मानिसले खाने ८० प्रतिशत वस्तु वनस्पतिबाट प्राप्त हुन्छन् । बाँकी २० प्रतिशतका स्रोत जनावर र अन्य हुन् । जनावरले पनि आफ्नो शरीरमा जम्मा गरेको खाद्य शक्ति वनस्पतिबाटै आउने हो । तसर्थ अप्रत्यक्ष बाटोलाई समेत समाउने हो भने हामीले खाने सबै जसो वस्तु वनस्पतिबाटै प्राप्त हुन्छन् । हामीले लिने प्राणवायु अक्सिजनको स्रोत चाहिँ के हो ? यसको उत्तरका लागि पनि धेरै सोचिरहनु पर्दैन । जीवलाई प्राण दिने ग्यास अक्सिजन प्रायः वनस्पतिबाटै आउँछ । हुन त वायुमण्डलमा जम्मा हुने अक्सिजनको प्रमुख स्रोत समुद्र हो तथापि उक्त अक्सिजन स्थलचरलाई अप्राप्य हुन्छ अनि त वनस्पतिमै निर्भर हुन्छ । हामीले बुझेको अर्को कुरा जङ्गल प्रशस्त भयो भने वर्षा यथेष्ट हुन्छ । अझै अर्को कुरा छ भूमिगत र सतहको पानी संरक्षण गर्न वनजङ्गल वा रुखबिरुवाको ठुलो भूमिका रहन्छ । हामीले लगाउने लुगा बनाउने कच्चा पदार्थको ३१ प्रतिशत वनस्पतिबाट प्राप्त हुन्छ । त्यति मात्र होइन हामीलाई लेख्न/छाप्न चाहिने कागजको प्रमुख स्रोत बोटबिरुवा नै हुन् । करिब ३० प्रतिशत कागज पुनः चक्रणबाट आउँछ भने ७० प्रतिशत त सोझै वनस्पतिबाट ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारका मानिसले प्रयोग गर्ने औषधीमध्ये अत्यावश्यक र आधारभूत मानिएका २५२ प्रकारका औषधी छन् । त्यसमध्येमा ११ प्रतिशत सोझै बोटबिरुवाबाट बनाइएका छन् । धर्तीका करिब ८० प्रतिशत जनसङ्ख्याले उपचारका लागि कुनै न कुनै वनस्पति प्रत्यक्ष रूपमा प्रयोग गरेकै हुन्छन् । यस किसिमले विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले भन्छ, ३५ हजारदेखि ७० हजार प्रजातिका वनस्पतिलाई मानिसले औषधीय प्रयोजनमा समाइरहेको छ ।
मानिसका आधारभूत आवश्यकता गाँस, बास र कपासभन्दा पनि अझै जीवन बन्नका लागि र रहनका लागि चाहिने जैविक यौगिक, वायु, जल, पारिस्थितिक प्रणालीका लागि वनस्पति चाहिने रहेछन् । हामीले कहिल्यै सोचेका छौँ वनस्पतिको स्वास्थ्यको बारेमा ! केही गरेका छौँ बिरुवाको स्वास्थ्यलाई असल राख्न ? हो, यही कुरामा मानिसको ध्यान नपुगेको ठहर गरेर संयुक्त राष्ट्रसङ्घको महासभाले वनस्पतिको स्वास्थ्य दिवस सन् २०२२ देखि विश्वभर मनाउने निर्णय ग¥यो । तसर्थ हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाइन्छ । यस दिवसको उद्देश्य के भने वनस्पतिलाई स्वस्थकर राखी भोकमरी नियन्त्रण गर्ने, स्वच्छ वातावरण तयार गर्ने, पारिस्थितिक प्रणालीलाई दुरुस्त राख्ने तथा दिगो विकासलाई सहयोग गर्ने रहेका छन् । यस वर्ष खाद्य सुरक्षाका लागि वनस्पतिको जैविक सुरक्षा मूल नारा कायम गरिएको छ ।
वनस्पतिको स्वास्थ्य असल नभएमा पृथ्वीको प्राकृतिक वातावरण स्वच्छ रहन सक्दैन । त्यसमाथि मानिसको स्वास्थ्य असल होला भनेर कल्पना गर्न पनि सकिन्न । बोटबिरुवाको पनि शरीर मानिस वा अन्य जनावरको जस्तै हो । तीनलाई पनि खानेकुरा चाहिन्छ, प्राणवायु चाहिन्छ, घाम, ताप चाहिन्छ अनि रोग विराम शत्रुको पनि सामना गर्नु पर्छ । वनस्पतिमा आश्रित जीव बेगन्ती छ । उनीहरूले ठुला जीवलाई मात्र होइन आफ्नै शरीरमा आश्रय दिएर लाखौँ साना तथा सूक्ष्म जीवलाई गाँस र बास पु¥याइरहेको हुन्छ । रुखमा जरादेखि टुप्पासम्म आँखाले देखिने कति जीव आश्रित छन् । यसरी आश्रय दिँदा स्वयम् बोटबिरुवालाई भने केही न केही असर परेको पनि हुन्छ । रोगका कारक सूक्ष्मजीवले त रोग लगाइरहेका हुन्छन् ।
