अर्घाखाँची समाचारदाता
अर्घाखाँची, वैशाख २६ गते । अर्घाखाँचीको ढाकावाङस्थित नाच्नेचौरमा सडक विस्तारका क्रममा भत्किएको ऐतिहासिक वरपिपलको चौतारो स्थानीयवासीले पुनर्निर्माण गरी रङरोगनसहित आकर्षक बनाएका छन् । डिभिजन वन कार्यालयको सहयोग र स्थानीयको श्रमदानमा पुनर्निर्माण गरिएको चौतारी (चौपारी) अहिले गाउँको सामुदायिक भेटघाट, विश्राम तथा सांस्कृतिक गतिविधिको केन्द्र बन्दै गएको छ ।
ढाकावाङको नाच्नेचौरस्थित उक्त चौपारीमा अहिले गाउँका भेला, बैठक तथा छलफल हुन थालेका छन् । बरपिपलको छहारी, चराचुरुङ्गीको मधुर आवाज र शीतल वातावरणका कारण चौपारी स्थानीयका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिर तथा भिडियो खिच्नेदेखि विश्रामस्थलका रूपमा समेत यसको उपयोग बढ्दै गएको छ । धार्मिक आस्था अनुसार स्थानीयले बरपिपलको पूजा गर्दै संरक्षण अभियानलाई निरन्तरता दिएका छन् ।
स्थानीय युवा जितेन्द्र खत्रीका अनुसार गाउँमा भत्किएका तथा मासिएका चौपारी पुनर्निर्माण गर्ने अभियान नै सञ्चालन गरिएको छ । उहाँले भन्नुभयो, “गाउँका अन्य स्थानमा पनि चौपारी निर्माण र वरपिपल संरक्षणको काम गरिरहेका छौँ । चौपारीलाई रङरोगन गरेर चिटिक्क बनाउने अभियानले गाउँको पुरानो पहिचान फर्काउन मद्दत पुगेको छ ।” गाउँका चोक तथा अग्ला स्थानमा खोजी खोजी चौपारी निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
विगतमा सडक निर्माणका क्रममा डोजर र एक्साभेटर प्रयोग गर्दा धेरै चौपारी र वरपिपल मासिएका तथा पुरिएका थिए । अहिले तिनै पुराना चौपारीलाई पुनर्जीवन दिन स्थानीय जुटिरहेका छन् ।
भूमिकास्थान नगरपालिका–२, ढाकावाङका तुल्सीराम भुसालले आफ्नो बाल्यकालमा गाउँभर चौपारी देखिने गरेको स्मरण गर्न‘भयो । उहाँका अनुसार गाउँलेले महिनौँसम्म कोदालो, गैँती र बेल्चा प्रयोग गर्दै श्रमदानमार्फत चौतारो निर्माण गर्थे । चौपारीमा वर र पिपलका रुख रोपिन्थे, जहाँ पैदलयात्रु विश्राम गर्थे भने गाउँका विवाद समाधानदेखि विकाससम्बन्धी छलफलसमेत हुने गथ्र्यो ।
भुसालले भन्नुभयो, “चौपारीमा वरपिपलको छहारीमा बसेर गाउँको कचहरी चल्थ्यो । त्यहीँ बसेर झगडा मिलाउने, साँधकिला समाधान गर्ने र गाउँ विकासका योजना बनाइन्थ्यो । पैदलयात्रु पनि त्यहीँ बसेर थकान मार्थे ।” घरअगाडिको संरक्षणविहीन चौतारो भत्किए पनि वर र पिपलका रुख भने बाँकी थिए । अहिले त्यसलाई पुनः संरक्षण गरी नयाँ स्वरूप दिइएको छ । चौतारो निर्माणका लागि डिभिजन वन कार्यालयले ७० हजार रुपियाँ सहयोग गरेको थियो भने निर्माण कार्य स्थानीयवासीको श्रमदानबाट सम्पन्न गरिएको हो ।
डिभिजन वन कार्यालय र भू तथा जलाधार कार्यालयको बजेट, स्थानीयको आर्थिक सहयोग तथा श्रमदानमार्फत जिल्लाका विभिन्न स्थानमा चौपारी पुनर्निर्माणको काम भइरहेको छ । डिभिजन वन कार्यालयले गत वर्ष ढाकावाङ र अर्घामा चौपारी निर्माण गरेको थियो भने यस वर्ष थप तीन वटा चौपारी निर्माणाधीन छन् ।
वन कार्यालयका सूचना अधिकारी केशर खड्काका अनुसार जिल्लाभरबाट १८ वटा चौपारी मर्मत तथा निर्माणका लागि माग आएको छ । उहाँले भन्नुभयो, “धार्मिक, प्राकृतिक र जैविक दृष्टिले महŒवपूर्ण भएकाले यिनको संरक्षणमा जुटेका छौँ । चौपारीसँग जोडिएको इतिहास पनि जोगाउन आवश्यक छ ।”
भू तथा जलाधार कार्यालय प्रमुख राकेशबहादुर कुँवरले पुराना चौपारी खोजी गर्दै संरक्षण गरिनुका साथै आवश्यक स्थानमा नयाँ चौपारी निर्माणको काम पनि भइरहेको बताउनुभयो ।