• २६ वैशाख २०८३, शनिबार

सिरहामा यस वर्ष तीन लाखभन्दा बढी बिरुवा वितरण गरिने

blog

लहान नगरपालिकाको उत्तरी चुरे क्षेत्रमा वृक्षारोपण गर्दै डिभिजन वन कार्यालय सिरहा, लहान । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, वैशाख २६ गते ।
डिभिजन वन कार्यालय सिरहा, लहानले यस वर्ष तीन लाख १७ हजार विभिन्न प्रजातिका बिरुवा वितरण गर्ने जनाएको छ । डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी तथा वन अधिकृत राधेश्याम चौधरीका अनुसार जिल्लाका १७ वटै पालिकामा भगवानपुर, लहान, विष्णुपुर–चोहर्वा, मिर्चैया र बन्दीपुर नर्सरीबाट टिक, जामुन, गम्हार, हर्रो, बर्रो, अम्बा, गुलमोहर, बाँसपाते, अमला, बयरलगायतका बिरुवा वितरण गरिनेछ ।

वर्षेनी वृक्षारोपण गरिए पनि संरक्षणका लागि आवश्यक जनशक्ति र स्रोतसाधन पर्याप्त नभएको उहाँले बताउनुभयो । डिभिजन वन कार्यालय लहानले जिल्लाका ११४ वटा सामुदायिक वनमा लगाइने बिरुवाको संरक्षणका लागि चौपाया तथा घाँस–दाउरा संकलनबाट हुने क्षति न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा रहेका छ वटा सब–डिभिजन वन कार्यालयअन्तर्गत लहानको तरेगना, धनगढीमाई, चोहर्वा, मिर्चैया, सिरहा, बन्दीपुरलगायत क्षेत्रमा वन संरक्षणलाई सक्रिय बनाउँदै सामुदायिक वन उपभोक्ता समितिलाई समेत जिम्मेवार बनाउने कार्यक्रम सञ्चालन गरिने सूचना अधिकारी चौधरीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सिरहामा रहेको १८ हजार २८ हेक्टर वन क्षेत्रमध्ये ८१३ हेक्टर अतिक्रमणमा परेको छ । अतिक्रमित वन क्षेत्र खाली गराउन पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन ।”

जिल्लामा ११४ वटा सामुदायिक वन उपभोक्ता समिति रहे पनि आर्थिक रूपमा कोइरालो खोला हात्तीदह सामुदायिक वन, लहान–१५ र वृक्षारोपणको हिसाबले झ्वाइ खोल्सी वन उपभोक्ता समिति सक्रिय रहेको जनाइएको छ । अन्य वन उपभोक्ता समितिलाई पनि चलायमान बनाउन कार्यक्रम ल्याउने तयारी भइरहेको डिभिजन वन कार्यालय सिरहाका प्रमुख बुचन चौधरीले बताउनुभयो ।

चुरे क्षेत्रमा वन विस्तारका विषयमा उहाँले भन्नुभयो, “चुरे क्षेत्रमा पानी नअड्ने ग्रेगाइ किसिमको माटो भएकाले सिँचाइ अभावमा लगाइएका बिरुवा सुख्खा मौसममा सुक्ने समस्या छ । मानव बस्ती विस्तार अर्को चुनौती बनेको छ ।”

लहान नगरपालिकाका वडा नं. १५, १६, १७ र १८, धनगढीमाई नगरपालिकाका वडा नं. १२, १३ र १४, गोलबजार नगरपालिका–१०, मिर्चैया नगरपालिका–९ र १० तथा कर्जन्हा नगरपालिका–१ र २ मा पर्ने चुरे क्षेत्रमा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति तथा भू–तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा वन विस्तार तथा संरक्षण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको प्रमुख चौधरीले जानकारी दिनुभयो ।

वन ऐनविपरीत गतिविधिमा संलग्नविरुद्ध २०६७ सालदेखि हालसम्म १४८ वटा मुद्दा दर्ता गरी २४० जनालाई पक्राउ गरिएको छ । चार दिनअघि मिर्चैयाबाट ८० क्युबिक फिट सालको काठसहित दुई जना काठ तस्करलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

गत वर्ष जिल्लाका २३ स्थानमा लागेको डढेलोबाट एक हजार १३५ हेक्टर वन क्षेत्र प्रभावित भएको थियो । यस वर्ष भने पटक–पटक वर्षा भइरहेकाले डढेलोबाट जोगिएको प्रमुख चौधरीले बताउनुभयो ।

यस वर्ष डढेलो नियन्त्रण, सुशासन, लेखा तथा अभिलेख व्यवस्थापन कार्यक्रमका लागि आठ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । डिभिजन वन कार्यालय सिरहा, लहानअन्तर्गतका सब–डिभिजन कार्यालयमा ३० जना वन रक्षकसहित ९२ जना कर्मचारी तथा दुई वटा सवारी साधन रहेका छन् । सीमित स्रोत–साधनका बाबजुद वन संरक्षण तथा विस्तार कार्यक्रमलाई प्रभावकारी बनाइएको उहाँले बताउनुभयो ।