जहानियाँ राणा शासनकालमा सुरु भएको नेपालको जेठो अखबार गोरखापत्र विभिन्न राजनीतिक पद्धति पार गर्दै हालको अवस्थामा आइपुगेको छ । यसले आफ्नो स्थापनाकालदेखि नै सूचना, समाचार र विचार प्रवाह गरेर नेपाली समाजमा वैचारिक तरङ्ग ल्याउन सघाएको छ । समयक्रममा गोरखापत्र स्वयम् वैचारिक दुनियाँमा समालोचनाको विषय बनेको छ । यही सिलसिलामा गोरखापत्रको योगदानलाई सम्झेर वा कतिपय अवस्थामा गोरखापत्रप्रति आलोचनात्मक दृष्टि राखेर असङ्ख्य लेख लेखिएका छन् ।
अझ कतिपय लेखकले त एक कदम अघि बढेर गोरखापत्रलाई नै विषयवस्तु बनाएर पुस्तकसमेत लेखेका छन् । यस लेखमा विभिन्न पुस्तकमा गोरखापत्र वा गोरखापत्रमा प्रकाशित सामग्रीलाई विषयवस्तु बनाएको विषयलाई प्रकाश पार्ने प्रयास गरिएको छ । यस्ता पुस्तकका सामग्री पुरापुर वा आंशिक रूपमा गोरखापत्रसँग सम्बन्धित छन् । कृतिगत दृष्टिले हेर्दा गोरखापत्रलाई धेरै सम्झने र स्नेहभाव प्रकट गर्ने स्रष्टा कमलमणि दीक्षित देखिनुहुन्छ । दीक्षितले ‘कालो अक्षर’ (२०५०), ‘कागतीको सिरप’ (२०५३), ‘चार कन्था’ (२०५३) तथा ‘शाखासन्तान’ (२०६१) कृतिमार्फत गोरखापत्रलाई सम्झनुभएको छ । उहाँले यी चार कृतिमध्ये ‘कालो अक्षर’ बाहेक गोरखापत्रलाई केन्द्रमा राखेर विश्लेषणात्मक सामग्री पस्कनुभएको छ । ‘कागतीको सिरप’ र ‘चार कन्था’ मा प्रकाशित सबै जसो सामग्री गोरखापत्रमा पूर्वप्रकाशित लेख रहेका छन् । ‘कालो अक्षर’ मा गोरखापत्रसँग सम्बन्धित प्रसङ्ग आंशिक रूपमा रहेका छन् । यी चार कृति पढ्दा गोरखापत्रको आरोहअवरोहपूर्ण इतिहास, तत्कालीन नेपालको सामाजिक राजनीतिक परिदृश्य तथा लेखकको साहित्यिक रुझानयुक्त चिन्तनधाराको झलक मिल्छ ।
अर्कातिर अनुसन्धाता हर्षमान महर्जनको हिमालखबर अनलाइनमा २०७७ असोज १ गते प्रकाशित लेख अनुसार कमल दीक्षित, शिव रेग्मी र शिवप्रसाद भट्टराईको संयुक्त सम्पादकत्वमा प्रकाशित ‘गोरखापत्र : सय वर्षका १०१ कथा’ मा १९५८ देखि २०५६ सम्म गोरखापत्रमा छापिएका केही कथाको सँगालो प्रकाशन भएको छ । यसलाई गोरखापत्र संस्थानले २०५८ सालमा प्रकाशनमा ल्याएको हो । अध्येता महर्जनका अनुसार २०६७ सालमा गोरखापत्र संस्थानले शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराईको सम्पादनमा
‘गोरखापत्रको इतिहास’ प्रकाशित ग¥यो, जसमा धेरै जसो गोरखापत्र र एकाध गोरखापत्र संस्थानका अरू प्रकाशनमा छापिएका ४५ जनाका लेख सङ्कलित छन् । पुस्तकमा प्रकाशित लेखले गोरखापत्रको इतिहास उजागर गर्न सघाएका छन् ।
