• ९ कात्तिक २०८२, आइतबार

लोकआस्थाको पर्व छठ सुरु

blog

वीरगन्जको घडिअर्वा पोखरीपरिसरमा बिजुलीबत्तीले सजाइँदै । तस्बिर : कन्हैयालाल केशरी

मधेश प्रदेश ब्युरो 

जनकपुरधाम, कात्तिक ९ गते । विशेष गरी तराई मधेशमा मनाइने लोकआस्थाको पर्व छठ शनिबारदेखि सुरु भएको छ । यो पर्व चार दिनसम्म मनाउने गरिएको छ । छठपर्व सुरु भएसँगै मधेश प्रदेशका जिल्लामा जलाशय र पोखरीको सरसफाइ, सजावट र पूजास्थल निर्माणको काम तीव्र गतिमा अघि बढेको छ । ठाउँ ठाउँमा आकर्षक स्वागतद्वार निर्माण, पोखरी वरिपरि रङरोगन र सरसफाइको काम भएको छ । जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराजसरसहितका दजनौँ पोखरीमा घाट निर्माणदेखि सजावटको काम भइरहेको छ ।    

कल्याणपुर समाचारदाता विनय कर्णका अनुसार चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन छठको व्रत बस्ने व्रतालुले पोखरी तथा नदीमा स्नान गरेर शाकाहारी भोजन ग्रहण गरेका छन् । यसलाई स्थानीयस्तरमा ‘अरवा अरवाइन’ तथा ‘नहाय खाय’ भनिन्छ । यसको अर्थ नुहाएर खानु हो । 

त्यस्तै पञ्चमी तिथिमा दिनभर उपवास बसी नुहाइधुवाइ गरी नयाँ वस्त्र धारण गरेर आआफ्नो इष्टदेवता भएको कोठामा प्रसादीका रूपमा पुरी, गुँड, दुध र अरवा चामलको खिर र केराले खर्ना विधि गरिन्छ ।  षष्ठीका दिन दुलही जस्तै सिँगारिएका पोखरी, नदी तथा तलाउमा अस्ताउँदो सूर्यलाई अर्घ र सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिई विधिवत् रूपमा छठपर्वको समापन गरिने प्रचलन रहेको छ । 

छठपर्व मनाउने श्रद्धालुले कात्तिक महिनाको प्रारम्भदेखि छठ नहुन्जेलसम्म तामसी भोजन त्याग्ने राजविराज–२ का पण्डित कमलकान्त झा बताउनुहुन्छ । प्रकृतिसँग जोडिएको यो पर्व कसैले सन्तान प्रािप्तका लागि त कसैले विभिन्न प्रकारका रोगबाट मुक्त हुने, सन्तानको प्रगति र दीर्घायु, श्रीसम्पत्ति वृद्धि हुनेलगायतका मान्यताका साथ मनाउने गरेको उहाँको भनाइ छ ।

बर्दीबास समाचारदाता रवीन्द्र उप्रेतीका अनुसार छठपर्वका कारण बजार र चोकमा छठपूजाका सामग्री बाँसका ढाकी, नाङ्लो, सुपली, माटाका घैली, ढकना, पालादेखि फलफूलले भरिन थालेका छन् । व्यापारीका अनुसार केरा, उखु, जटा नरिवल, ज्यामिरलगायत छठ जनित फलफूलको माग ह्वात्तै बढेको छ । स्थानीयस्तरमा भक्तजन र श्रद्धालुकै स्वस्फूर्त दान सहयोगबाट तयारी गरिएको छ भने कतिपय स्थानमा स्थानीय सरकार र समुदायबिच सहकार्य गरेर छठलाई भव्य र सभ्य रूपमा मनाउने जमर्को गरिएको छ । 

बर्दीबास नगरपालिका–१४ मा रहेको कामेश्वरनाथ महादेव मन्दिरनजिकको पुरानो तलाउमा सरसफाइ र सौन्दर्यीकरणका काम तीव्र बनाइएको छ । उक्त पोखरीमा तीन सय पूजाघाट निर्माण भइरहेको छ । स्वागतद्वार, पोखरी सजावट, प्रकाश व्यवस्थापनलगायतका काममा करिब छदेखि सात लाख रुपियाँ खर्च हुने अनुमान छ । सबै खर्च स्थानीय दानदातव्यबाट बेहोर्ने वडाध्यक्ष विजय महतोले जानकारी दिनुभयो । यस वर्ष व्रतालु, श्रद्धालु र दर्शनार्थी गरी दुई हजारभन्दा बढीको सहभागिता हुने छठपूजा समितिको आकलन छ । छठ व्रत समापनका दिन शिव मन्दिरपरिसरमा यस वर्ष पनि सामूहिक प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिने छ । 

