नेपालमा हालसम्म अभिलेख भएका ९०२ प्रजातिका चरा वर्षभरि नै नेपालमा बस्दैनन् । मौसम परिवर्तनसँगै हाम्रो वरपर देखिने चराको दैनिक जीवन पनि बदलिन्छ । जस्तो : जाडो सुरु भएसँगै सिमसार क्षेत्रमा पानीहाँस तथा अन्य जलपन्छीले भरिभराउ देखिन्छन् तर गर्मीयाम लाग्दै जाँदा ती चरा क्रमशः अन्यत्र सर्छन् । त्यसै गरी गर्मी मौसममा वनक्षेत्र चराको सुरिलो आवाजले गुञ्जायमान हुन्छ भने रङ्गीन प्रजातिका चरा तथा तिनका गुँड र बचेराले सजिसजाउ हुन्छ । चराले आफ्नो प्रजनन क्षेत्रबाट चरन क्षेत्रसम्म हरेक वर्ष मौसम अनुसार नियमित रूपमा यात्रा गर्छन् । त्यही यात्रालाई चराको बसाइँसराइ भनिन्छ । अनकूल मौसम, सुरक्षित वासस्थान, चरन र प्रजननका लागि चराहरू एक ठाउँबाट अर्को ठाउँ, एक देशबाट अर्को देश र एक महादेशबाट अर्को महादेशमा बसाइँ सरी आउने जाने गर्छन् । बसाइँ सर्ने चराले आफ्नो यात्राका क्रममा विभिन्न भौगोलिक क्षेत्र, पारिस्थितिक प्रणाली, देश र समुदायलाई जोड्दै संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई प्रेरित गर्छन् र विश्वभरका मानिसलाई एकताबद्ध बनाउँछन् ।
विश्वमा पाइने चराका ११ हजारभन्दा बढी प्रजातिमध्ये करिब ४० प्रतिशत नियमित रूपमा ऋतु अनुसार एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सरिरहन्छन् । बसाइँसराइ गर्ने चरा आफ्नो गन्तव्यसम्म पुग्ने दिशा तथा बाटो पहिचानका लागि सूर्य तथा अन्य ताराको अवस्थिति, नदी, भौगोलिक शृङ्खला, चुम्बकीय दिशा आदिको सहारा लिने गरेको विश्वास गरिन्छ । यसका साथै बसाइँसराइका लागि उत्प्रेरित गराउने र मार्गदर्शन गर्ने वंशाणुगत गुण पनि चराका वंशजमा स्थानान्तरण हुँदै जान्छन् । चराले बसाइँसराइको बेला प्रयोग गर्ने बाटोलाई उडान मार्ग भनिन्छ । विश्वमा नौ वटा यस्ता उडान मार्ग पहिचान गरिएका छन् र नेपाल मध्यएसियाली उडानमार्गमा अवस्थित छ । रोचक त के छ भने चराले बसाइँसराइ गर्ने बेला यिनै निश्चित उडानमार्ग हुँदै आवतजावत गर्छन् । यिनै बसाइँसराइ गर्ने चराको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडानमार्गको सुरक्षाका लागि विश्वव्यापी हातेमालो तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष मे महिनाको दोस्रो शनिबार चराको विश्व बसाइँसराइ दिवस मनाइन्छ ।
नेपालमा पनि हिउँद याममा उत्तरी भूगोलका देश रुस, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया र तिब्बती क्षेत्रबाट जाडो छल्न बर्सेनि करिब १५० भन्दा बढी प्रजातिका हजारौँ चरा नेपालको तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा बसाइँ सरी आउँछन् । यसै गरी करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान, श्रीलङ्का र अफ्रिकासम्म जान्छन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरी आउने चरामा अधिकांश पानी चराका प्रजाति हुन्छन् भने अन्य सिकारी चरा, बगेडी, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राई आदि पर्छन् । यी हिउँदे आगन्तुक चरा नेपाल आउने क्रम भदौ मध्यदेखि पुस मध्यसम्म जारी रहन्छ । चैतसम्ममा प्रायःआफ्नो स्थायी बसोबासमा प्रजननका लागि फर्किसकेका हुन्छन् ।
