काठमाडौँ, असोज १३ गते । पछिल्लो समय खराब जीवनशैली र अत्यधिक धुमपानको कारणले गर्दा नेपालमा मुटुको समस्या बढ्दै गएको छ । वरिष्ठ मुटु तथा फोक्सो शल्यचिकित्सक डा. किरण श्रेष्ठले नेपालमा देखिने नसर्ने रोगमध्ये २५ प्रतिशतमा मुटुरोग लाग्ने बताउनुहुन्छ । त्यस्तै, नसर्ने रोगबाट मृत्यु भएकामध्ये १६ प्रतिशतको मृत्यु मुटुरोगका कारण हुने गर्छ ।
डा. श्रेष्ठले अस्वस्थ जीवनशैली, नियमित व्यायामको कमी, अत्यधिक नुनिलो र बोसोयुक्त खानेकुरा, धुमपान र मदिराजन्य पदार्थको प्रयोगले मुटु रोग बढदै गएको बताउनुहुन्छ । त्यो बाहेक जन्मजात, वंशाणुगत, वातावरणीय प्रभाव, बढ्दो उमेर, उच्च रक्तचाप, मधुमेहले मुटुरोगको जोखिम बढाउने गर्छ ।
खराब जीवनशैली, अत्यधिक धुमपानका कारणले गर्दा युवामा मुटुरोगको जोखिम बढ्दै गएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “बढ्दो उमेर, बंशाणुगत, असन्तुलन खानेकुरा, व्यायामको कमीले, वातवणीय कारण, अत्यधिक मध्यपान र धुमपानको सेवन, मुधुमेह, उच्चरक्तचाप, कोलेस्ट्रोल, अत्यधिक नुनको सेवन मुटुरोग बढ्दो क्रममा छ ।”
ट्रन्स फ्याक्टयुक्त खानेकुरा खानाले पनि मुटुरोगको जोखिम बढ्ने गर्छ । नेपालमा कोरोनरी आटरी (रक्तनलीमा बोसो जम्मा भएर साधुरो हुने ), एरिथमिया (मुटुको चालमा गडबढी हुने ), जन्मजात मुटुरोग (जन्मजात मुटुमा समस्या हुने) रोगहरु बढीमात्र देखिन्छन् ।
स्याँस्याँ हुनु, खुट्टा सुनिने, थकान महसुस हुनेजस्ता लक्षण छाती दुख्ने, दुखाई सर्दै दाहिने हातमा सर्ने मुटुरोगका प्रमुख लक्षण हुन। समयमानै रोग पत्ता लगाएर उपचार गरेमा मुटुरोगको उपचार नेपालमा सम्भव छ ।
नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, दैनिक व्यायाम र धुमपानबाट टाढा रहँदा मुटु रोगको जोखिम घटाउन सकिने डा. श्रेष्ठ बताउनुहुन्छ। मुटु रोगबाट बच्न दैनिक कम्तिमा ३० देखि ४५ मिनेट पसिना आउने गरि हिड्न, नुन र बोसोको सेवन घटाउने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य जाँच गर्न डा. श्रेष्ठको सुझाव छ ।
मुटुरोगबाट बच्न तरकारी, फलफुल, गेडागुडी रेसादार खानेकुरा समावेश गर्न चिल्लो र क्यालोरियुक्त खानेकुरा कम खान उहाँको सुझाव छ । विश्व मुटुरोग दिवसको अवसरमा वरिष्ठ मुटु तथा फोक्सो शल्यचिकित्सक डा. किरण श्रेष्ठसँग गरिएको भिडियो संवाद :
भिडियो : मनोजरत्न शाही