गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख २६ गते । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायो सागमा अत्यधिक विषादी फेला परेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । सो मात्रा उपभोगका लागि अयोग्य रहेको जनाइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको कालीमाटीमा रहेको द्रुत विषादी अवशेष विश्लेषण एकाइले कालीमाटी तरकारी बजारबाट १३ वटा नमुना लिएर नमुना परीक्षण गराउँदा रायो सागमा उच्च विषादी भेटिएको हो । केन्द्रीय प्रयोगशालाले २०७१ साउनदेखि कालीमाटीसहित देशका १२ स्थानमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्रा परीक्षण गरिँदै आएको छ । यस प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केहीदिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।
सो प्रयोगशालाका अनुसार कालीमाटीसहित झापाको बिर्तामोड, सुनसरीको धरान, सिन्धुलीको सिन्धुली, धनुषाको ढल्केबर, सल्र्लाहीको लालबन्दी, नवलपरासीको कावासोती, कास्कीको पोखरा, रुपन्द्रेहीको बुटवल, बाँकेको नेपालगन्ज, सुर्खेत, कैलालीको अत्तरिया गरी १२ वटा प्रयोगशालाबाट तरकारीमा कार्बामेट र अर्गानोफस्फेट समूहका रासायनिक विषादीको परीक्षण गर्दै आएको छ ।