• २६ वैशाख २०८३, शनिबार

सबा करोड खर्चेर बनेको रानिगन्ज तरकारी बजार अलपत्र

blog

प्रयोगविहीन अवस्थामा रहेको रानिगन्जस्थित तरकारी बजारका संरचना । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, वैशाख २६ गते ।
सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगन्जमा करिब एक करोडभन्दा बढी रुपियाँ खर्चेर निर्माण गरिएको तरकारी बजार र त्यसका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

गत वर्ष वडा कार्यालय, नगरपालिका, मधेश प्रदेश सरकार र सङ्घीय सरकारको करिब एक करोड नौ लाख रुपियाँ लागतमा महेन्द्र राजमार्ग छेउमा निर्माण गरिएको तरकारी बजार सञ्चालनमा नआउँदा अलपत्र परेको हो । देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर र ३६ वटा स्टलसहितको कृषि सेड निर्माण गरिएको थियो ।

ठूलो लागतमा बनेका संरचना प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका छन् । अहिले उक्त क्षेत्र पशु चरन (गौचरण) का रूपमा परिणत भएको छ ।

यसअघि लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर अगाडि साँघुरो स्थानमा सञ्चालन हुँदै आएको लालबन्दी थोक तरकारी बजारको विकल्पका रूपमा रानिगन्जमा नयाँ बजार निर्माण गरिएको थियो । उक्त बजार हाल १८ कठ्ठा क्षेत्रफलमा सञ्चालन हुँदै आएको छ ।

लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष विष्णु अधिकारीले पुरानो बजार साँघुरो भएकाले रानिगन्जमा फराकिलो ठाउँमा बजार सार्ने प्रस्ताव बारम्बार राखिए पनि बेवास्ता भएको गुनासो गर्नुभयो । उहाँका अनुसार महेन्द्र राजमार्ग विस्तारका कारण पुरानो बजार थप साँघुरो हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले रानिगन्जमै बजार सार्नु उपयुक्त हुनेछ ।

तरकारी बजार सञ्चालन गर्ने वा नगर्ने विषय नगरपालिकाको निर्णयमा निर्भर रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रानिगन्ज बजारमा मान्छे जानै नहुने मानसिकता देखिएकाले समस्या भएको हो ।”

वडाध्यक्ष अधिकारीका अनुसार नयाँ बजारको प्रचारप्रसारका लागि लालबन्दी महोत्सव रानिगन्जमै गर्ने प्रस्तावसमेत गरिएको थियो, तर स्थानीय आकर्षण नहुने भन्दै अस्वीकार गरिएको थियो ।

तरकारी बजार निर्माणका लागि जग्गा उपलब्ध गराएको गुठीको नाममा देवता महाकाली बजार समिति गठन गरिएको थियो । समितिका निवर्तमान अध्यक्ष रामबहादुर खड्काले सबै पक्षको समन्वय नहुँदा बजार सञ्चालनमा आउन नसकेको बताउनुभयो ।

उहाँले बजार संरचना निर्माणपछि वडा कार्यालयलाई हस्तान्तरण गरी आफूले समिति छाडेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “युवा नेतृत्वलाई जिम्मा दिनुपर्छ भन्ने आवाज आएपछि संरचना बनेलगत्तै मैले समिति छाडेको हुँ ।”

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले रानिगन्ज बजारमा अपेक्षित आकर्षण नदेखिएकाले समस्या भएको बताउनुभयो । उहाँका अनुसार हप्तामा दुई दिन भए पनि साप्ताहिक हाटबजार सञ्चालन गरेर बजारलाई क्रमशः चलायमान बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “किसान र व्यापारीलाई जबरजस्ती पठाएर बजार चल्दैन, पहिले आकर्षण बढाउनुपर्छ ।”