पर्सा समाचारदाता कन्हैयालाल केशरीका अनुसार वीरगन्जमा छठपर्वको आरम्भ भएसँगै छठघाटको सफाइ तथा झिलिमिली बिजुलीबत्तीबाट सजाउने कार्य अन्तिम चरणमा पुगेको छ । यस कार्यमा वीरगन्ज महानगरपालिका र अन्य समाजिक सङ्घ संस्थाले योगदान गरिरहेका छन् । वीरगन्जमा तीन दर्जनभन्दा बढी पोखरी, नदीखोला र तलाउमा छठपर्व मनाउने गरिन्छ । छठघाटलाई बिजुलीबत्ती, फूल र विशाल पण्डाल बनाउनेमा प्रतिस्पर्धा गर्ने होड केही वर्षदेखि चलिआएको छ । यसमा करोडौँ रुपियाँ खर्च हुने गरेको छ । वीरगन्जको सबैभन्दा ठुलो, पुरानो र प्रख्यात घडिअर्वा पोखरीपरिसर सजाउन यस वर्ष लगभग २५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छठपूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताउनुभएको छ । वीरगन्ज कारागारमा रहेका ७५ जना महिला कैदीबन्दीमध्ये २२ जनाले यस वर्ष कारागारभित्र छठपर्व मनाइरहेका छन् । यसका लागि कारागार व्यवस्थापन र केही समाजिक सङ्घ संस्थाले सहयोग जुटाइदिएका छन् । कारागार प्रमुख लालबाबु रेग्मीले कारागारभित्र व्रतालुका लागि बिजुलीबत्ती र फलफूलको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । वेलफेयर सोसाइटी र ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतानले व्रतालुका लागि सारी वितरण गरिएको बताउनुभयो । 

सर्लाही समाचारदाता जर्नाजन खत्रीका अनुसार छठपर्वका लागि सर्लाहीमा धमाधम पूजास्थल निर्माण भइरहेको छ । जनश्रमदान, वडा कार्यालय र पालिकाको सहयोगमा छठघाट सरसफाइ तथा निर्माण भइरहेको हो । पर्सा गाउँपालिका–१, सङ्ग्रामपुरका युवा दीपक यादवले युवा, अन्य गाउँले र जनप्रतिनिधि खटिएर गाउँको कालिकास्थान फूलबारी पोखरी सरसफाइ गरी छठघाट निर्माण गरिएको जानकारी दिनुभयो । 

पछिल्लो समय अधिकांश स्थानमा पालिका तथा प्रदेश सरकारको बजेटबाट पक्की छठघाट निर्माण गरिएको छ । छठपर्वका लागि शनिबार बिहान हरिपुर नगरपालिका–७ स्थित चिताइन महादेव मन्दिरपरिसरमा सरसफाइ गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीले बताउनुभयो । 

महोत्तरी समाचारदाता नागेन्द्रकुमार कर्णका अनुसार महोत्तरी जिल्लाका नदी, पोखरीमा घाट सजाउने काम तीव्र रूपमा भइरहेको छ । ‘हम हूँ अरगिया देबई, हे छठी मईया, हम ना जाईब दूसर घाट ।’ (म अरू घाटमा होइन, आफ्नै घाटबाट अर्घ दिन्छु) लगायतका गीत अहिले गुञ्जिरहेका छन् । छठको आगमनसँगै हाटबजार, गाउँघर, पसलमा सुनिने यस्ता गीतले छठमा सबैको मन हर्षित भएको छ । 

तिहारको समापनसँगै अहिले मिथिलाञ्चल छठमा झुमेको छ । यो पर्व ‘दसैँ सोरहे सुकराती, सुकराती छब्बे छैठ’ अर्थात् विजयादशमीको १६ औँ दिनमा पर्ने तिहार र तिहारको छैटौ दिनमा छठपर्व मनाइने गरिन्छ । अस्ताउँदो सूर्यलाई छठीमैया तथा उदाउँदो सूर्यलाई दिनकर भनी यो पर्वमा पूजा गर्ने गरिन्छ । शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कार्तिक शुक्ल षष्ठीको बेलुका अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व मनाइने गरिन्छ ।  

छठपर्वको सुरुवात 

द्वापरयुगमा पाँच पाण्डवकी माता कुन्तीले आफ्ना गुरु दुर्वासाले दिएको मन्त्रको परिचय गर्न इष्टदेव सूर्यको उपासना गर्दा प्रसन्न भएका सूर्यले आफू जस्तै तेजस्वी पुत्र कर्ण दिएर उनको मनोकामना पूर्ण गरिदिएको पौराणिक मान्यता रहेको छ । सोही भएर महिलाले सन्तानका साथै अन्य मनोकामना पूरा हुने विश्वासका साथ अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने गर्दछन् । त्यसै गरी सूर्यपुराणमा अत्री मुनिकी पत्नी सती अनुसुयाले दाम्पत्य पे्रम, सुख सौभाग्यका लागि षष्ठी व्रत गरेकी उल्लेख भएबाट यो पर्व सोही समयदेखि चल्दै आएको भनाइ छ । त्यसै गरी द्वापरयुगमा पाण्डवले अज्ञातवास सफल होस् भनी सूर्य भगवान्को पूजा गरेको पनि उल्लेख छ । 

मनोवाञ्छित फलको साथसाथै यश र कीर्ति पाउने पर्वका रूपमा रहेको छठपर्वलाई अहिंसाको भावना, जातजातिमाथि छुवाछूत र काटमारबाट टाढा रहेको पर्व मानिन्छ । आत्मिक शान्ति, भ्रातृत्व प्रेम र सबैमा समान व्यवहार भाव दर्साउने यो पर्वमा उपयोग गरिने छिटा, ढकिया, चङेरा, कोसिया, कुरवार, हात्ती, घोडा, मालालगायतका सामग्री कुम्हार, डोम, मालीलगायतका जातजातिबाट लिने गरिएको कारण यो पर्वले छुवाछुतमुक्त समाज निर्माणको परिकल्पना गरेको विश्वास गरिन्छ ।