई संरक्षक बागलुङ नगरपालिका २ निवासी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम श्रेष्ठ र मनोविज्ञान श्रेष्ठ तथा नाति श्रीजय श्रेष्ठको परिवारले बढाउनुभएको हो ।
महासङ्घले उक्त कोषबाट हरेक वर्ष २ जना पत्रकारलाई पुरस्कार दिंदै आएको थियो । केही वर्षदेखि रोकिएको पुरस्कार महासङ्घको रजत वर्षको अवसरमा असार २५ गते वितरण गर्ने तयारी छ । उक्त कोषबाट बालबालिकाको क्षेत्रमा पनि सहयोग गर्ने महासङ्घका प्रतिनिधि र श्रेष्ठ परिवारबाट श्रीजय श्रेष्ठबिच सहमति भएको छ ।
श्रेष्ठ परिवारले अन्य विभिन्न सामाजिक क्षेत्रमा समेत गरी ३० लाख रुपियाँ हाराहारीको सहयोग हस्तान्तरण गरेका छन् । श्रेष्ठ परिवारले निर्माणाधीन मानवसेवा आश्रमको भवनका लागि ५ लाख ११ हजार ५ सय ११ रुपियाँ, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई ३ लाख रुपियाँ सहयोग गरेको छ । यसअघि पनि ३ लाख सहयोग गरेको परिवारले ६ लाख सहयोग पुर्याएको हो ।
विद्यामन्दिर माविमा त यो परिवारले झण्डै ४० लाख खर्चेर तीन कोठा, शौचालय र अन्य व्यवस्थापकीय काममा लगाएको तत्कालीन प्रधानाध्यापक जगन्नाथ आचार्यले बताउनुभयो। भूकम्पले क्षतविक्षत भएको जिल्लाकै जेठो विद्यामन्दिर माविको पुनर्निर्माणमा उक्त सहयोगबाट भवन बनेको हो ।
श्रेष्ठ परिवारले विद्यामन्दिरमा पढ्ने ६ जना बालबालिकालाई ५ हजार रुपियाँका दरले छात्रवृत्ति र शैक्षिक सामग्री पनि सहयोग गरेका थिए । श्रेष्ठ परिवारले नेपाल रेडक्रस सोसाइटी, नेत्रज्योति सङ्घ, विद्यामन्दिर पुस्तकालयलगायतका संस्थामा पनि सहयोग गरेका छन् । धौलागिरि अस्पतालमा पनि बिरामीको उपचार कोष नै बनाएका छन् । पञ्चकोटमा सञ्चालित कन्या छात्रावासका लागि पनि खाद्यान्नलगायतको सामग्री सहयोग गरेर योगदान गरेको आचार्यले जानकारी दिनुभयो ।