गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले धराशायी बन्दै गएको दुग्ध विकास संस्थान (डिडिसी) लाई सुधार गर्न निर्देशन दिनुभएको छ ।
संस्थान लामो समयदेखि घाटामा गएको, किसानले भुक्तानी नपाएको र आन्तरिक व्यवस्थापन भद्रगोल भएको गुनासो आएपछि मन्त्री चौधरीले शुक्रबार संस्थानको बालाजुस्थित दुग्ध विकास आयोजनाको निरीक्षण गरी सो निर्देशन दिनुभएको हो । २०७२ सालदेखि घाटामा गएको संस्थानलाई सुधार गर्न कर्मचारीलाई १० बुँदे सुधारको कार्ययोजना अगाडि बढाउन मन्त्री चौधरीले निर्देशन दिनुभएको छ । सो क्रममा मन्त्री चौधरीले संस्थानभित्र हुने राजनीतिक चलखेल अन्त्य गर्न र आर्थिक पारदर्शिता कायम गर्न पनि निर्देशन दिनुभयो । संस्थानले विभिन्न निकायबाट उठाउनुपर्ने सम्पूर्ण बक्यौता रकम १० देखि १५ दिनभित्र अनिवार्य असुल गर्न पनि मन्त्री चौधरीको निर्देशन थियो । किसानले महिनौँदेखि दुधको पैसा नपाउने अर्कोतिर संस्थानको बक्यौता नउठ्ने अवस्था अब स्वीकार्य नहुने बताउनुभयो । संस्थानको ढुवानी, मौज्दात र बिक्रीवितरणलाई पारदर्शी बनाउन ‘रियल टाइम डिजिटल ट्र्याकिङ’ प्रणाली लागु गर्नसमेत मन्त्री चौधरीले निर्देशन दिनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “अबदेखि किसानलाई गरिने भुक्तानी र कर्मचारीको सुविधालगायतका सबै आर्थिक कारोबार अनिवार्य रूपमा बैङ्किङ प्रणालीमार्फत मात्र गर्नु पर्छ ।”
संस्थानलाई राजनीतिक अखडा बनाउन नदिने उद्घोष गर्दै मन्त्रीले एक हप्ताभित्र कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नसमेत निर्देशन दिनुभयो । संस्थानको भार बढ्ने गरी राखिएका अनावश्यक कर्मचारी र राजनीतिक आधारमा गरिएका नियुक्ति तत्काल हटाउनसमेत मन्त्रीले निर्देशन दिनुभयो ।
किसानलाई राहत दिन र संस्थानका उत्पादनको पनि बिक्री बढाउन नयाँ ‘बार्टर सिस्टम’ (सट्टापट्टा) लागु गर्न उहाँको निर्देशन थियो । जस अनुसार किसानले दुधको भुक्तानी लिँदा ५० प्रतिशत नगद र ५० प्रतिशत संस्थानकै दाना लिन सक्ने व्यवस्था मिलाउन सके व्यापार विस्तार हुन सक्ने उहाँको भनाइ छ ।
डिडिसीको बजार विस्तारका लागि सिंहदरबारभित्रका सबै मन्त्रालय र सरकारी कार्यालयमा डिडिसीका उत्पादन (विशेष गरी मोही र दुग्धजन्य पदार्थ) अनिवार्य प्रयोग गर्न पहल गरिने मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “डिडिसी देशको गौरव र किसानको भरोसाको केन्द्र हो । यसलाई राजनीतिको थलो होइन, नेपाल सरकारको उत्कृष्ट र व्यावसायिक संस्था बनाउन हामी दृढ छौँ ।”
डिडिसीले अहिले दैनिक मुलुकभर ६० हजार लिटर दुध सङ्कलन गरी वितरण गरिरहेको जनाएको छ । दैनिक ८५ हजार लिटर दुध खपत भइरहेकोमा अपुगका लागि संस्थाले धुलो दुध वितरण गर्दै आएको छ ।