• २६ वैशाख २०८३, शनिबार

जोखिमपूर्ण यात्रा रोक्न छत हटाइँदै

blog

अर्घाखाँची समाचारदाता

अर्घाखाँची, वैशाख २६ गते । जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीले अनुमतिबिना जिपको छतमा राखिएका संरचना (छत) हटाउने अभियान सुरु गरेको छ । मनलाग्दी रूपमा जिपको छतमा सामान राख्ने तथा यात्रुसमेत ओसार्ने प्रवृत्ति बढ्दै गएपछि ट्राफिक प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो ।

जिल्ला ट्राफिक कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक लीलबहादुर कुँवरका अनुसार पछिल्लो समय सवारी नियमको उल्लङ्घन गर्दै छतमा अत्यधिक सामान राख्ने र यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउने घटना बढ्दै गएको थियो । यसले सडक दुर्घटनाको सम्भावना उच्च बनाउने भएकाले नियन्त्रणका लागि कडाइ गर्न‘ परेको उहाँले बताउनुभयो । प्रहरीका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट करिब ४० वटा जिपका छत हटाइएको छ । अभियान अझै जारी रहने र नियमविपरीत कार्य गर्ने सवारीसाधनमाथि आवश्यक कारबाही गरिने पनि ट्राफिक कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारीचालकलाई सवारीसाधनको संरचना परिवर्तन गर्दा अनिवार्य रूपमा अनुमति लिन आग्रह गरेको छ । साथै यात्रुको सुरक्षालाई ध्यानमा राख्दै तोकिएको क्षमताभन्दा बढी यात्रु नओसार्न र छतमा यात्रु नराख्न चेतावनी दिइएको छ । यस अभियानबाट सवारी व्यवस्थापनमा सुधार आउने, दुर्घटना न्यूनीकरण हुने तथा यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । प्रहरीले सर्वसाधारणलाई पनि सुरक्षित यात्रा सुनिश्चित गर्न नियम पालना गर्न अनुरोध गरेको छ ।