• २६ वैशाख २०८३, शनिबार

उन्नत बिउले बढायो गहुँ उत्पादन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २६ गते । यस वर्ष गहुँको उत्पादन २.५ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्र्ष २०८२/८३ मा छ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा २१ लाख सात हजार मेट्रिक गहुँको उत्पादन भएको छ । गत आव २०८१/८२ मा छ लाख ८३ हजार हेक्टर क्षेत्रफलमा २० लाख ५६ हजार मेट्रिक टन उत्पादन भएको थियो । 

यस वर्ष गहुँको उत्पादकत्वसमेत बढेको छ । गत वर्ष प्रतिहेक्टर ३.०१ प्रतिशत गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढेर प्रतिहेक्टर ३.०७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले उन्नत बिउ र रासायनिक मलको उपलब्धताले गहुँको उत्पादनमा वृद्धि भएको जानकारी दिनुभयो । पछिल्लो समय उन्नत बिउ, सिँचाइ सुविधा र अनुकूल मौसमका कारण उत्पादनमा सुधार भएको उहाँको भनाइ छ । चालु आवमा सरकारले प्रतिक्विन्टल गहुँको न्यूनतम मूल्य तीन हजार ९४५ रुपियाँ निर्धारण गरेको छ । स्थानीय उत्पादन माग धान्न नसक्दा बाहिरी मुलुकबाट समेत गहुँको आयात हुने गर्छ । 

बिस्कुट, पास्ता बनाउनका व्यवसायीले बाहिरी मुलुकबाट गहुँ आयात गर्छन् । त्यस्तै रोटी, ब्रेड, नुडल्समा पनि गहुँको बढी प्रयोग हुने गर्छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको नौ महिनामा एक अर्ब ३७ करोड ३७ लाख रुपियाँ बराबरको दुई करोड ३९ लाख ६४ हजार ७९६ किलोग्राम गहुँ आयात भएको छ । भारत, चीन, मेक्सिकोबाट नेपालमा गहुँ आयात हुने गर्छ ।