यसै गरी गोरखापत्र संस्थानले २०६० सालमा डा. माधव पोखरेल, शिव रेग्मी तथा शिवप्रसाद भट्टराईको सम्पादकत्वमा ‘गोरखापत्रका एक सय एक निबन्ध’ शीर्षकमा पुस्तक प्रकाशन ग¥यो । यस पुस्तकमा जसमा विभिन्न कालखण्डमा गोरखापत्रमा छापिएका निबन्धहरू सङ्गृहीत छन्, जसमा पुराना तथा नयाँ लेखकको निबन्धको रसास्वादन गर्न पाइन्छ । यी निबन्धहरू नेपाली निबन्धकारिताको विकासक्रम र निबन्ध लेखनको प्रवृत्तिलाई नियाल्ने आँखीझ्याल बनेका छन् । दीपक श्रेष्ठले ‘गोरखापत्र संस्थान ग्रन्थकोश पत्रपत्रिका’ शीर्षकमा २०८२ साल भदौ २२ गते लेखेको लेख अनुसार गोरखापत्र संस्थान स्वयम्ले ‘गोरखापत्र संस्थान स्मारिका’ (२०४२),
‘गोरखापत्र शैली पुस्तिका’ (२०५५), ‘गोरखापत्र : सय वर्षका कविता’ (२०५८), ‘गोरखापत्र नयाँ नेपाल : भाषा चिनारी’ (२०७१), ‘गोरखापत्र स्मारिका’ (२०७४), ‘सांस्कृतिक सौरभ’ (२०७४) आदि प्रकाशनमा ल्याएको छ (श्रेष्ठ, २०८२) ।
गोरखापत्र संस्थानले प्रकाशनमा ल्याएका यी कृतिका अन्तर्वस्तु समीक्षाको विषय बनिसकेका छन् । यिनीहरूको वस्तुनिष्ठ अध्ययन तथा विश्लेषणपछि मात्र अन्तर्वस्तुबारे केही भन्न सकिएला ।
त्यस्तै शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराईको सम्पादनमा ‘गोरखापत्रको इतिहास’ (२०६७) गोरखापत्रले नै प्रकाशन गरेको छ । विजय चालिसे सम्पादक रहेको गोरखापत्र ‘शैली पुस्तिका’ (२०५५) र केदार भट्टराई सम्पादक रहेको ‘गोरखापत्र प्रकाशन शैली’ (२०८०) ले पनि गोरखापत्रको इतिहास विषयमा समग्र जानकारी दिएको छ । गोरखापत्रको १२५ औँ वर्ष प्रवेशको उपलक्ष्यमा स्मारिका ‘युगसाक्षी’ (२०८२) प्रकाशित छ । यसमा सङ्गृहीत लेखले पनि गोरखापत्रका समग्र विषय बुझ्न महत्वपूर्ण सहयोग पुग्ने छ ।
नेपाली साहित्यका अध्येता शरदचन्द्र भट्टराईले गोरखापत्रसँग जोडिएका एक महत्वपूर्ण व्यक्तित्वबारे कृति प्रकाशनमा ल्याउनुभएको छ । उहाँले ‘सानो चिनारी नरदेव पाण्डेको’ शीर्षकमा पुस्तिका प्रकाशनमा ल्याउनुभएको हो । २०६० सालमा प्रकाशित यस कृतिको सिधा साइनो गोरखापत्रसँग नभए पनि गोरखापत्रसँग जोडिएका धेरै संस्मरण अनावरित भएका छन् । कृतिले मूल रूपमा गोरखापत्रसँग सम्बद्ध नरदेव पाण्डेलाई चित्रण गरेको छ, जसबाट गोरखापत्रसँग अनेकन् प्रसङ्ग स्वाभाविक रूपमा जोडिन आइपुग्छन् ।