हिउँदे आगन्तुक चरा गर्मीयामको सुरुवातसँगै आफ्नो वासस्थान फर्किसक्दा फेरि भारत, श्रीलङ्का र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आइसकेका हुन्छन् । यसरी आउने करिब ६२ प्रजातिमा कोइली, मुरलीचरी, सुनचरी, स्वर्गचरी, पिट्टा, कटुसटाउके आदि हुन्छन् । यी चराले नेपालमा बच्चा कोरली असोजसम्ममा हुर्काएर पुरानै वासस्थानमा फर्कन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य वासस्थान भने वन र यस आसपासका घाँसे मैदान र कृषि भूमि हुन् ।
बसाइँसराइ गर्दा हुने चराको यात्रा रोचक, साहसिक र चामत्कारिक हुन्छ । उदारणका लागि परेवा जत्रो शरीर हुने आर्कटिक टर्न चरा जुन संसारकै सबैभन्दा लामो दुरीको यात्रा तय गर्ने प्राणी हो । यसले हरेक वर्ष करिब ९० हजार किलोमिटर दुरी पार गर्दै उत्तरी धु्रवबाट दक्षिणी धु्रवसम्म बसाइँ सर्छन् । करिब ३० वर्ष आयु हुने यो चराले आफ्नो जीवनकालमा पृथ्वीबाट चन्द्रमामा चार पटक ओहरदोहर गर्ने दुरी पार गर्छ । त्यस्तै गे्रट स्नाइप भनिने चाहा प्रजातिको चरा ९७ किलोमिटर प्रतिघण्टाको गतिमा अविछिन्न रूपमा ६८ सय किलोमिटर दुरी पार गर्छ । तीव्र गतिमा लामो दुरी पार गर्ने चराका रूपमा यसलाई लिइन्छ । करिब १० दिनसम्म खाना र आरामबिना उडेर बार टेल गुडविट १३ हजार किलोमिटर दुरी पार गरी अलास्काबाट न्युजिल्यान्ड पुग्छ । त्यसै गरी सर्वोच्च शिखर सगरमाथाभन्दा पनि करिब नौ हजार ३७५ मिटर माथि उड्ने खोयाहाँस नेपालमा हिँउद बिताउन आउँछ । नेपालमा उत्तरबाट हिँउद बिताउन आउने चरा हिमालका बिचमा पर्ने होचा खोचबाट नेपाल प्रवेश गर्छन् तर खोयाहाँस सिधै हिमाल नाघी अत्यन्तै जोखिमपूर्ण साहसिक र रोचक यात्रा तय गर्छ । हावा बहाबको प्रतिकूल दिशामा पनि उड्न सक्ने यस चराले ८० किलोमिटर प्रतिघण्टाको गतिमा एक दिनमा १६ सय किलोमिटरभन्दा बढी दुरी पार गर्न सक्छ ।
बेलायती प्रकृतिविद् ब्रायन हडसनले सन् १८३३ मा नेपालबाट विश्वका लागि नयाँ प्रजातिको चराका रूपमा पहिचान गरेको चिल हो– गोमायु महाचिल । नेपाली पहिचान बोकेर संसारभर उडिरहेको गोमायु महाचिल पनि नेपालका लागि हिउँदे आगन्तुक र बटुवा हो । गोमायु महाचिल बसाइँ सरेर आउने क्रममा अधिकांश पूर्वी नेपालबाट प्रवेश गर्छन् भने तराईका भूभागसँगै काठमाडौँ र पोखरा उपत्यकामा बढी समय बिताउने गर्छन् । पश्चिमतर्फ जान अन्नपूर्ण हिमशृङ्खलाको दक्षिण ठुलाखर्क÷काँडेको बाटो प्रयोग गर्छन् तर सन् २०१५ को असोज अन्तिम साता मङ्गोलियामा स्याटेलाइट ट्याग लगाएको गोमायु महाचिल करिब दुई महिनाको समयमा पाँच हजार २७८ किलोमिटर दुरी पार गरी मङ्गोलिया, चीन, नेपाल हुँदै भारतको उत्तराखण्डसम्म पुगेको थियो । औसतमा ४४ किलोमिटर प्रतिघण्टा र एक दिनमा बढीमा ३६५ किलोमिटरसम्म उडान भरेको उक्त चिल सात हजार दुई सय मिटर उचाइबाट हिमाल नाघी सगरमाथाको दक्षिण पूर्वी क्षेत्र हुँदै नेपाल भित्रिएको थियो । अत्यन्तै चिसो र कम अक्सिजन हुने हिमालय क्षेत्रभन्दा माथिबाट हावा बहाबको प्रतिकूल दिशामा उड्दै नेपाल प्रवेश गरेको उक्त गोमायु महाचिलले अनुसन्धानकर्तालाई चकित पारेको थियो ।
