• २३ असार २०८१, आइतबार

निःशुल्क आयुर्वेद तथा वैैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न

blog

सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा आयुर्वेद स्वास्थ्य शिविरमा सेवा लिने स्थानीयहरु । तस्बिर – जयकृष्ण यादव

जयकृष्ण यादव

इनरुवा, पुस ११ गते । सुनसरीको कोशी गाउँपालिका – ३ पश्चिम कुशाहा जमुवामा निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीको आयोजनामा शिविर सम्पन्न भएको जिल्ला आयुर्वेद कार्यालयका प्रमुख डा. सन्दीपकुमार यादवले जानकारी दिनुभयो ।

सम्पन्न शिविरमा पाँच सय १७ जनाले सेवा लिएका छन् । जेष्ठ नागरिकदेखि बालबालिकासम्मले जाँच तथा परामर्श सेवा लिएको यादवले बताउनुभयो । शिविरमा वाथ, स्त्रीरोग, बालरोग,  श्वासप्रश्वासलगायत रोगको जाँच गरिएको थियो । शिबिरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक डा. सन्दीपकुमार यादवले बिरामीको जाँचसँगै परामर्श र औषधि दिनुभएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कोशी गाउँपालिका अध्यक्ष  एयुब अन्सारी प्रमुख अतिथि रहनुभएको थियो ।

शिविर आयुर्वेद सेवा नपुगेका ठाउँ सेवा बिस्तारसँग प्रचारप्रसारका लागि गरिएको कार्यालयले जनाएको छ । गाउँमै आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय खुशी भएका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ग्रामीण क्षेत्रमा आफ्नो स्वास्थ्य सेवाको पहुँच बिस्तार गरिरहेको जनाएको छ । कार्यालयले सीमावर्ती तथा ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न शिविर सञ्चालनमा ल्याइएको छ । 

यसैबीच, ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न सुनसरीको कोशी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र कोशी गाउँपालिकाको सहयोगमा आइतबारदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो ।