• १३ वैशाख २०८१, बिहिबार

बालबालिकालाई रोटा भाइरसबाट यसरी जोगाउने

blog

काठमाडौं, पुस ७ गते । चिसो मौसम बढेसँगै जाडोमा बालबालिकालाई धेरै स्वास्थ्य समस्या देखिने गर्दछन् । जाडोमा बालबालिकालाई रुघाखोकी, फ्लु, निमोनिया जस्ता सङ्क्रामक रोगले सताउने चिकित्सक बताउँछन् । 

जाडो महिनामा बालबालिकालाई बढीमात्र देखिने समस्या भनेको बान्ता र झाडापखालाको समस्या हो । काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा बालरोग विशेषज्ञ डा. स्मृति माथेमाले जाडोमा बालबालिका प्रायः झाडा, बान्ता हुने समस्या लिएर अस्पतालमा पुग्ने बताउनुहुन्छ । 

जाडो मौसममा बालबालिकाहरूलाई लाग्ने पखालाको प्रमुख कारण रोटा भाइरस भएको डा. माथेमाको भनाइ छ । यो भाइरस तीन महिनादेखि तीन वर्ष उमेरको बच्चालाई बढी देखिने गर्छ । चिकित्सकका अनुसार फोहर तथा दिसामा सजिलै पाइने यो भाइरस बच्चाको शरीरमा प्रवेश गरेपछि यस्तो समस्या देखिन्छ । रोटा भाइरस चिसोमा धेरै सक्रिय हुने डा.माथेमा बताउनुहुन्छ । 

यो भाइरस शरीरमा प्रवेश गरेपछि  सुरुमा बान्ता हुने र २४ घण्टाभित्र झाडापखाला लाग्ने  चिकित्सक बताउँछन् । बच्चालाई झाडापखाला दिभरिमा १०,१२ पटकसम्म पातलो दिसा आउने चिकित्सक बताउँछन् ।   

सामान्यतया यो भाइरस  ५ देखि ७ दिनमा निको हुन्छ । प्रायः बच्चालाई घरमा नै उपचार गर्न सकिने चिकित्सक बताउछँन् । बच्चालाई तारन्तार वान्ता र झाडापखला भएमा सानो बच्चालाई आमाको दूध प्रशस्त मात्रामा खुवाउने र ठूलो बच्चालाई जीवनजल, फलफूल, दालको रस, झोलिलो खानेकुरा प्रशस्त मात्रामा खुवाउनुका साथै चिकित्सको सल्लाह अनुसार वान्ता रोक्न औषधि खुवाउन डा.माथेमाको सुझाव छ । 

१२ महिनाभन्दा कम उमेरका बच्चालाई कहिलेकाहीँ जटिलताका कारण अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाको सिर्जना हुने डा.माथेमा बताउनुहुन्छ । पिसाब बन्द हुने, सुस्त हुने, कम्पन हुने र बेहोस हुने जस्ता जटिल समस्या निम्त्याउने हुँदा हेलचेक्राइँ नगर्न चिकित्सकको सुझाव छ ।  

उहाँले बच्चाको पिसाब कम भयो, धेरै रोयो भने तुरुन्त अस्पतालमा लैजान सल्लाह दिनुहुन्छ ।  यो भाइरस रोटा भाइरस विरुद्धको खोपले न्यूनीकरण गर्न सकिने चिकित्सक भनाइ छ । डा. माथेमाका अनुसार यो भाइरस रोकथाम गर्न सरकारले ६ हप्ता र १० हप्ताका बालबालिकालाई लक्षित गरी रोटा भाइरसविरुद्धको खोप राष्ट्रिय खोप तालिकाका समावेश गरी निःशुल्क खुवाउँदै आएको छ । 

उहाँ भन्नुहुन्छ, “सरकारले खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको तीन वर्ष भयो सोही समयदेखि यो समस्या लिएर अस्पतालमा आउने बिरामीको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । यो खोप ८५ प्रतिशत प्रभावकारी रहेको विभिन्न अध्ययनले देखाएको छ ।” बालालिकालाई यस्तो समस्या हुन नदिन सरसफाइमा ध्यान दिने, जाडोमा बच्चालाई पोसिलो खानेकुरा खुवाउनुका साथै न्यानो बनाएर राख्ने चिकित्सकको सल्लाह छ । 

बालबालिकालाई जाडोमा बढी देखिने रोटा भाइरसका विषयमा केन्द्रित भई काठमाडौं मेडिकल कलेजका सहप्राध्यापक तथा बालरोग विशेषज्ञ डा.स्मृति माथेमासँग गोरखापत्र अनलाइनका लागि सिर्जना खत्री र मनोजरत्न शाहीले गरेको भिडियो संवाद:


Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।