गोरखापत्रको पहिलो सम्पादक को हुन् भन्नेबारे अझै पनि विवाद देखिन्छ । कतिले नरदेव पाण्डे नै पहिलो सम्पादक हुन् भन्ने तर्क गरेको पनि पाइन्छ । यद्यपि शरदचन्द्र भट्टराईले यस तर्कलाई नकारेको देखिन्छ । नरदेव पाण्डेका सम्बन्धमा भट्टराई लेख्नुहुन्छ– ‘उनी नेपालको जेठो मानिएको समाचारपत्र गोरखापत्रको पहिलो सम्पादक नभए पनि पहिलो तैनाथवाला सञ्चालक, व्यवस्थापक, हाकिम एवम् मुद्रकचाहिँ थिए । गोरखापत्रको कुरा गर्नासाथ उनको सम्झना भइहाल्छ’ (पाण्डे, २०६०, पृ. ६) ।
सोही पुस्तकमा रहेको ‘नरदेव पाण्डे र गोरखापत्र’ शीर्षकको सामग्रीमा शरदचन्द्र भट्टराईले नरदेव पाण्डे २९ वर्षको हुँदा गोरखापत्र जन्मेको र देशकै पहिलो समाचारपत्रको प्रकाशनसँग नाम जोडिनु उहाँका निमित्त कम गौरवशाली कुरा थिएन भनी लेखिएको छ । उहाँकै रेखदेख र स्याहारसुसारबाट गोरखापत्र परिपुष्ट हुँदै गएको चर्चा पनि गरिएको छ ।
पुस्तकमा नरदेव पाण्डेको वंश परिचय, व्यक्तित्व विकाससम्बन्धी पृष्ठभूमि, पारिवारिक विवरण, पाण्डे परिवारको विद्वत् परम्परालगायतका जानकारी समाविष्ट छन् । यति मात्र होइन, सोही पुस्तकमा गोरखापत्रका सम्पादक रहिसकेका बालमुकुन्ददेव पाण्डेले नरदेव पाण्डेबारे ‘सुनेका कुराहरू’ शीर्षकमा लेखेको संस्मरणात्मक लेखलाई पनि स्थान दिइएको छ । शरदचन्द्र भट्टराईले आफ्नो पुस्तकमा उल्लेख गर्नुभए अनुसार बालमुकुन्ददेव पाण्डे नाताले नरदेव पाण्डेको भतिज पर्छन् । बालमुकुन्ददेव पाण्डे नरदेव पाण्डेका भाइ दक्षदेव पाण्डेका छोरा हुन् ।
माथि चर्चा गरिएका कृतिबाहेक गोरखापत्रबारे लेखिएका अन्य कृति पनि हुन सक्छन्, जुन ओझेलमा परिरहेका हुन सक्छन् । अर्को कुरा, थुप्रै लेखकले गोरखापत्रमा प्रकाशित आफ्ना लेखहरूलाई समेटेर पुस्तक प्रकाशन गरेको अनेकन् दृष्टान्त भेटिन्छ । यसमा साहित्यिक क्षेत्रमा नाम चलेका लेखकदेखि उतिविधि चर्चामा नआएका कलमजीवी पनि पर्छन् । यसका अतिरिक्त विश्वविद्यालयमा पढाइ हुने पत्रकारिता तथा आमसञ्चार विषयको पाठ्यक्रमसँग सम्बन्धित पुस्तकमा पनि गोरखापत्रको इतिहास तथा यसले नेपाली पत्रकारिताको विकासमा दिएको योगदानबारे पर्याप्त मात्रामा चर्चा भएको छ ।
यी तमाम कृतिलाई एकै ठाउँमा राखेर अध्ययन तथा चिन्तन मनन गर्ने हो भने जेठो अखबार आफ्नो गोरखापत्रले १२५ वर्ष लामो समय यात्रामा आफूसँगै हुर्काउँदै गएको रहस्यको गुत्थी फुकाउन धेरथोर सहयोग पुग्ने देखिन्छ । यसबाहेक यी कृतिहरूको गहन अध्ययनबाट तत्कालीन नेपाली समाजको सामाजिक, राजनीतिक तथा सांस्कृतिक जीवनको विम्ब पनि देख्न सकिन्छ ।