कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २६ गते । एचआईभी संक्रमित आमाबाट जन्मिएका शिशु पूर्ण रूपमा सुरक्षित हुने गरेको पाइएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको एआरटी शाखा र एड्स हेल्थकेयर फाउन्डेशन (एएचएफ) नेपाल लुम्बिनी प्रदेशबाट सेवा लिएका एचआईभी संक्रमित आमाले स्वस्थ (एचआईभी संक्रमण नभएका) शिशु जन्माएको पाइएको हो ।
पछिल्लो तीन वर्षमा अस्पतालको एआरटी शाखाबाट पीएमटीसीटी सेवा लिएका ४३ जना गर्भवती महिलाले जन्माएका कुनै पनि शिशुमा संक्रमण नदेखिएको र उनीहरू पूर्ण रूपमा स्वस्थ रहेको एएचएफ लुम्बिनी प्रदेश संयोजक धर्मराज भट्टराईले बताउनुभयो ।
संयोजक भट्टराईका अनुसार संक्रमित आमाबाट जन्मिएका करिब ९० प्रतिशत शिशु सुरक्षित रहने गरेका छन् । सन्तान जन्माउने आमाले नियमित रूपमा औषधि सेवन गरेमा संक्रमण रोकथाम सम्भव हुने उहाँको भनाइ छ । एचआईभी संक्रमित आमा तथा बालबालिकासम्बन्धी सेवा अन्तर्गत हाल १६६ जनाले नियमित सेवा लिइरहेका छन्, जसमा ११० जना वयस्क र ५६ जना बालबालिका रहेका छन् ।
बुटवलस्थित एन्टी रेट्रोभाइरल ट्रिटमेन्ट (एआरटी) शाखाबाट विसं २०८२ चैत मसान्तसम्म एक हजार ७०५ जना संक्रमितले नियमित उपचार लिइरहेका छन् । त्यसमध्ये १ हजार ५३३ जनाको बायोमेट्रिक दर्ता गरिएको छ । लुम्बिनी प्रदेशभर करिब ५ हजार ५०० संक्रमित उपचारको पहुँचमा रहेको र रुपन्देहीको भैरहवामा मात्रै करिब ३०० जना संक्रमितले नियमित औषधि सेवन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको एआरटी शाखा प्रमुख भीमप्रसाद ज्ञवालीले नेपालमा सेवा विस्तारका हिसाबले बुटवल दोस्रो स्थानमा रहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौंको टेकुस्थित अस्पतालपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा सबैभन्दा बढी एचआईभी संक्रमितले सेवा लिइरहेका छन् । हालसम्म उक्त शाखामा ३ हजार ४२ जना संक्रमित दर्ता भएका छन् र सबैको वार्षिक विवरण अद्यावधिक गरिएको ज्ञवालीले बताउनुभयो ।