चन्द्र पन्दाक
ताप्लेजुङ, वैशाख २६ गते । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ताप्लेजुङमा बसभित्रै सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको छ । नास्टले जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक लगायतलाई सहभागी गराएर बसभित्रै सूचना र सञ्चार प्रविधि (आइसिटी)सम्बन्धी कक्षा सञ्चालन गरेको हो ।
विकसित सूचना प्रविधिबारे जानकारी गराउन र प्रविधिसँग सम्बन्धित अपराधका विषयमा कक्षा सञ्चालन गरिएको छ । नास्टका सूचना प्रविधि (आइटी) प्रमुख प्रदीप ढोडारीले बसभित्रै आइसिटी र अपराधसम्बन्धी कक्षा चलाएको जानकारी दिनुभयो ।
आइटी प्रमुख ढोडारीका अनुसार फुङ्लिङ नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र शिक्षकलाई बसभित्र राखेर आइसिटी कक्षा चलाइएको हो । जनप्रतिनिधि र नगरपालिका भित्रका सामुदायिक विद्यालयका विज्ञान विषयका शिक्षकलाई नगरपालिका कार्यालयमा बसभित्रै राखेर दुई दिने आइसिटी कक्षा सञ्चालन गरिएको आइटी प्रमुख ढोडारीले बताउनुभयो ।
उहाँका अनुसार नेपाल प्रहरीका लागि जिल्ला प्रहरी कार्यालयमै पुगेर आइसिटी तथा अपराधसम्बन्धी बसभित्रै कक्षा सञ्चालन गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीका लागि जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वार्टर कञ्चनजङ्घामा पुगेर बसभित्रै कक्षा सञ्चालन गरिएको नास्टले जनाएको छ ।
बसभित्र सञ्चालन गरिएको आइसिटी र अपराधसम्बन्धी कक्षामा पदाधिकारीसहितका जनप्रतिनिधि, विभिन्न पदमा कार्यरत सुरक्षाकर्मी, विज्ञान शिक्षक सहभागी हुनुभएको थियो । सूचना प्रविधि (आइटी) को सही सदुपयोग, आइटीको दुरुपयोगबाट हुने अपराधजन्य क्रियाकलाप र आइटी प्रयोगमा अपनाउनुपर्ने सतर्कता तथा सुरक्षा सहितका विषयमा कक्षा सञ्चालन गरिएको आइटी प्रमुख ढोडारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नास्टले दक्षिण कोरियाली सरकारको सहयोगमा उपलब्ध सुविधासम्पन्न आइसिटी मोबाइल ल्याबोरेटोरीको रुपमा सञ्चालित बसभित्र आइसिटी कक्षा सञ्चालन गर्ने गरिएको छ । आइसिटी कक्षा सञ्चालनका लागि आवश्यक पर्ने सबै सुविधा बसभित्र रहेको बताइएको छ ।
यस्तै नास्टले जलवायु परिवर्तन र प्रभावकारी तथा आधुनिक कक्षाकोठासम्बन्धी अभिमुखीकरणसमेत आयोजना गरेको छ । फुङ्लिङ नगरपालिकाको सभाहलमा आयोजित अभिमुखीकरणमा नगरप्रम्ख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझासहितका जनप्रतिनिधि सहभागी हुनुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँ, ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी नायव उपरीक्षक प्रमोदप्रकाश पाठक सहितका सुरक्षाकर्मी, नगरपालिकाका र अन्य कार्यालयका कर्मचारी, शिक्षक लगायतको सहभागिता थियो । अभिमुखीकरणमा जलवायु परिवर्तनको वर्तमान अवस्था विश्वदेखि नेपालसम्म विषयमा नास्टका अनुसन्धान सहायक पशुपति अधिकारीले प्रस्तुति राख्नुभएको थियो ।
त्यस्तै जलवायु परिवर्तनको सन्दर्भमा जैविक विविधता तथा स्थानीय तहका पहलसम्बन्धी निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादव र कृषि क्षेत्रमा जलवायु परिवर्तनका प्रभावहरुको अवस्थाबारे कृषि ज्ञान केन्द्रकी बाली विकास अधिकृत मुना न्यौपानेले प्रस्तुति राख्नुभएको थियो । पाथीभरा बहुमुखी क्याम्पसका अध्यापक राजकुमार बानियाँले ताप्लेजुङमा जीविकोपार्जनमा जलवायु परिवर्तनका प्रभाव र अनुकूलन अभ्यासहरु सम्बन्धी प्रस्तुति राख्नुभयो ।
अभिमुखीकरणमा राखिएको प्रस्तुतिका सन्दर्भमा सहभागीबिच छलफल र अन्तरक्रियासमेत भएको नास्टकी मुख्य वैज्ञानिक अधिकृत डा. विमला देवकोटाले जानकारी दिनुभयो । यस्तै कार्यक्रममा मुख्य वैज्ञानिक अधिकृत डा. देवकोटाले नास्टको भूमिका र क्रियाकलापबारे संक्षिप्त जानकारी गराउनुभएको थियो ।