अजैविक वस्तुलाई जैविक संसारलाई भिœयाउने नै वनस्पति हुन् । प्रकाश संश्लेषण प्रक्रियाबाट यिनले शरीरमा खाद्यपदार्थ उत्पादन गर्छन् । पारिस्थितिक प्रणालीमा यिनलाई उत्पादक भनिन्छ । पानी, माटो, हावा, सूर्यको किरणमा भएका तत्वको मिश्रणबाट जीवको खानाको पहिलो पदार्थ कार्बोहाइड्रेड बनाउँछ । यो र यसैबाट बन्ने अन्य पदार्थ वनस्पतिका जिउमा सुरक्षित रहन्छ अनि तीनलाई जनावरले खाँदा जनावरको संसारमा पुग्छन् । उनीहरूलाई जीवन दिन्छन् ।
उनलाई फाइदा दिनेभन्दा पनि हानि गर्ने जीवको सङ्ख्या उल्लेख्य छ । विश्व खाद्य सङ्गठनले भनेको छ, हामीले खेतबारीमा लगाएका बालीनालीमध्ये ४० प्रतिशत हानिकारक जीव तथा रोगविरामले नष्ट भएका हुन्छन् । यसबाट कृषि उत्पादनको व्यापारिक घाटा २२० अर्ब अमेरिकी डलर हरेक वर्ष भइरहेको छ । खेती गरिएका बिरुवाको दुःख पीडा त देखिएकै हुन्छ, जङ्गली वनस्पतिको हैरानी कति धेरै होला । साना वनस्पति सूर्यको किरण पाउनमै सङ्घर्ष गरिरहेका छन् । प्रकाश नभई शरीरमा शक्ति पैदा हुन्न अनि वृद्धि पनि हुन्न । कतिपयले परजीवी बिरुवा र जनावरको दोहन खेप्नु परेको छ । वृद्धि, खाद्यवस्तु, पानी, मल, घाम आदिका लागि उनीहरू एकआपसमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । सक्षम नै बाँच्ने भन्ने प्राकृतिक नियम ती बोटबिरुवामा पनि लागु भएको हुन्छ ।
बोटबिरुवाको स्वास्थ्य अवस्थाले नै मानव स्वास्थ्य निर्धारण हुने भन्ने कुरामा दुईमत छैन । पछिल्ला वर्षमा वनस्पतिको स्वास्थ्यमा अनेकन् समस्या आइरहेका छन् । वायु प्रदूषणले गर्दा हुने अम्लीय वर्षा होस् वा माथिको ओजोन तह विनाश भई पृथ्वी सतहमा ओजोन बन्ने क्रम होस्, माटोमा प्रयोग हुने अकार्बनिक रासायनिक पदार्थले वनस्पतिलाई नराम्ररी प्रभावित पारिरहेका छन् । त्यति मात्र होइन जलवायु परिवर्तनका विद्यमान सम्पूर्ण असरले बिरुवालाई प्रभावित पारिरहेका छन् । पछिल्ला ३० वर्षमा हेर्दा ४७ प्रतिशत वनस्पति उधुम गर्मी खेप्न नसकेर आफ्नो स्थानीय ठाउँबाट उचाइतिर बसाइँ सरिरहेका छन् । हाल अस्तित्वमा रहेका ७० प्रतिशत वनस्पति जलवायु परिवर्तनको प्रभाव खेपिरहेका छन् । चार डिग्री सेन्टिग्रेड तापक्रम वृद्धि हुने हो भने समूहगत विस्थापन हुने पूर्वानुमान गरिएको छ ।
एक अध्ययनले सङ्कलन गरेको तथ्याङ्क अनुसार संसारमा ५० हजार किसिमका सङ्क्रामक रोग वनस्पतिलाई लाग्ने गरेको छ । मानिसलाई जस्तै वनस्पतिलाई पनि बेला बेलामा फैलिने विश्वव्यापी सङ्क्रामक रोग (पान्डेमिक) ले ठुलो सङ्ख्यामा हताहत गराउँछ । जस्तै ः ह्विट ब्लास्ट भन्ने रोगको आक्रमण अहिले अफ्रिका र एसियातिर फैलिइरहेको छ, जसले सन् २०१६ देखि धेरै देशमा बालीनाली सखाप पार्दै आएको छ । ‘टिआर फोर’, ‘क्यासाभा मोजाइक’, ‘ओलिभ क्विक डिक्लाइन सिन्ड्रोम’ जस्ता पान्डेमिकले वनस्पति जगत्माथि चुनौती दिइरहेका छन् । त्यति मात्र होइन अरू नसर्ने रोग तथा अवस्थाको सामना गर्नुपर्ने हुन्छ । जस्तै ः कुपोषण, खडेरी, कहिले डुबान, क्यान्सर, माटोसम्बन्धीका समस्या, रासायनिक प्रभाव र विकिरणको प्रभाव ।
उल्लिखित कुनै पनि रोगले छोएका वनस्पति मानिसका लागि हानिकारक मानिन्छ । हामी कति अस्वस्थ वनस्पतिबाट प्राप्त हुने खानेकुरा खाइरहेका छौँ, सोचेका पनि छैनौँ । हाम्रो अलिकति चेतना यस्तै विविध रोगव्याधबाट बिरुवालाई बचाउन प्रयोग गरिएका विषादीविरुद्ध चाहिँ छ तर बिरुवा आफैँमा रुग्ण भएको थाहा पाएका छैनौँ ।
मानव मात्र होइन सिङ्गो प्र्राणी जगत्को जीवनको आधार वनस्पतिको स्वास्थ्य के कसो गर्दा तन्दुरुस्त बन्छ भन्ने बारेमा सबै मानिसले सचेत हुन आवश्यक छ । अजैविक विषादीको प्रयोगलाई कम गर्र्र्र्दै, प्राकृतिक सन्तुलित तथा स्वच्छ वातावरण तयार गरी बोटबिरुवालाई निरोगी बनाई आफू पनि रोगबाट सुरक्षित रहन सकौँ ।