ग्रीष्मकालीन आगन्तुक चरा पनि हजारौँ किलोमिटर दुरी पार गरी नेपाल भित्रिन्छन् । उदाहरणका लागि जुरेकोइली अफ्रिका महादेशबाट करिब पाँच हजार किलोमिटर लामो दुरी पार गर्दै नेपाल भित्रिन्छ । सन् २०१६ मा चीनको राजधानी बेइजिङनजिकबाट स्याटेलाइट ट्याग लगाएर छाडिएका दुई कुक्कु कोइली एक वर्षमा १६ देश हुँदै कम्तीमा दुई हजार सात सय किलोमिटर दुरी पार गरेर अफ्रिकासम्म पुगेका थिए । दर्जनौँ देश र महासागर पार गरी झन्डै आधा संसारको यात्रा गरेका ती कोइलीको यात्रा रोचक र पे्ररणादायी छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र अन्डा अरू चराको गुँडमा पार्दिन्छन् । अन्य चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चा हुर्काउँछ । ग्रीष्मयाममा नेपालमा पनि आउने खैरो गाँैथली १० महिनासम्म आकाशमा उडेको उड्यै गर्न सक्ने हालैको एक अध्ययनले देखाएको छ ।
नेपालमा बसाइँ सरी आउने चरा खासगरी वासस्थान सङ्कुचन तथा विनाश, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, सिमसार क्षेत्रको अतिक्रमण, वनडढेलो, अवैध चरा सिकार जस्ता कारणले सङ्कटमा परेका छन् । यसका साथै उडानमार्गमा हुने अवरोध र जलवायु परिवर्तन जस्ता कारणले पनि चराको आवागमनमा बाधा पु¥याएको छ । बसाइँ सरी आउने चरा लामो दुरीको यात्राले थकित हुने तथा आश्रय स्थल नयाँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको अत्यधिक जोखिम हुन्छ । हिउँदे आगन्तुक चराको मुख्य आश्रय स्थल सिमसारको सङ्कुचन तथा विनाश र चोरीसिकारले यी चरा प्रभावित भइरहेका छन् ।
ग्रीष्मकालीन आगन्तुक चराको आगमन, गुँड बनाउने र बच्चा कोरल्ने समयमा भइरहेका भीषण वनडढेलोले यी चराको प्रजनन र नवजात शिशु मात्र प्रभावित भइरहेका छैनन्, सयौँ माउ चरा पनि मरिरहेका छन् । वासस्थानमा आइरहेको तीव्र परिवर्तन र वनडढेलो यी चराका लागि मुख्य चुनौती हो । बसाइँ सर्ने चराले मानिस, पारिस्थितिकीय प्रणाली र राष्ट्रलाई जोडेका छन् र खास प्रकारको वातावरणीय सूचकको काम गरिरहेका छन् । तसर्थ यी चराको दिगो संरक्षण, तिनको आहार, वासस्थान र उडानमार्गको सुरक्षाका लागि स्थानीय समुदायदेखि अन्तरदेशीय साझेदारीको आवश्यकता छ । यस वर्षको चराको विश्व बसाइँसराइ दिवसले पनि चरा संरक्षणमा सामुदायिक सहभागिताको महìवलाई उजागर गर्दै ‘हरेक चरा महìवपूर्ण छन्, तपाईंको अवलोकनले महत्व राख्छ’ भन्ने नारा तय गरिएको छ । यस अभियानले विश्वभरका व्यक्ति, समुदाय र संस्थाले सीमापार बसाइँ सर्ने चराको संरक्षणका लागि ज्ञान निर्माणमा पु¥याइरहेको योगदानलाई पनि सम्मान गर्छ । बसाइँ सर्ने चराको संरक्षणमा विश्वव्यापी जनचेतना अभिवृद्धि र संरक्षणमा सहकार्य तथा साझेदारी स्थापना गर्ने उद्देश्यले मनाइँदै आएको यस दिवसको सार्थकताका लागि हामी सबैले हातेमालो गरौँ ।